+
+

अरिंगाल र कटहरको वाइनको स्वाद चखाउन गोरखामा ‘अरिंगाल होमस्टे’

विकास मरहट्टा विकास मरहट्टा
२०८१ साउन ३० गते १६:४२

३० साउन, गोरखा । अरिंगालका साथै रुख कटहरको वाइनसहित रैथाने परिकार चखाउने उद्देश्यसहित गोरखाको शहिद लखन गाउँपालिका–४ ताक्लुङको बरालथोकस्थित थानीडाँडा गाउँमा होमस्टे सञ्चालनको तयारी गरिएको छ ।

होमस्टे सञ्चालनका लागि ९ सदस्यीय समिति गठन भइसकेको छ । समिति अहिले गाउँमा अरिंगालको गोलाको प्रतिमा बनाउन व्यस्त छ । ६.५ फिट गोलाइ र ४.५ फिट लम्बाइको प्रतिमा बनाउन लागिएको समिति अध्यक्ष उत्तम थापाले बताए ।

गाउँमा व्यवसायिक रुपमा अरिंगाल पालन हुँदै आएकाले अरिंगालको गोलाको प्रतिमा निर्माण गर्न लागिएको थापा बताउँछन् । ‘२०५८ सालदेखि मैले अरिंगाल घरमा ल्याएर पाल्न थालेको हुँ,’ उनले भने, ‘अहिले गाउँमा करिव १६ घरधुरीले अरिंगाल पालेका छन्, पाहुनालाई त्यही अरिंगालको स्वाद चखाउने पनि उदेश्य हो ।’

अरिंगालससहित रुख कटहरको वाइन, गुन्द्रुक, ढिँडो लगायतका स्थानीय परिकारको स्वाद पनि पाहुनाले लिन पाउने थापाले जानकारी दिए । होमस्टे सञ्चालन गर्न वडाले पनि आवश्यक समन्वय गरिरहेको छ । रुख कटहरको वाइन उत्पादनमा वडाले सहजीकरण गरिरहेको वडाध्यक्ष यमबहादुर थापाले बताए ।

‘यो ठाउँमा रुख कटहर बढी पाइन्छ तर, अन्यत्र बेच्न लान पनि गाडीले चढाउन नमान्ने । यत्तिकै खेर गइरहेको कटहरलाई सदुपयोग गर्दै लोकल वाइन बनाउन थालेका हौं,’ उनले भने ।

उत्पादन भएको कटहर प्रति गोटा ३० देखि ४० रुपैयाँमा वडाले किन्दै आएको वडाध्यक्ष थापा बताउँछन् । भन्छन्, ‘यसले उत्पादीत उपजको बजार व्यवस्थापनमा पनि सहयोग पुग्ने भयो, फेरि होमस्टेमा आएका पाहुनालाई अर्गानिक लोकल स्वाद दिँदै यसको प्रवर्द्धन गर्न पनि पाउने भयौं ।’

उक्त गाउँमा मगर र चेपाङ समुदायको बसोवास छ । मगर समुदायको संस्कृति झल्काउने काठको खैँजडी र खुर्पेटोको ठूलो प्रतिमा समेत निर्माण गरिने वडाध्यक्ष थापाले बताए ।

पाहुनाका लागि चेपाङ समुदायको संस्कृति अन्तर्गत गिठा भ्याकुर, चिउरी, सिस्नु लागयतका परिकार पनि होम स्टेमा उपलब्ध हुने बताइएको छ ।

करिब ५६ घरधुरीमध्ये अहिले १३ घरधुरीमा होमस्टे सञ्चालनको तयारी गरिएको छ । क्रमशः सबै घरधुरीमा होट स्टे सञ्चालन गर्ने लक्ष्य समितिको छ । होम स्टे आउने पर्यटकले मगर र चेपाङ समुदायको संस्कृति झल्कने सांस्कृतिक झलकहरु पनि अवलोकन गर्न पाउने बताइएको छ ।

आफैं आर्थिक सहयोग जुटाएर संचालन गर्न लागिएको उक्त होमस्टेको नाम नै अरिंगाल होमस्टे राखेको स्थानीय बताउँछन् । भदौ महिनाबाट होटस्टे सञ्चालन गर्ने योजना रहेको समिति अध्यक्ष थापाले बताए । ‘पहिले संरचना निर्माण काम सक्ने अनि प्याकेज बनाउने भन्ने छ,’ उनले भने ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?