+
+

केयू र धुलिखेल अस्पतालको विवादमा प्रधानमन्त्रीको चासो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३० गते १६:५९

३० साउन, काठमाडौं। काठमाडौं विश्वविद्यालय (केयू)का कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको खटपटलाई समाधान गर्ने आश्वासन दिएका छन् ।

बुधबार बसेको ९७औं सभामा ओलीले सकेसम्म दुई संस्था मिलेर जानुपर्ने धारणा राखेका थिए । यदि मिल्ने नसक्ने अवस्था हो भने यसविषयलाई दुई महिना भित्रै आफैंले छिनोफानो गर्ने बताए ।

धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्यान्जु श्रेष्ठले धुलिखेल र केयू बीचको छुट्टिन लागेको हो कि होइन भन्ने जिज्ञासा राखेका थिए । त्यसपछि प्रधानमन्त्रीले केयूका पूर्व उपकुलपति सुरेशराज शर्मा र उपकुलपति भोला थापाको राय लिएका थिए ।

उपकुलपति डा.भोला थापाले सहकार्य तोड्न नखोजेको तर धुलिखेल अस्पतालले छुट्टै प्रतिष्ठान र विश्वविद्यालयका लागि बागमती प्रदेशमा माग गरेपछि सम्बन्धमा चिसोपन आएको बताए ।

‘धुलिखेल अस्पतालले छुट्टिन खोजेपछि केयूले आफ्नै ढंगले अस्पतालको विकास गर्नुपर्छ भन्ने लागेर हामीले त्यो प्रस्ताव ल्याएका हौं,’ डा. थापाको भनाइलाई उद्धृत गर्दै सिनेटमा सहभागि एक उच्च कर्मचारीले भने ।

त्यसैगरी पूर्वउपकुलपति शर्माले पनि दुई दशकदेखि केयू र धुलिखेल अस्पतालबीचको सहकार्यको बारेमा स्पष्ट पारेका थिए । सरकारबाट नै केयूलाई अस्पताल बनाउनका लागि कुनै सहयोग नभएको भन्दै उनले केयूसँग भएको पैसापनि धुलिखेल अस्पतालको विकास र विस्तारमा लगाइएको बताए । ‘अहिले दुवै संस्था छुटिँदा दुवैलाई गाह्रो छ । त्यसलाई मध्यनजर गर्नुपर्छ,’ शर्माले भने ।

त्यसपछि प्रधानमन्त्री ओलीले सहकार्य निरन्तरता दिन आफूले नै पहल गर्ने बताए । ‘दुवैं संस्था बिग्रिएर छुट्न दिन हुन् । मेरो पहलमा सहकार्य निरन्तरता दिने कोसिस रहन्छ,’ प्रधानमन्त्रीको भनाईलाई उद्धृत गर्दै ती कर्मचारीले भने, ‘यदि नमिल्ने अवस्था आयो भने विश्वविद्यालयले पनि ५ वर्षमा अस्पताल विकास गरिसकेपछि र अस्पतालले पनि स्वतन्त्र रुपमा अगाडी बढ्ने गरी काम गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले अर्को महिनामा पुन सिनेट बैठक राखेर टुंगोमा पुर्‍याउने बताए । बुधबार बसेको सिनेटले केयुको नीति तथा कार्यक्रम र बजेट पास गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?