+
+

खाल्डोमान्डु !

डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख नारायणदत्त भण्डारी पछिल्लो समय उपत्यकाका सडकमा खाल्डो पर्दै जानुमा एकीकृत रूपमा हुन नसकेको विकासलाई देखाउँछन् ।

अमृत चिमरिया अमृत चिमरिया
२०८१ साउन ३० गते १९:४५
बोझेपोखरी हुँदै इमाडोलतर्फ जाने सडकमा परेको भ्वाङ ।

३० साउन, काठमाडौं । बुधबार ललितपुर इमाडोलस्थित महालक्ष्मी नगरपालिका–३ बाक्लोगाउँ चोकभन्दा अगाडि नयाँ पुल–बोझेपोखरी हुँदै इमाडोलतर्फ जाने भित्री सडकमा भ्वाङ (खाल्डो) परेर सवारी आवागमन अवरुद्ध भयो ।

कार्यालय समयमै सडकमा खाल्डो पर्दा केही समय ट्राफिक अस्तव्यस्त भएको थियो । सडकको झन्डै तीन मिटर क्षेत्रमा खाल्डो परेर सवारी आवागमन अवरुद्ध भएको ललितपुर प्रहरी प्रवक्ता (एसपी) नरेशराज सुवेदीले जानकारी दिए । सडक भासिनुको कारण खुलेको छैन ।

इमाडोल जाने भित्री सडकमा भएको यस्तो खाल्डो जस्तै काठमाडौं उपत्यकाका सडकमा पछिल्लो समय एक्कासि खाल्डो पर्नु सामान्य देखिएको छ ।

२५ साउन बिहीबार साँझ करिब ८ बजे काठमाडौं महानगरपालिका कार्यालय रहेको काठमाडौं प्लाजा छेउ कमलादी रोडमा खाल्डो पर्‍यो । डिभिजन सडक कार्यालय काठमाडौं मातहत उक्त सडकमा करिब पाँच मिटरभन्दा गहिरो र करिब १० मिटरभन्दा फराकिलो खाल्डो परेको छ, जुन अहिले पनि टालिएको छैन ।

कमलादी सडकमा परेको भ्वाङ ।

फुटपाथमा हिँड्न समेत असहज हुने गरी खाल्डो परेकाले दुई लेनको एकतर्फी यो सडक हाल पूर्णरूपमा बन्द गरिएको छ । डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीका अनुसार टुकुचा खोला (इच्छुमती) को कल्भर्टको टेको भत्किएर सडकमा भ्वाङ परेको हो ।

‘टुकुचामाथि स्ल्याब कल्भर्ट छ । अरू पुल लामो हुन्छ, तर त्यो छोटो पुलजस्तो छ । स्ल्याब कल्भर्टलाई अड्याउन टेको लगाइएको थियो । त्यो टेको पचासौं वर्ष अगाडि इँटाको बनाइएको रहेछ,’ भण्डारीले अनलाइनखबरसँग भने ।

कमलादी सडक सञ्चालनमा आउन अझै तीन महिना लाग्न सक्ने उनले बताए । ‘यो मर्मतसम्भार गरेर सञ्चालन गर्ने अवस्था नै छैन । यसका लागि पूरै तलदेखि उठाएर नयाँ कल्भर्ट निर्माण गर्नुपर्ने हुन्छ । अब यो ठेक्का प्रक्रियामै गएर सुरु गर्दा एक–डेढ महिना लाग्छ । काम सम्पन्न गर्दा २–३ महिना हुन्छ,’ उनले भने ।

तीन दिनअघि कीर्तिपुर नगरपालिका–१० स्थित शिवालय सडकमा मंगाल भत्किएर माटो बगेपछि सडकमा दुइटा ठूलो खाल्डो पर्‍यो । स्थानीय अभियन्ता वीरेन्द्र शाक्य ‘सडकमा यसरी खाल्डो पर्नुका कारण ढल (मंगाल) को क्षमता नहेरी जथाभावी भएभरको पानी मिसाउनु हो’ भन्छन् ।

उनका अनुसार कीर्तिपुरमा पछिल्लो समय सडकहरूमा खाल्डो पर्ने घटना बढिरहेको छ । खाल्डो पर्न थालेपछि नगरपालिकाले केही स्थानमा टाल्ने काम पनि गरेको छ ।

कीर्तिपुर स्थित शिवालय सडकमा परेको भ्वाङ ।

यसअघि १९ असारमा नयाँबजारस्थित सोह्रखुट्टे–बालाजु सडकखण्डको खाल्डोमा त झन पठाओ राइडर बाइक सहित खसे । राइडर विकल शाक्यले चलाएको मोटरसाइकल खाल्डोमा खसेपछि निकाल्न दुइटा पानी तान्ने मोटर र क्रेन मेसिन प्रयोग गर्नुपरेको थियो ।

‘एकछिन त बाइक खोज्नै गाह्रो भयो । झन्डै ११/१२ फिटमुनि खाल्डो परेको रहेछ,’ उद्धारमा खटिएका एक जनाले भनेका थिए । धन्न शाक्यले उक्त दिन ज्यान जोगाउन सके ।

