+

मेटफोर्मिन : मधुमेह नियन्त्रणको महत्त्वपूर्ण औषधि

२०८१ साउन  ३० गते ११:५६ २०८१ साउन ३० गते ११:५६
मेटफोर्मिन : मधुमेह नियन्त्रणको महत्त्वपूर्ण औषधि

टाइप-२ मधुमेह भएपछि नियन्त्रण भएन भने एक मात्रै विकल्प रहन्छ । त्यो हो औषधि सेवन । मधुमेहमा औषधि के कस्तो खानुपर्छ भनेर प्रश्न सोधियो भने यसको सूची निकै लामो हुन जान्छ । तीमध्ये दिनहुँ खानुपर्ने एउटा औषधिको नाम लिनुपर्‍यो भने मधुमेह हुनेहरुको मुखमै झुण्डिने नाम हो, मेटफोर्मिन ।

मेटफोर्मिन मधुमेहको उपचारमा प्रयोग गरिने औषधि हो । शरीरमा ब्लड सुगरको स्तर बढेपछि यो औषधि निरन्तर लिनुपर्ने हुनसक्छ । र, नलिएको खण्डमा मधुमेह अनियन्त्रित भई शरीरका मिर्गौला र मुटु जस्ता अङ्गमा असर पुर्‍याई ज्यान जाने जोखिम हुनसक्छ ।

त्यसैले मेटफोर्मिन टाइप २ मधुमेह भएकाहरुका लागि अति आवश्यक औषधिको रुपमा लिइन्छ । टाइप वान (वंशाणुगत) मधुमेहमा भने इन्सुलिन (सुईको माध्यमबाट शरीरको ग्लुकोज नियन्त्रण ल्याउने औषधि) दिने  गरेमा मात्र मधुमेह नियन्त्रणमा रहन्छ ।

मेटफोर्मिनले शरीरमा कसरी काम गर्छ ?

मेटफोर्मिनले फरक फरक तरिकाले शरीरमा पैदा भएको ब्लड सुगरलाई उच्च हुन दिंदैन । हामीले खाएको खानेकुरा ग्लुकोजमा रूपान्तरण हुन्छ । ग्लुकोजलाई इन्सुलिन नामक हर्मोनले ऊर्जाको रूपमा शरीरका अन्य भागमा लैजान्छ ।

तर मधुमेह भएकाहरूले इन्सुलिनको उत्पादन पर्याप्त मात्रामा गर्न सक्दैनन् । जसकारण शरीरमा ग्लुकोजको मात्रा उच्च हुन्छ । यसलाई होसियारीपूर्वक नियन्त्रण गर्ने काम मेटफोर्मिनले गर्छ । मेटाफोर्मिन औषधिले खानेकुरा र पेय खाएपछि वृद्धि हुने ग्लुकोजलाई सदुपयोग गरी रक्तनलीबाट कोषहरूमा अवशोषित गराउन मद्दत गर्छ । जसकारण  ग्लुकोजको मात्रा घट्छ । वयस्क उमेरका मधुमेह भएकालाई यो औषधि र इन्सुलिनसँगै चाहिन सकिन्छ ।

कसरी प्रयोग गर्ने ?

मधुमेह भएपछि यो औषधि अनिवार्य खानुपर्छ । तर घरमा दुई जना मधुमेहका बिरामी छन् भने एउटै औषधि पनि दुवैलाई काम नलाग्न पनि सक्छ । किनकि यसको डोज व्यक्तिगत स्वास्थ्य अवस्था, उमेर, लिङ्ग र सुगरको स्तर अनुसार फरक-फरक हुन जान्छ । जुन चिकित्सकको सल्लाहमा मात्र लिनुपर्छ ।

र, औषधि सुरु गरेपछि चिकित्सकले समय-समयमा फलोअपमा बोलाउन सक्नेछन् । जहाँ सुगरको मात्रा हेरेर औषधिको मात्रा घटबढ हुनसक्छ ।

यो औषधिको मात्रा २५० देखि २ हजार मिलिग्रामसम्म राखिएको हुन्छ । दिनको दुई पटक खाना खाइसकेपछि खानुपर्छ । सामान्यतया मधुमेह स्थिर भएको अवस्थामा ५०० मिलिग्राम चलाइन्छ । अनियन्त्रित भएमा मात्रा बढ्दै जान सक्छ । मधुमेह सन्तुलनमा आएपछि मात्रा पुन: घट्न सक्छ ।

जहाँसम्म औषधिको मूल्यको कुरा छ, यो औषधि सहज र सुलभ छ । मेटफोर्मिनको प्रतिटयाब्लेट दुई रुपैयाँ पर्छ । र, चिकित्सकको सिफारिस पत्र लिएर गएमा सरकारी स्वास्थ्य संस्थामा यो औषधि निःशुल्क रूपमा पाइन्छ ।

सम्भावित साइडइफेक्ट

यो औषधि मधुमेह भएकाहरूका लागि सुरक्षित छ । तर मेटफोर्मिन प्रयोग गर्दा कतिपयलाई पाचनसम्बन्धी सामान्य साइड-इफेक्ट देखिन सक्छन् ।

