+
+

हेटौंडामा विशेष नगरसभा बोलाउन बहुमत सदस्यको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३० गते १९:०५

३० साउन, हेटौंडा । कर वृद्धिको विषयलाई लिएर हेटौंडा उपमहानगरपालिकाको बहुमत नगरसभा सदस्यले विशेष नगरसभा बोलाउन माग गरेका छन् ।

नेकपा एमालेबाट निर्वाचित ९ जना वडा अध्यक्ष, ८ जना कार्यपालिका सदस्य र ३१ जना नगरसभा सदस्य गरी ४८ जना (बहुमत) नगरसभा सदस्यले नगर प्रमुख मीनाकुमारी लामासँग विशेष नगरसभा बोलाउन बुधबार माग गरेका हुन् ।

हेटौंडा उपमहानगरपालिकाका कुल ९४ जना नगरसभा सदस्यमध्ये एमालेकै ५४ जना छन् । जसमध्ये ४८ जनाले विशेष नगरसभा बोलाउने सम्बन्धीको माग पत्रमा हस्ताक्षर गरेका छन् ।

नगर प्रमुख लामा भने काठमाडौंमा छिन् । एमालेका नगरसभा सदस्यहरुले प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतममार्फत लामा समक्ष विशेष नगरसभा बोलाउन माग गरेका हुन् ।

२०७४ यता हेटौंडामा पहिलो पटक विशेष नगरसभा सदस्य बोलाउन माग भएको छ । नेपालको संविधानको धारा २२२ देखि २२७, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ को उपदफा ३, बागमती प्रदेशको गाउँ, नगर, जिल्ला सभा सञ्चालन (कार्यविधि) ऐन २०७५ को दफा ३ उपदफा ३ र दफा २३ को (ग), (घ), (ञ) र (ट) तथा उपमहानगरको नगरसभा सञ्चालन कार्यविधि २०७४ को दफा ३ बमोजिम विशेष नगरसभा बैठक बोलाउन माग गरिएको पत्रमा उल्लेख छ ।

कर वृद्धिको विरोधमा विगत १० दिनदेखि मकवानपुर उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ, जिल्ला सहकारी संघलगायतका दुई दर्जन विषयगत व्यवसायिक संघसंस्थाहरु चरणबद्ध आन्दोलनमा छन् । बुधबार बिहान मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा व्यवसायीहरुले उपमहानगरपालिका कार्यालयमा धर्ना दिएका थिए ।

हेटौंडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिग्देलले अस्वभाविक कर वृद्धि गरिएकाले नगरबासीमा असन्तुष्टि देखा परेको विषयलाई सम्बोधन गर्न आर्थिक ऐनमा व्यवस्था भएको करको दर र दस्तुर संशोधनका लागि विशेष नगरसभा आह्वानको माग गरिएको बताए । उनका अनुसार नगर प्रमुख लामाले १५ दिनभित्र विशेष नगरसभा बोलाउनुपर्ने कानुनी व्यवस्था छ ।

उनले असार २०८१ को पहिलो हप्तामा भएको १५ औं नगरसभामा कर वृद्धिसम्बन्धी प्रस्ताव छलफलमै नल्याई गुपचुप रुपमा पास गराइएको दाबी गरे ।

करको दर हेरफेर जस्तो संवेदनशील विषयमाथि सरोकारवाला निकायसँग आवश्यक छलफल र नगरसभामा नै प्रस्ताव नल्याई पास गरिनुले नगर प्रमुख लामा र उपप्रमुख राजेश बानियाँको गैरजिम्मेवारी र लाचारीपन भएको आरोप लगाए ।

‘नगरसभाबाट पास हुने विषयमा ध्यान नदिनु हाम्रो पनि कमजोरी हो । कर वृद्धि सम्बन्धीको डकुमेन्ट नगरसभामा बाँडिएको छैन । तर, घटनाक्रमले मुद्दा उठान भएपछि समस्या समाधानका लागि हामीले पहल कदमी लिनुपर्छ भनेर विशेष नगरसभा बोलाउन माग गरिएको हो’, सिग्देलले भने, ‘यस विषयमा छलफल गर्न खोज्दा मेयर र उपमेयर सम्पर्कमै आएका छैनन् ।’

उपप्रमुख बानियाँ संयोजक रहने राजश्व परामर्श समितिमा एमालेकै तीन जना वडा अध्यक्ष दीपक खड्का, सुनिल मोक्तान र जुना दाहाल सदस्य छन् । तीन जना वडाध्यक्षले राजश्व परामर्श समितिको बैठकमा करको दायरा बढाउने विषयमा मात्रै छलफल भएको तर, नगरसभाबाट अस्वभाविक रुपमा कर वृद्धि गरिएको बताए ।

७ असारमा भएको उपमहानगरको १५ औं नगर सभाबाट राजश्व दरमा वृद्धि गर्ने निर्णय भएको थियो ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को लागि बहालकर देखि व्यवसाय करमा २० देखि १५० प्रतिशतसम्म राजश्व वृद्धि गरेको हो ।

व्यवसायीहरुले बिहीबार पनि हेटौंडा उपमहानगरपालिकामा धर्ना दिने र नगर सरकार खोज्दै मैनबत्ती जुलुस गर्ने कार्यक्रम तय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?