+
+

मन्त्रीहरूलाई गगनको सुझाव : भदौभर मौनव्रत बस्नुस्

साउन महिना सकिन लागेको भन्दै उनले भने, ‘तीर्थव्रत पनि सकिन लाग्यो । भदौ महिना माननीय मन्त्रीजीहरूले नबोल्ने, उद्घाटन नगर्ने व्रत लिइदिनुस् ।’

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २९ गते १८:३०

२९ साउन, काठमाडौं । एमालेसँग मिलेर सरकार बनाएको एक महिनापछि कांग्रेस महामन्त्री गगनकुमार थापाले मंगलबार विशेष समय लिएर संसदमा बोले । २० मिनेट लामो सम्बोधनका क्रममा थापाले संविधान निर्माण, सुशासन र विकास निर्माणमा सरकारले कसरी काम गरोस् भन्ने चाहेको छ भनेर राखे । साथै अघिल्ला प्रधानमन्त्रीलाई झै खबरदारी गरे, ‘डन्ट टेक अस फर ग्रान्टेड ।’

संसद्का दुई ठूला दल कांग्रेस र एमालेबीच १७ असारमा नयाँ सरकार गठन गर्ने सहमति भएको थियो । त्यसअनुसार ३० असारमा प्रधानमन्त्री नियुक्त भएका ओलीले भोलिपल्ट शपथसँगै २१ मन्त्री नियुक्त गरे । त्यसको एक महिनापछि मंगलबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै कांग्रेस महामन्त्री थापाले आफू सरकार बनाउने काममा धेरै नलागेको बताए ।

तर परिणाममा जे भएको छ, एकदमै ठीक भएको भन्दै उनले भने, यो असामान्य छ, ठीक छ, यसलाई ठीक बनाउनुपर्छ ।’ त्यसका लागि दुई दलबीच भएको सातबुँदे सहमतिको मुख्य तीन विषयलाई आधार बनाउनुपर्ने बताए ।

भाग्ने पनि होइन, बरालिने पनि होइन

सातबुँदेको मुख्य कुरामध्ये एक राजनीतिक स्थायित्वका लागि संविधानमा संशोधन भएको कांग्रेस महामन्त्री थापाले बताए । तर त्यसका आधारमा संविधान संशोधन गरेर पछाडि फर्किन खोजेको वा दुई दलको सिण्डिकेट बनाउन खोजेको आरोप लागेको भन्दै उनले भने, ‘कोही पछाडि फर्किन चाहँदैनौं ।’

बरु थप अधिकार स्थापित गर्नुपर्ने भन्दै उनले भने, ‘यत्रो जम्बो संसदको आकार घटाउँ, तर यो भन्दा समानुपातिक समावेशी बनाउँ भनेर छलफल गर्न सक्दैनौं ?’

उनले अगाडि भने, ‘प्रदेशका सरकारहरु यसरी नै राख्ने हो ? यसरी नै चलाउने हो ? हामी संघीयतालाई यो भन्दा थप सुदृढ र प्रभावकारी बनाउने कि नबनाउने ?’

संघीयता र गणतन्त्र यो भन्दा राम्रो बनाउनुपर्ने र मानुपातिक समावेशी प्रतिनिधित्व यो भन्दा बढाउनुपर्ने उनले बताए । निर्वाचन प्रणालीको बहसमा कतिपयले प्रतिनिधि सभालाई प्रत्यक्ष र राष्ट्रियसभालाई समानुपातिक बनाउने भनेको भन्दै उनले भने, ‘यो मिल्दैन । हामी तलकै सदनलाई यो भन्दा बढी समावेशी बनाउन सक्छौं । सँगै कुनै पनि दलले ४० प्रतिशत हाराहारी मत ल्याउँदा ५ वर्ष एकल सरकार चलाउने गरी मिलाउन पनि सक्छौं ।’

देखिएका समस्याहरु हल गर्ने र अझ समानुपातिक समावेशी बनाउनुपर्ने उनले बताए । थापाले भने, कांग्रेस र एमाले यो बहसबाट भाग्ने पनि होइन, बरालिने पनि होइन । प्रष्ट हुने, अरु दल र नागरिकसम्ग सम्वाद गर्ने हो ।’

सुशासनबारे बोल्ने होइन, काम गर

सुशासन तथा भ्रष्टाचार नियन्त्रणको विषय सरकारले बोल्ने भन्दा काम गरेर देखाउनुपर्ने बताए । भुटानी शरणार्थी, गिरीबन्धु, डेडिकेटड टंक लाइनमा ढाकछोप गर्न दुई दल रातारात मिले भनेर आरोप लागेको भन्दै उनले भने, ‘यसबाट पनि भाग्ने होइन, आफ्नो कामबाट प्रष्ट बनाउनुपर्छ ।’

हरेक सरकार निरन्तरतामा हुने भन्दै महामन्त्री थापाले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान कहाँ पुगेको छ ? थप के हुन्छ भनेर सरकारले भन्नुपर्ने बताए । ‘यो विषयमा निर्दोष एउटा पनि पर्दैन, दोषी एउटा पनि उक्कँदैन भनेर सरकारले आफ्नो व्यवहारबाट आश्वस्त पानुपर्छ’ महामन्त्री थापाले अगाडि भने ।