स्थानीयका अनुसार उक्त दिन बिहान सोह्रखुट्टे–बालाजु सडक खण्डमा पर्ने धारागल्लीमा ठूलो आवाज सहित पड्किएको थियो । उक्त सडकमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले बिच्छ्याएको खानेपानी पाइपबाट पानी चुहिँदा सडकमा खाल्डो परेको थियो ।

केयूकेएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोककुमार पौडेलका अनुसार उक्त पाइप सुन्दरीजल खानेपानी आयोजनाको मुख्य पाइपलाइन हो । यो सडकमा तीन वर्षअघि मात्रै ५ सय मिलिमिटरको पाइप बिच्छ्याइएको छ । ‘पाइप फुटेको होइन, त्यहाँ ज्वाइनिङ रहेछ, त्यहीँबाट लिकेज भएछ,’ उनले भनेका थिए ।

त्यसैगरी १२ माघ २०८० मा काठमाडौं बानेश्वरमा ह्युम (ढल) पाइपबीच अन्तर (ग्याप) हुँदा सडक भासियो । गुडिरहेको बस एक्कासि सडकमा भासिएपछि महानगरपालिका टोलीले डोजर प्रयोग गरेर सडक खनेको थियो । सडक खन्दा बानेश्वर चोकबाट माइतीघर तर्फको सर्भिस लेन सडकमुनि राखिएको ह्युम पाइपबीच ग्याप देखिएको थियो ।

रत्नपार्कतर्फ जाँदै गरेको बा. ३ ख ३७६२ नम्बरको बस गुडिरहेको बेला एक्कासि भासिएको थियो । सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको थियो । त्यसअघि कात्तिक २०७८ मा पनि बानेश्वर चोक नजिकै सिभिल अस्पताल अगाडिको सडक भासिएर ठूलो खाल्डो परेको थियो ।

विकासे मोडेलले पारेको खाल्डो हो : डिभिजन सडक

डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख नारायणदत्त भण्डारी पछिल्लो समय उपत्यकाका सडकमा खाल्डो पर्दै जानुमा एकीकृत रूपमा हुन नसकेको विकासलाई देखाउँछन् ।

‘अहिले काठमाडौं उपत्यकाका सडकहरूमा खाल्डो परेको कुरा नयाँ नै हुन छाडिसक्यो हप्तैपिच्छे खालडो परिरहन्छ । यसको मुख्य कारण सडकमुनि भएको अव्यवस्थित काम हो । हाम्रो खानेपानीको पाइप सडकमुनि, ढल पनि सडकमुनि, पछिल्लो समय त बिजुलीका लाइनका पाइप पनि सडकमुनि, यसको कारण सडकमा एक्कासि खाल्डो परेको हो,’ भण्डारी भन्छन्, ‘१० वर्ष अगाडि सडकमुनि खानेपानीको पाइप वा ढलको पाइप जोडिएको थियो । त्यहाँको ज्वाइनबाट थोरै लिकेज हुन्छ । त्यहीँबाट वर्षौंसम्म पानी बग्छ र त्यहीँबाट माटो बिस्तारै बग्दै जान्छ । वर्षौंसम्म थोरै माटो बगिरहे पनि बिस्तारै खोक्रो हुन्छ, त्यहीँ खाल्डो हुन्छ ।’

उनले काठमाडौंका सडकमुनि बनाइने संरचना ‘युटिलिटी मोडेल’ मा नगएसम्म यस्तो समस्या दोहोरिने बताए । ‘सबै सडकमुनि राख्ने भए एउटा ठुलो ह्युम पाइपमा राखेर पुर्दा हुन्थ्यो, तर फरक– फरक ठाउँमा खन्ने बिगार्ने गर्दा सडकमुनिको माटो बग्छ, त्यसले खाल्डो पारिरहन्छ,’ उनले भने ।

सडकमुनि के–के छ भन्ने नै थाहा नहुने स्थिति छ : राजभण्डारी

सहरी पूर्वाधार जानकार डा. सुमननरसिंह राजभण्डारी काठमाडौंका सडकमुनि के–के संरचना छ भन्ने थाहा नै हुन नसक्ने स्थिति रहेको बताउँछन् ।

‘उपत्यकाका सडकमुनि कतै खानेपानीको पाइप, कतै ढल, कतै के कतै के छ । अब कहाँ के छ भन्ने नै थाहा नहुने अवस्था भइक्यो । कसैले खन्ने, कसैले पुर्ने भइरहेको छ । यस्ता कारण लिकेजको समस्या धेरै छ,’ काठमाडौं महानगरको सहरी योजना आयोग उपाध्यक्ष समेत रहेको राजभण्डारीले भने, ‘अहिले धेरै सडकमा देखिएका समस्या सडकमुनि रहेको पाइपहरूको लिकेजको हो, यसले धेरै ठाउँमा खाल्डो बनाएको देखिन्छ ।’

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?