+
+

बंगलादेशमा धार्मिक तनाव रोक्न मन्दिर पुगे युनुस

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३० गते १७:३३

३० साउन, काठमाडौं। बंगलादेशमा विद्यार्थी आन्दोलन चर्किदै सत्ता परिवर्तनसम्म पुग्दा राजनीतिक एजेन्डासँगै कतिपय धार्मिक–सांस्कृतिक तनावहरु पनि देखिन थालेका छन् ।

प्रदर्शनकारीले बहिर्गमित शेख हसिना वाजेदको अवामी लिगका कार्यकर्ता, नेताले खोलेका होटल, उनीहरुका निवासहरुमा आक्रमण गरेका थिए। यसरी निशाना बनाउने क्रममा अल्पसंख्यक हिन्दुहरुका निवास र व्यक्ति पनि उनीहरुको तारो बन्न पुगेका छन् ।

ढाकाबाट प्रकाशित हुने डेली स्टार पत्रिकाका अनुसार मंगलबार राति पनि एक स्थानीयलाई आक्रमण गरिएको थियो । सीमावर्ती ठाकुरगाउँ लगायत क्षेत्रमा यसअघि पनि केही घटना भइरहेको उसले खबर दिएको छ । अरु देशमा भएका धार्मिक तनावका भिडियोहरु यही बेला बंगलादेशको भन्दै भाइरल गराउने क्रम पनि बढेको छ ।

बंगलादेशमा यस्ता घटनाहरुबीच त्यसले दंगाको स्वरुप भने लिन पाएको छैन । अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले बुधबार राजधानी ढाकाको ढाकेश्वरी मन्दिरमा पुगेर बंगलादेशमा सबै नागरिक बराबर रहेको भन्दै सबैलाई राज्यले बराबर संरक्षण गर्ने बताए ।

‘तपाईंहरु सबै बंगलादेशी हो, मुस्लिम, हिन्दू, बौद्ध वा कुनै धर्म समुदायका आधारमा विभेद हुँदैन,’ युनुसले मन्दिर परिसरमा भने, ‘राज्यले तपाईंहरुको पूरा संरक्षण गर्छ । कुनै क्षति हुनुहुँदैन । हामी अहिलेको आक्रोशलाई संस्थागत व्यवस्थापनमार्फत् सम्बोधन गर्दैछौं । भावनात्मक कुरा नभड्काऔं।’

तीन महिना लामो आन्दोलनपछि अघिल्लो साता बंगलादेशमा प्रधानमन्त्री शेख हसिना वाजेदले देश छाड्ने निर्णय लिएकी थिइन् । त्यस यता अन्तरिम सल्लाहकार परिषद्ले मन्त्रिमण्डल चलाइरहेको छ । बंगलादेशमा हसिनाको डेढ दशक लामो सत्ता ढले पनि अगाडिको बाटो स्पष्ट भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?