+
+

वरिष्ठता मिचेको भन्दै समाजशास्त्र विभाग प्रमुखको सिफारिस विवादमा

नुनुता राई नुनुता राई
२०८१ साउन ३० गते १९:५४

३० साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभाग प्रमुखमा सिफारिस टीकाराम गौतमको नाममा विवाद भएको छ ।

विभाग प्रमुख प्रा.डा.युवराज लईंटेलको कार्यकाल शुक्रबार सकिँदैछ । त्यसपछिको प्रमुखका लागि मानविकी तथा सामाजिक शास्त्र संकायको डिन कार्यालयले गौतमलाई सिफारिस गरेको थियो ।

वरिष्ठताको आधारमा विभाग प्रमुख हुने कार्यविधि विपरीत डिन प्रा.डा.कुशुम शाक्यले गौतमको नाम सिफारिस गरेको भन्दै प्राध्यापकहरुबाटै विरोध भएको छ ।

समाजशास्त्र विभागले वरिष्ठताको आधारमा पहिलो नम्बरमा पासाङ शेर्पा, दोस्रो नम्बरमा गौतम र तेस्रो नम्बरमा मनहरि ढकालको नाम सिफारिस गरेको थियो । यीमध्ये डिन शाक्यले दोस्रो नम्बरमा रहेका गौतमलाई सिफारिस गरेपछि विवाद भएको हो ।

काँग्रेस निकट प्रजातान्त्रिक प्राध्यापक संघबाट डिन बनेकी प्रा.डा.कुसुम शाक्यलाई राजनीतिक आस्थाका आधारमा सहप्राध्यापक गौतमलाई विभागीय प्रमुख सिफारिस गरेको आरोप लागेको छ ।

‘उहाँले अहिलेसम्म धेरै वटा नियुक्तिहरु राजनीतिक आवद्धताको आधारमा गर्दा पनि विवाद नभएकाले समाजशास्त्रमा पनि त्यसै गर्न खोज्नुभएको होला तर यो विभागमा त्यो सम्भव नहुने देखिन्छ’, एक प्राध्यापकले भने ।

चार वर्षअघि तत्कालीन उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाले वरिष्ठताको आधारमा विभागीय प्रमुख हुने कार्यविधि ल्याएपछि प्रा.डा.युवराज लुईंटेल विभागीय प्रमुख नियुक्त भएका थिए ।

यसपटक डिन शाक्यले कार्यविधि मिच्दै दोस्रो नम्बरको रहेका गौतमलाई विभागीय प्रमुख सिफारिस गरेपछि प्रगतिशील प्राध्यापक संघको टोली कार्यविधि नमिच्न आग्रह गर्दै डिन कार्यालय पुगेको थियो ।

संघका महासचिव पदम खतिवडाले अभ्यासमा गइसकेको कार्यविधिलाई लत्याएर दोस्रो नम्बरमा रहेको व्यक्तिलाई सिफारिस गरिएको भन्दै नियुक्ति नगर्न खबरदारी गर्न पुगेको बताए ।

उनले भने, ‘हामी कार्यविधि विपरीत सिफारिस भएको भन्ने सुनेर डिन म्यामलाई भेट्न पुग्दा उहाँले पनि विभागले दोस्रो नम्बरमा राखेको व्यक्तिलाई पहिलो नम्बरमा सिफारिस गरेको र नियुक्ति पदाधिकारीबाट हुने भन्ने खालको जवाफ दिनुभएको छ यो उहाँबाट भएको गम्भीर गल्ती हो ।’

मानविकी संकायकी डिन शाक्यको कार्यकाल १० साउनमा नै सकिएको छ । त्रिवि उपकुलपति प्रा.डा.केशरजंग बरालले अर्को व्यवस्था नभएसम्मको लागि निमित्त डिनको जिम्मेवारी उनलाई दिएका छन् । कार्यकाल सकिइसकेको अवस्थामा विवादित निर्णय नगर्न डिनलाई खबरदारी गरेको खतिवडाले बताए ।

त्रिविका रेक्टर प्रा.डा.खड्ग केसीले विद्यमान प्रावधान भन्दा बाहिर गएर निर्णय नहुने बताए । उनले भने, ‘सिफारिस पत्र आएको छ तर अहिले कार्यकारी परिषदको बैठक बस्न सक्ने अवस्था नभएकाले खोलेर हेरेको छैन । कार्यविधि भन्दा बाहिर गएर निर्णय गर्ने कुरा आउँदैन ।’

त्रिविका पाँच संकायको डिन पद रिक्त

त्रिविमा अहिले विभिन्न पाँच संकाको डिन रिक्त रहेको छ ।

चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) महाराजगञ्जकी डिन डा. दिव्या सिंह शाहको गत जेठमा, शिक्षा शास्त्र संकायका डिन प्रा.डा.चित्रबहादुर केसी, इन्जिनियरिङ अध्ययन संस्थानका डिन डिन प्रा.डा.शशीधरराम जोशी र मानविकी तथा सामाजिकशास्त्र संकायकी डिन प्रा.डा.कुसुम शाक्यको १० साउनमा कार्यकाल सकिएको थियो ।

त्यस्तै कृषि तथा पशुविज्ञान संकायका डिनको पनि कार्यकाल सकिएकाले वरिष्ठताका आधारमा निमित्त डिनको रुपमा प्रा.डा.कन्हैयाप्रसाद सिंहले काम गरिरहेका छन् ।

रेक्टर केसीले यी पदहरुका लागि चाँडै सिफारिस समिति गठन गरेर नियुक्ति गर्ने तयारी भइरहेको बताए । केही विभाग र क्याम्पस प्रमुख पदहरु पनि रिक्त भएकाले त्यसको लागि पनि प्रक्रिया अगाडि बढाउने उनले बताए ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?