+
+

४ आधारमा चलचित्र संघले दशैंका फिल्मलाई शो दिने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३० गते १३:२५
फाइल तस्वीर

काठमाडौं । दशैंलाई लक्षित गरी निर्माता र वितरकले आफूखुसी प्रदर्शन मिति घोषणा गर्न थालेपछि प्रदर्शक संस्था चलचित्र संघले यसबारे प्रतिक्रिया दिएको छ । मुख्यतया चार आधारमा शो बाँडफाँट गरिने उसले जनाएको छ ।

अनलाइनखबरसँग कुरा गर्दै संघका महासचिव तथा प्रवक्ता सुरेन्द्र थापाले लगातार रिलिज मिति तोक्ने कार्यप्रति आफूहरुको ध्यानाकर्षण भएको बताए । मेकरले आफ्ना फिल्मले बक्स अफिसमा दमदार प्रदर्शन गर्ने दाबी गरेपनि, चलचित्र संघले भने ‘मेरिट’को आधारमा शो बाँडिने स्पष्ट पारेको छ ।

यदि सिक्वेल हो भने शो बाँडफाँट गर्दा उक्त फिल्मका अघिल्ला भागको बक्स अफिस प्रदर्शन र प्रस्तुतिलाई आधार मानिनेछ । ‘यो हिसाबमा छक्कापञ्जाका सबै भागले उत्कृष्ट कमाइ गरेका छन् । यो फिल्मले सजिलै अघिल्ला भागले कमाएजति कमाउन सक्छ भन्ने हललाई लागेको छ’ थापाले भने, ‘यसको आधारमा छक्कापञ्जा-५ पहिलो रोजाइ हुनेछ ।’

यदि सिक्वेल छैन भने यसको बजारीकरणको पक्षलाई मूल्यांकन गरिने भएको छ । ‘पब्लिसिटी कस्तो भइरहेको छ । फिल्म क्षेत्रभन्दा बाहिरका आमदर्शकमाझ पुग्न फिल्मले कस्ता मार्केटिङ टुलको प्रयोग गरेको छ भन्ने अध्ययन गर्छौं’ उनले भने ।

तेस्रोमा कलाकार र यसको जनरालाई मापदण्ड हेरिने भएको छ । चौथो सूचकमा गीत-संगीत, टिजर र ट्रेलरको इन्टरनेट भ्युजलाई मापन गरिने भएको छ । ‘यी चार मापदण्डको आधारमा शो बाँडफाँट हुनेछन्’ प्रवक्ता थापाले भने, ‘विदेशी फिल्ममा पनि यो मापदण्ड लागू हुनेछन् ।’

केही दिनमा बस्ने चलचित्र संघको बैठकले यसबारे आधिकारिक निर्णय गर्ने उनले जनाए । असोज ३ गते संविधानको अवसरमा तीन नेपाली फिल्म ‘आउट ल’, ‘ह्रस्व दीर्घ’ र ‘खुस्मा’ रिलिज हुँदैछन् ।

असोज ११ गते जुनियर एनटीआर र जान्ह्वी कपुरको ‘देवरा’ प्रदर्शन हुनेछ । असोज १७ गते घटस्थापनामा सानो संसार, बेहुली फ्रम मेघौली र हलिउडको प्रतीक्षित ‘जोकर २’ आउनेछन् ।

सबैभन्दा चर्को प्रतिस्पर्धा असोज २४ गतेको फूलपातीमा देखिएको छ । यो मितिमा ‘छक्कापञ्जा ५’, ‘१२ गाउँ’, ‘ज्वाइँ साब’ र साउथ फिल्म ‘कंगुवा’ रिलिज हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?