+
+

भ्रष्टाचार मुद्दामा गोदाबरीका मेयर र उपमेयरसहित सबै १४ जनाले पाए सफाइ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३० गते १८:२५
गोदाबरीका मेयर गजेन्द्र महर्जन ।

३० साउन, काठमाडौं । विशेष अदालतले ढुंगा बालुवा उत्खनन र बिक्री वितरणमा राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोप लागेका ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीसहित १४ जनालाई सफाइ दिएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सबै आरोपितहरुलाई सफाइ दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ जेठमा ललितपुरको लेले र नल्लुमा सञ्चालित ढुंगाखानी र क्रसर उद्योगहरुबाट राजस्व नउठाई भ्रष्टाचार गरेको भन्दै मेयर गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारीसहित १४ जनाविरुद्ध भ्रष्टारमुद्दा दायर गरेको थियो ।

अख्तियारले ८ जना कर्मचारी, ७ जना खानी सञ्चालक र ७ वटा कम्पनीविरुद्ध पनि मुद्दा चलाएको थियो ।

अख्तियारले उठाउनुपर्ने जति राजस्व नउठाएको, राजस्व छुट दिएको र भ्याट नउठाएको भन्दै एक अर्ब ४ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको थियो । अख्तियारले पाँच वर्षयता निरन्तर भ्रष्टाचार भएको भन्दै उनीहरुमाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले पाँचवटै मुद्दामा आरोपितहरुले सफाइ पाउने फैसला गरेको विशेष अदालतका एक अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?