जस्तै- पखाला, अपच र पेट दुखाइ । यी लक्षण सामान्यतया औषधिको प्रयोग सुरु गरेको केही हप्तामा सुधार आउँछ । तर यदि छाती पोल्ने, मुटुको धड्कन अनियमित हुने, अत्यधिक टाउको दुखाइ जस्ता गम्भीर समस्या देखिए चिकित्सकलाई तुरुन्त सम्पर्क गर्नुपर्छ । यसको विकल्पमा अन्य औषधि चिकित्सकले सिफारिस सक्छन् ।

यी स्वास्थ्य समस्या भएकाले औषधि खानुअघि सावधानी

मुटु फेल खाएका (कन्जेस्टिभ हार्ट फेलिएर), रक्तअल्पता, कलेजो रोग, हाइपोग्लासियमा (शरीरमा चिनीको मात्रा घटेका), मुटरोग, एलर्जी र मिर्गौला रोग भएकाहरूमा यो औषधि सेवनपछि स्वास्थ्य अवस्था बिग्रिन सक्ने जोखिम हुन्छ ।

त्यसैले चिकित्सकले अनुमति दिएमा मात्र यो औषधि खान सकिन्छ । र, औषधि खान नमिलेको खण्डमा अन्य विकल्प दिन सक्छन् ।

गर्भावस्थामा मेटफर्मिन लिनु कति सुरक्षित ?

गर्भावस्थाको समयमा मधुमेह देखिएमा यसलाई नियन्त्रण गर्न चिकित्सकले यो औषधि सिफारिस गर्न सक्छन् । यो इन्सुलिनको सुरक्षित विकल्प हुनसक्छ तर यसबाट कस्तो प्रभाव छ भनेर जानकारी लिन नियमित जाँच गराउनुपर्छ ।

त्यस्तै, प्रि-डायबिटिज भएकाहरूका लागि पनि मधुमेह हुन नदिन यो औषधि चलाउन सकिन्छ । प्रि-डायबिटिज अर्थात् ब्लड सुगर उच्च भएको तर मधुमेह नभई सकेको अवस्थालाई बुझिन्छ ।

मेटफोर्मिनको इतिहास

कुनै पनि नयाँ आविष्कार जस्तै बजारमा उपलब्ध प्रत्येक औषधिको खोजबारे आफ्नै कथा हुन्छ । मेटफोर्मिनको खोजदेखि प्रयोगसम्म आइपुग्न त्यति सजिलो थिएन ।

यो औषधि गालेगा अफिसिनेलिस बिरुवाको प्रयोग गरी बनाइन्छ । युरोपमा यस बिरुवाको पात धेरैजसो स्वास्थ्य समस्यामा (जस्तै, जुका परेको अवस्था, छारे रोग र ज्वरोमा) प्रयोग हुन्थ्यो । जुन अहिले आएर मधुमेहको औषधि उपचारमा प्रयोग गरिन्छ ।

सन् १९१८ मा सो जडीबुटीमा पाइने तत्व ‘गुआनिडिन’को प्रयोगबाट मधुमेहको उपचार हुनसक्ने सम्भावित कारणको खोजको सुरुवात भयो । सुरुवातमा अध्ययनकर्ताहरुले यो जडीबुटी जनावरमा प्रयोग गरे ।

जनावरमा ग्लुकोजको स्तर घटेको सकारात्मक नतिजा आइसकेपछि सन् १९२० मा सो जडीबुटीमा गालेगाइन र सिन्थेलिन कम्पाउन्ड प्रयोग गरेर औषधि बनाइएको थियो । तर त्यसमा विषाक्त असर देखिएपछि औषधि उत्पादनको काम रोकियो ।

त्यसपछि विषाक्त कम गर्ने लक्ष्यसहित दुई थरीका ‘गुआनिडिन’लाई मिसाएर बाईगुआनिडिन बनाइयो । विभिन्न थरीका बाइगुआनिडिनको जाँचपछि सन् १९९२ मा बल्ल मेटफोर्मिन नाम दिएर मधुमेहको उपचारका लागि प्रभावकारी औषधिको रुपमा प्रयोग गर्न थालियो ।

आविष्कार भएपनि प्रयोगका लागि अनुमतिका लागि निकै समय कुर्नु पर्‍यो । सो औषधि खोज भएको झण्डै २० वर्षपछि अमेरिकाले यो औषधि चलाउन अनुमति पाएको थियो । सन् २००६ मा फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले औषधि प्रयोग सुरक्षित रहेको बतायो । त्यसलगत्तै यो औषधिको विश्वव्यापी प्रयोग हुन थालेको हो ।

डा. विनय भट्टराई मधुमेह मेटफोर्मिन
डा. विनय भट्टराई
लेखक
डा. विनय भट्टराई
मधुमेह, हार्मोन तथा थाइराइड रोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ९०९५ अध्ययन : एमबीबीएस र एमडी हाल काठमाडौंस्थित मेट्रो काठमाडौं र ह्याम्स अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

घुँडा दुखाइको उपचार के छ ?

घुँडा दुखाइको उपचार के छ ?