+

यस्तै रंगशालामा होला त साफ यू-२० च्याम्पियनसिप ?

२०८१ साउन  ३० गते १२:४५ २०८१ साउन ३० गते १२:४५
यस्तै रंगशालामा होला त साफ यू-२० च्याम्पियनसिप ?

३० साउन, काठमाडौं । एएफसी च्यालेन्ज लिग प्लेअफ अन्तर्गत नेपालको चर्च ब्वाइज युनाइटेडले भुटानको र पारो एफसीसँग मंगलबार दशरथ रंगशालाको हिलाम्मे मैदानमा खेल्यो ।

मंगलबार पानी परेका कारण भिजेको मैदानमा खेल सुरु भएदेखि नै हिलो माटो निस्कन थालेको थियो, कतै पानी जमेको थियो । हिलोकै कारण बल सहज ढंगले गुडेको थिएन भने बल भेट्न दौडिएका खेलाडी पटक पटक लडेका थिए ।उनीहरुको लुगाभरि हिलो लागेको थियो ।

हिलो मैदानको बाबजुद पारोले चर्च ब्वाइजलाई २-१ ले हराउँदै च्यालेन्ज लिगको समूह चरणमा प्रवेश गरेको छ ।

अब चार दिनपछि यही दशरथ रंगशालमा दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अन्तर्गत यू-२० च्याम्पियनसिप हुँदैछ । तर मंगलबार दशरथ रंगशालाको अवस्थाका कारण यो खेल हुने वा नहुनेमा शंका बढेको छ ।

आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले यस विषयमा बुधबार दिउँसोको बैठकमा छलफल गर्ने बताए । ‘अहिले रंगशालाको अवस्था कस्तो छ सबैलाई थाहा छ । यसमा साफ यू२० च्याम्पियनसिप गराउने वा नगराउने विषयमा आज बैठक बसेर निर्णय गर्नेछौँ’, राईले अनलाइनखबरसँग भने ।

गत नोभेम्बरमा नेपाल र यमनबीच विश्वकप छनोटको खेल भएपछि पहिलो पटक दशरथ रंगशालामा मंगलबार अन्तर्राष्ट्रिय स्तरको खेल भएको हो । करिब ९ महिनापछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल फर्कँदा समर्थक र खेलाडीहरु उत्सहित भएपनि मैदानको अवस्थाले गर्दा धेरैलाई निराश बनायो ।

दशरथ रंगशालाको मैदान अन्तर्राष्ट्रिय फुटबल खेलाउन लायक नभएको भन्दै नेपालले विश्वकप छनोट अन्तर्गत बहराइन र युएई विरुद्धको होम म्याच दशरथ रंगशालामा खेल्न पाएन ।

अहिले अन्तर्राष्ट्रिय खेल हुन लाग्दा पनि मैदानको अवस्था राम्रो नभएपछि आगामी दिनमा पनि नेपालले अन्तर्राष्ट्रिय खेल गुमाउने हो कि भन्ने चिन्ता बढेको छ ।

नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशाला भएकाले नेपालमा भएको र हुने गरेको अधिकांश अन्तर्राष्ट्रिय प्रतियोगिता दशरथ रंगशालामै हुँदै आएको छ ।

यसबाहेक एन्फा कम्प्लेक्स र हलचोकस्थित एपीएफको मैदानमा पनि सिनियर र जुनियरस्तरको अन्तर्राष्ट्रिय खेलहरु भएका छन् । तर अहिले हलचोकमा खेल्न लायक अवस्था छैन । एन्फा कम्प्लेक्सको मैदान पनि विकल्पको रुपमा प्रयोग हुँदै आएको छ ।

दशरथ रंगशालामा नभए कहाँ हुन्छ साफ यू-२० च्याम्पियनसिप ?

वर्षायाममा जतिसुकै बेला पानी पर्न सक्ने भएकाले अहिले दशरथ रंगशालामा फुटबल हुने सम्भावना नरहेको फुटबलका जानकारहरु बताउँछन् ।

नेपालमा हुने तय भइसकेको हुनाले दशरथ रंगशालामा खेल हुन नसके साफ यू-२० च्याम्पियनसिप कहाँ हुन्छ त भन्ने प्रश्न पनि उठेको छ ।

एन्फा प्रवक्ता सुरेश शाहका अनुसार दशरथ रंगशालको विकल्पमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानलाई प्रयोग गर्न सकिन्छ ।

‘दशरथ रंगशालामा खेल हुन सकेन भने एन्फा कम्प्लेक्समै साफ यू-२० च्याम्पियनससिप हुने सम्भावना छ’, शाहले बुधबारको बैठकपछि नै यसबारे निर्णय हुने बताए ।

यसअघि साफ यू-१५ महिला च्याम्पियनसिप च्यासल मैदानमा सञ्चालन गर्ने भनिए पनि च्यासल मैदानको स्तर नपुग्दा एन्फा कम्प्लेक्समै खेलाइएको थियो ।

सन् २०१५ मा नेपालबाटै सुरु भएको साफ यू-२०/१९/१८ च्याम्पियनसिपको पहिलो संस्करण एन्फा कम्प्लेक्समै खेलाइएको थियो । जहाँ नेपालले फाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा हराएर उपाधि जितेको थियो ।

अहिलेसम्म पाँच संस्करण आयोजना हुँदा नेपालले सुरुवाती दुई संस्करण उपाधि जितेको थियो । त्यसपछि भारतले लगातार तीन संस्करण च्याम्पियन बनेर उपाधिमा ह्याट्रिक गर्‍यो ।

नेपालले साफ यू-२० च्याम्पियनसिप आयोजना गर्न लागेको यो चौथो पटक हो । यसअघि नेपालले पहिलो संस्करणसहित सन् २०१९ को तेस्रो र २०२३ मा पाँचौ संस्करण आयोजना गरेको थियो ।

दशरथ रंगशाला फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय