+
+

गाउँपालिका अध्यक्षमाथि सहकारी ठगीको आरोप, पक्राउ पुर्जी जारी भएपछि फरार

अमृत सुवेदी अमृत सुवेदी
२०८१ साउन ३० गते १९:४०

३० साउन, पोखरा । स्याङ्जाको बिरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवर सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ पुर्जी जारी भएपछि फरार भएका छन् ।

स्याङ्जाको सदरमुकामस्थित सूर्योदय बचत तथा ऋण सहकारी संस्थाको बिरुवा सेवा केन्द्रबाट भएको ३ करोड ६६ लाख रुपैयाँ हिनामिनामा उनको संलग्नता देखिएको प्रहरीको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार सूर्योदय सहकारीको विरुवा सेवा केन्द्रबाट फर्जी कर्जा खाता बनाउने, बचतकर्ताको रकम पनि आफ्नो व्यक्तिगत स्वार्थमा लगाउने गरेको खुलेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

तर, उनको मोवाइल मंगलबारदेखि अफ छ र उनी सम्पर्कविहीन भएका छन् । कुँवरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख शालिग्राम शर्माले जानकारी दिए ।

नेकपा एमालेबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित कुँवरले ०७६/७७ सालमा आफू सहकारीको सचिव हुँदा बचत रकम नेताहरुलाई आफूखुसी चलाउन दिएको र आफूले पनि चुनावमा खर्च गरेको छानबिनको क्रममा भेटिएको छ । पहिले शिक्षक रहेका उनी २०७३ सालदेखि नेकपा एमालेको राजनीतिमा संलग्न थिए ।

२०७४ सालदेखि नै सूर्योदय सहकारीको रकम अपचलन हुन सुरु भएको छानबिनबाट देखिएको छ भने गत चुनावमा कुँवरले सहकारीकै रकमसमेत खर्च गरेको पाइएको छानबिनमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए ।
प्रहरीले उनीसहित ४ जनालाई पक्राउ पुर्जी जारी गरेकोमा ३ जना थुनामा छन् भने कुँवर फरार छन् ।

सहकारीका विरुवा सेवा केन्द्रका प्रमुख जीवन वाग्लेलाई पक्राउ गरेर अनुसन्धान थालेपछि उनकै बयानका आधारमा अरु दुई जना पनि पक्राउ परेका छन् । पक्राउ पर्ने अन्यमा सहकारीका बिरुवा सेवा केन्द्रका तत्कालीन सचिव तथा अहिलेका अध्यक्ष तारेन्द्रबहादुर केसी र मुक्तिनाथ विकास बैंक विरुवा शाखामा कार्यरत कर्मचारी सन्ध्या भण्डारी रहेका छन् ।

पक्राउ पर्नेहरुले पनि कुँवरकै संलग्नतामा सहकारीको रकम हिनामिना भएको र चुनावमासमेत खर्च गरिएको बयान दिएका एक प्रहरी अधिकारीले बताए ।

गाउँपालिका अध्यक्ष कुँवर सहकारीको सेवा केन्द्रका तत्कालीन सचिव थिए । स्थानीय तहको चुनावमा कुँवरले सेवा केन्द्र प्रमुख वाग्लेलाई समेत प्रभावमा पारेर सहकारीको रकम प्रयोग गरेको अनुसन्धानका क्रममा भेटिएको प्रहरीको भनाइ छ । कागजात बिनै सहकारीको रकम चलाउने, फर्जी कर्जा खातामार्फत कारोबार गर्ने गरेको आरोप उनीमाथि छ ।

सहकारीका प्रबन्धक ध्रुवनारायण श्रेष्ठसमेतको जाहेरीका आधारमा उनीसहित ४ जनालाई पक्राउ पुर्जी जारी गरिएको स्याङ्जा प्रहरी प्रमुख शर्माले जानकारी दिए । सहकारीको रकम सेवा केन्द्रमार्फत हिनामिना भएको सार्वजनिक भएपछि सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीले वित्तीय अनुसन्धानका लागि निर्मल गौतमलाई जिम्मेवारी दिएको छ ।

चुनावका बेला बिना कागजात रकम चलाएको र सहकारीलाई हानी पुर्‍याएको प्रहरी अनुसन्धानमा खुलेको छ । कुँवरले सहकारीको डेढ करोड रुपैयाँभन्दा बढी नगदै चलाएको र बाँकी रकम हिनामिनामा पनि उनको संलग्नता देखिएको छ ।

बचतकर्ताको भरोसा नटुटोस् भन्नका लागि बचतकर्ताको खाताबाट हिनामिना भएको ३० लाख रुपैयाँभन्दा बढी सहकारीको मुख्य कार्यालयले नै शोध भर्ना गरेको थियो । कुँवरले बचतकर्ताको ठूलो रकम हिनामिना नगरे पनि सहकारीलाई क्षति पुर्‍याएको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

विरुवा गाउँपालिका अध्यक्ष कुँवर जनजागृति बहुउद्देश्यीय सहकारीको सचिव थिए । पछि सूर्याेदयको सेवा केन्द्र विरुवा सेवा केन्द्रमा एकीकरण भएपछि त्यसको पनि सचिव बनेका थिए ।

कुँवरमार्फत नेताहरुले पनि बिना कागजात सहकारीको पैसा लगेको र सेवा केन्द्र प्रमुख वाग्लेले त्यसको कारोबार प्रमाणित गर्ने गरेको खुलेको छ ।

प्रहरीले उनको खोजी कार्यमा टोली खटाएको जनाएको छ । उनीमाथि राजनीतिक संरक्षणसमेत भएकाले पक्राउ पर्नमा बिलम्व हुन सक्ने भन्दै बचतकर्ताले खबरदारी गरिरहेका छन् । प्रहरीले गत साउन ११ गते सहकारीका बचतकर्ताहरुलाई उजुरीका लागि सूचना आह्वानसमेत गरेको थियो ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?