गिरीबन्धु टी इस्टेटमा पनि सर्वोच्च अदालतले स्पष्ट आदेश दिएको भन्दै उनले जुन सरकार आए पनि त्यसअनुसार नै गर्नुपर्ने बताए । गिरीबन्धुको हदबन्दी भन्दा बढी जग्गा सरकारको नाममा फिर्ता लेउ र अन्यत्र पनि ऐनको दुरुपयोग भरेर हदबन्दी भन्दा बढी लिएको जग्गा पहिचान गर भन्ने अदालतको आदेश रहेको भन्दै उनले भने, ‘जग्गा फिर्ता ल्याउन अनुगमन समिति बनाउने व्यवस्था छ । त्यो तरुन्त बनाऊ भनेको छ अदालतले । अब सरकारको एक्सन चाहियो ।’

डेडिकेटेड र टंक लाइनमा पनि संसदीय समितिको निर्णय, अदालतको आदेश, लाल आयोगका प्रतिवेदनहरुका आधारमा अगाडि बढ्नुपर्ने महामन्त्री थापाले बताए । उनले अगाडि भने, ‘सरकारले यहाँ आएर भन्नुपर्छ, कसैले बिजुली प्रयोग गरेको छैन भने अन्याय हुन दिँदैनौं । तर जतिसुकै शक्तिशाली होस्, अनुचित लाभ पनि लिन दिन्नौं भनेर विश्वास दिलाउनुपर्छ ।’

सहकारी ठगी प्रकरणमा सरकार फेरिएसँगै कुरा नफेरिने कांग्रेस महामन्त्री थापाले बताए । सांसद रवि लामिछाने गृहमन्त्री भएपछि आफ्नै दलका तत्कालीन मुख्य सचेतक रमेश लेखकले संसदमा उठाएको प्रश्न स्मरण गर्दै महामन्त्री थापाले भने, ‘यो सदनमा हामी पनि छौं । हामी त्यहाँ बस्दा एउटा, यहाँ बस्दा एउटा भन्दैनौं ।’

‘यता बस्दै गर्दा गिरीबन्धु देख्दै नदेख्ने, डेडिकेटेड र ट्रंक लाइन नदेख्ने, सहकारी ठग्ने, उता बसेपछि सबै देख्ने होइन । उता बस्दा पनि त्यही हो, यता बस्दा पनि त्यही हो’ उनले अगाडि भने, ‘गिरीबन्धुको पनि जे हो त्यही हुनुपर्छ, भुटानीको पनि जे हो त्यही हुनुपर्छ, सहकारीमा ठगलाई पनि अनुसन्धान गर्नैपर्छ ।’

मन्त्रीहरू भदौभर मौनव्रत बस्नुस्

कांग्रेस र एमाले मिल्नुको अर्को कारण विकास निर्माण र सेवा प्रवाह भएको भन्दै कांग्रेस महामन्त्री थापाले सरकारका मन्त्रीहरुलाई काममा केन्द्रित हुन सुझाव दिएका छन् ।

प्रधानमन्त्रीले मिहिनेत गरेको देखिएको भन्दै उनले थप विषय उनी संसदमा उपस्थित भएकै बेला भन्ने बताए । मन्त्रीहरुबारे बोल्दै उनले २४ महिनामा के गर्ने र प्रत्येक महिना के प्राप्त गर्ने भनेर योजना बनाएको होला भन्ने विश्वास व्यक्त गरे ।

९ महिना मन्त्री भएको अनुभव भन्दै उनले प्रतिनिधिमूलक रुपमा मन्त्रालयहरूले गर्न सक्ने कामबारे चर्चा गरे । तुरुन्त प्राप्त गर्न सकिने विषयहरू (क्विक विन) रहेको भन्दै कांग्रेस महामन्त्री थापाले भने, ‘प्रत्येक मन्त्रालयसँग जोडिएका स–साना, तर अत्यन्त महत्वपूर्ण कामहरू छन् । यसका लागि छुट्टै कानुन पनि चाहिँदैन, संविधानमा बदलाव पनि चाहिँदैन । माननीय मन्त्रीजीहरुको इच्छाशक्ति भयो, नियत (काम गर्ने) राख्नुभयो भने काम हुन्छ ।’

प्रत्येक दिन मन्त्रीहरुको भाषण सुनिरहेको भन्दै उनले भदौ महिनामा भने नबोलेर काम गर्न आग्रह गरे । साउन महिना सकिन लागेको भन्दै भने, ‘तीर्थव्रत पनि सकिन लाग्यो । भदौ महिना माननीय मन्त्रीजीहरुले नबोल्ने, उद्घाटन नगर्ने व्रत लिइदिनुस् ।’

एउटा राम्रो काम गरे कांग्रेस र एमालेका सांसदहरुले प्रचार गर्ने भन्दै उनले भने, ‘धमाधम तपाईंहरुले काम गर्ने, हामी यहाँ बोल्ने टेबल ठोक्ने ।’

प्रधानमन्त्रीलाई पनि भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न भनेर भन्ने भन्दा पनि कानुन निर्माण, सुशासनका काममा केन्द्रित हुनुपर्ने बताए । त्यसका लागि सरकारलाई मदत आफूहरु तयार रहेको भन्दै महामन्त्री थापाले भने, ‘हामीले मद्दत गर्न चाहेको कुरा सरकारले बुझोस्, तर डन्ट टेक अस फर ग्रान्टेड ।’

प्रचण्ड प्रधानमन्त्री हुँदै गर्दा पनि ‘मलाई भोट हालेको सांसद हो, हामीले जे भने पनि थपडी बजाउँछन् भनेर नलिइयोस्’ भनेर आफूले भनेको स्मरण गर्दै थापाले अगाडि भने, ‘यो हाम्रो सरकार हो, हामी यसलाई सफल बनाउन चाहन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?