+
+

भुटानी शरणार्थी प्रकरणमा बेचन झाको इन्कारी बयान, पोलिग्राफ जाँच गर्न मानेनन्

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३० गते ११:१२

३० साउन, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झाले पोलिग्राफ जाँच गराउन नमानेको खुलेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसन्धान अधिकृतहरुले उनको बयानबारे सत्यता परीक्षण गर्न पोलिग्राफ जाँच गराउने कोसिस गरे पनि मानेको खुलेको हो ।

झाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा दायर मुद्दासँगै उनले पोलिग्राफ परीक्षण गर्न नमानेको व्यहोराको प्रतिवेदन पनि समावेश गरिएको छ ।

सरकारी वकिलको रोहबरमा प्रहरीसँग उनले इन्कारी बयान दिएका थिए । उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई केही थाहा नभएको बताएका थिए ।

अनुसन्धानका क्रममा प्रहरी अर्का आरोपी रामशरण केसीले झाको नाममा काटिदिएको दुई करोड रुपैयाँको चेक पनि बरामद गरेको थियो । त्यसबारे पनि आफूलाई थाहा नभएको उनले बताएका थिए ।

अनुसन्धान अधिकृतहरुले झा र केसीबीच भएको संवादको एउटा अडियो पनि उनलाई सुनाएका थिए । त्यो पनि आफ्नो आवाज नभएको उनले जिकिर गरेका छन् ।

केसीले बयान दिएअनुसार, मन्त्रिपरिषद्मार्फत केही निर्णय गराउनलाई केसीले त्यो रकम मागेका थिए । चेक दिन जाँदा गरेको कुराकानीको अडियो उनले प्रहरीलाई उपलब्ध गराएका थिए ।

अधिकृतहरुका अनुसार, अडियोमा केसीले मन्त्रिपरिषद्बाट निर्णयहरु भए/नभएकोबारे सोधेका छन् । त्यसक्रममा केसीलाई आश्वस्त पार्न समेत खोजिएको छ । तर, झाले भने त्यो अडियो पनि आफ्नो नभएको भन्दै परीक्षण गर्न तयार भएको भनेका छन् ।

उनीविरुद्ध ठगी र संगठित अपराधको कसुरमा मंगलबार जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?