+
+

हिमालयन रिइन्स्योरेन्सको आम्दानी बढ्दा नाफा दोब्बर

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३० गते ८:१९

३० साउन, काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा करिब दोब्बर हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ६४ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको खुद प्रिमियम आम्दानी बढ्दा नाफामा योगदान पुगेको देखिन्छ । कम्पनीको खुद प्रिमियम आम्दानी ८२ प्रतिशतले बढेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षमा २ अर्ब ९८ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ५ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

प्रिमियमसहित कुल आम्दानी गत आर्थिक वर्षमा ६ अर्ब ६२ करोड छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६७ प्रतिशत बढी हो । कम्पनीको कुल खर्च पनि ५५ प्रतिशतले बढेको छ । यस्तो खर्च गत आर्थिक वर्षमा ४ अर्ब ७९ करोड छ ।

नाफा बढेपछि यस कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो आर्थिक वर्ष प्रतिसेयर आम्दानी ९ रुपैयाँ २८ पैसा रहेकोमा अहिले १२ रुपयाँ ३४ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ २६ पैसा छ । दोस्रो बजारमा यस कम्पनीको मूल्य मंगलबार प्रतिकित्ता १ हजार रुपैयाँ पुगेको छ ।

२०७८ असारदेखि सञ्चालनमा आएको यो कम्पनीको मुख्य कार्यालय काठमाडौंको महाराजगञ्जमा अवस्थित छ । बीमा कम्पनीहरुले गरेको बीमाको पनि बीमा (पुनर्बीमा) गर्ने उद्देश्यले कम्पनी सञ्चालनमा आएको हो । बीमा कम्पनीहरुले बहन गर्ने जोखिमको केही अंश यस कम्पनीले पनि बहन गर्दछ, जसले बीमा कम्पनीहरुको जोखिम हस्तान्तरण गर्न मद्दत पुगेको छ ।

हालै यस कम्पनीले आफ्नो क्रेडिट रेटिङमा स्तरोन्नति गरेको छ । कम्पनीले इक्रा नेपालबाट ए रेटिङ पाएको छ ।  नेपालमा दुई वटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन् ।

दुईवटा पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्सबीच व्यवसायिक प्रतिस्पर्धा छ । नेपाल पुनर्बीमा कम्पनी ४४ प्रतिशत सरकारको सेयर हिस्सा रहेको सरकारी बहुस्वामित्वको कम्पनी हो भने हिमालयन निजी क्षेत्रको बहुस्वामित्वमा सञ्चालित कम्पनी हो । यद्यपि हिमालयनमा पनि सरकारी स्वामित्वका कम्पनीहरुको पनि राम्रै सेयर हिस्सा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?