+
+

‘कल्चरल कन्सर्ट’का लागि ब्याण्ड लिएर साउदी उडे प्रमोद, अमेरिकाको सांगीतिक टुरमा यम बराल

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३० गते १७:२१

काठमाडौं । गायक प्रमोद खरेल आफ्नो ब्याण्ड ‘परम्परा’लाई लिएर बुधबार साउदी अरबतर्फ प्रस्थान गरेका छन् । त्यहाँको प्रमुख सहर जेद्दामा हुने कन्सर्टमा नेपालसहित आठ एसियाली मुलुकका कलाकारले संस्कृति झल्किने सांगीतिक प्रस्तुति दिंदैछन् ।

नेपाली टोलीको नेतृत्व गर्दै प्रमोदसहितको आठ सदस्यीय टोली त्यता लागेको हो । यो ‘कल्चरल कन्सर्ट’मा उनले दुई घण्टा प्रस्तुति दिंदैछन् । उनले आफ्ना हिट गीतसहित नेपाली संस्कृति, पहिचान झल्काउने पुराना नेपाली गीत र धुन प्रस्तुत गर्नेछन् ।

साउदी सरकारले पर्यटन, मनोरञ्जन र खेलकुद क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले वर्षेनी ‘जेद्दा सिजन’को आयोजना गर्छ । यस वर्षको संस्करणमा एसियाली मुलुकलाई लक्षित गर्दै ‘कल्चरल ओडिसी’ कार्यक्रम तय गरिएको छ ।

आजै बेलुका अभिनेत्रीद्वय केकी अधिकारी र रीमा विश्वकर्मा पनि साउदी उड्ने जनाइएको छ । त्यसतर्फ जानुअघि अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रमोदले मिडियासँग भलाकुसारी गरे ।

तस्वीर सौजन्य : गोपीकृष्ण चापागाईं

नेपाली संस्कृति झल्किने संगीत र धुनलाई साउदीमा गुञ्जाउन आफू उत्साहित रहेको उनले बताए । ब्याण्डसहित पहिलोपटक अन्तर्राष्ट्रिय यात्रामा निस्कन लागेको बताउँदै उनले चाँडै ब्याण्डबाट गीत निकाल्ने तयारी रहेको पनि दोहोर्‍याए ।

जेद्दा सिजनको कुरा गर्दा एसियाली समुदाय र तिनका जीवन्त परम्परा झल्काउने उद्देश्यले हुन लागेको कन्सर्टमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इण्डोनेसिया र फिलिपिन्सका कलाकारले प्रस्तुति दिंदैछन् । नेपाली टोलीले १६ अगस्टमा प्रस्तुति दिने तय भएको छ ।

यो उनको दोस्रो साउदी भ्रमण हो । जेद्दाको कन्सर्टबाट फर्किएर प्रमोद हिमालय टिभीबाट प्रसारण भइरहेको ‘भ्वाइस किड्स’को फिनालेमा सहभागी हुनेछन् ।

यसैबीच, गायक यम बराल अमेरिकाको सांगीतिक टुरका लागि बुधबार त्यसतर्फ प्रस्थान गरेका छन् । उनले दुई महिनासम्म अमेरिकाका विभिन्न सहरमा हुने कार्यक्रममा सांगीतिक प्रस्तुति दिनेछन् । ‘दुई महिना म अमेरिका विभिन्न राज्य र सहरमा पुगेर त्यहाँ रहनुभएका नेपालीहरुलाई सांगीतिक मनोरञ्जन प्रदान गर्नेछु । यो सांगीतिक यात्रामा मेरो भर्खरै रिलिज भएको बाख्रा करायो गीत विशेष कोसेली हुने अपेक्षा राखेको छु,’ उनले अनलाइनखबरसँग भने ।

यम पछिल्लो समय कन्सर्टका साथै गीत रेकर्डिङमा पनि उत्तिकै व्यस्त छन् । हालै मात्र उनले केही गीत रेकर्ड गराएका छन् । समय मिलाएर ती गीतलाई सार्वजनिक गर्दै जाने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?