+
+

गोमालाभ सापकोटालाई सांसदबाट हटाउने जनमतको पत्र फेरि अस्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २९ गते २०:५५

२९ साउन, काठमाडौं । प्रतिनिधि सभा सदस्य गोमालाभ सापकोटालाई हटाउने जनमत पार्टीको पत्र संघीय संसद सचिवालयबाट दोस्रो पटक पनि अस्वीकृत भएको छ ।

संसद सचिवालयका अनुसार एक साता अगाडि जनमत पार्टीले सापकोटालाई कारबाही गरेको पत्र दर्ता गरेको थियो ।

उक्त पत्रमा यसअघि नै कारबाही हुन सक्ने आधार नदेखिएको भनेर सभामुख देवराज घिमिरेबाट अस्वीकृत भएको भन्दै नयाँ निर्णय लिन नपर्ने जवाफ संसदका महासचिव पद्मप्रसाद पाण्डेयले पठाएका छन् । महासचिव पाण्डेयले जनमत पार्टीबाट पत्र आएको र जवाफ पठाएको पुष्टि गरे ।

यसअघि फागुन २०८० मा जनमत पार्टीले समानुपातिक सांसद सापकोटालाई पार्टीले निष्कासन गरेको पत्र संसद सचिवालयमा पठाएको थियो । उक्त पत्र पार्टीको लेटरहेडमा रहेको भनेर अस्वीकृत भएको थियो ।

त्यसपछि २०८० साल फागुन २७ गते जनमत पार्टीको संसदीय दलले सापकोटालाई पार्टीले निष्कासन गरेको पत्र संसद सचिवालयमा पठाएको थियो ।

उक्त पत्रमा सापकोटाले पार्टीको निर्देशन नमानेको र स्पष्टीकरण सोध्ने, सफाइ पेश गर्ने लगायतका प्रक्रिया पूरा गरेर कारबाही गरेको दाबी गरिएको थियो ।

तर सभामुख घिमिरेले राजनीतिक दल सम्बन्धी ऐन अनुसार सापकोटालाई जनमत पार्टीले गरेको कारबाही नमिलेको भनेर सदर गरेनन् ।

८ फागुन २०८० मा सभामुख घिमिरेको निर्णय अनुसार संसद सचिवालयले जनमत पार्टीलाई कारबाहीको प्रक्रिया नपुगेको भनेर पत्र पठाएको थियो ।

यही साउन दोस्रो साता जनमत पार्टीले फेरि सापकोटालाई पार्टीबाट निष्काशन गरिएको भन्दै कारबाही सदरका लागि संसद सचिवालयमा पत्र पठाएको थियो ।

यसपटक सुभामुख घिमिरेकहाँ नपुग्दै सांसद सापकोटालाई सांसदबाट हटाउने जनमतको पत्र अस्वीकृत भएको छ ।

संसद सचिवालयका महासचिव पाण्डेयले यसअघि सभामुखबाट अस्वीकृत हुँदाकै समयको कारबाहीको विवरण रहेको उल्लेख गर्दै थप निर्णय गर्न नपर्ने निर्णय गरिदिएका संसद सचिवालयका एक कर्मचारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?