+
+
होटलहरूको वित्तीय स्थिति :

सोल्टी र तारागाउँको नाफा बढ्दा ओरियन्टलको घट्यो, सिटी नोक्सानीमा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३१ गते ८:४५

३१ साउन, काठमाडौं । दोस्रो बजारमा सूचीकृत ४ वटा होटल कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

सार्वजनिक वित्तीय विवरणअनुसार सिटी होटल नोक्सानीमा गएको छ भने अरु तीन वटा होटल नाफामा छन् । औसतमा ४ होटल कम्पनीको खुद नाफा ९८ करोड ६१ लाख रुपैयाँ छ । गत आर्थिक वर्षमा यस्तो नाफा ७७ करोड ८७ लाख रुपैयाँ थियो ।

सूचीकृत ४ होटलमध्ये प्रतिसेयर आम्दानीका आधारमा तारागाउँ रिजेन्सी सबैभन्दा माथि छ । सो होटलको गत आवमा प्रतिसेयर आम्दानी २६ रुपैयाँ ४१ पैसा छ । प्रतिसेयर नेटवर्थका आधारमा भने ओरियन्टल होटल सबैभन्दा अब्बल देखिन्छ । सो होटलको प्रतिसेयर नेटवर्थ ३४३ रुपैयाँ छ ।

ओरियन्टल होटलको नाफा २४ प्रतिशत घट्यो

र्‍याडिसन होटल सञ्चालन गर्दै आएको ओरियन्टल होटल कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा १२ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा भने २४ प्रतिशतले घटेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा १६ करोड ९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको सञ्चालन आम्दानी बढ्दा पनि नाफा घटेको देखिन्छ । अघिल्लो आर्थिक वर्ष १ अर्ब ८ करोड आम्दानी गरेको कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब १५ करोड आम्दानी गरेको छ ।

कम्पनीको अन्य आम्दानी घटेको छ भने कुल खर्च बढेको छ । जसले नाफामा सिधा असर परेको छ । कम्पनीको कुल खर्च ८.१४ प्रतिशत बढेको छ । अघिल्लो आर्थिक वर्षमा कुल खर्च ८९ करोड ७७ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा ९७ करोड ८ लाख रुपैयाँ छ ।

कम्पनीको नाफा घटेपछि प्रतिसेयर आम्दानी पनि खुम्चिएको छ । अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी १४ रुपैयाँ २७ पैसा रहेकोमा गत आर्थिक वर्ष १० रुपैयाँ ८४ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ३४३ रुपैयाँ ४१ पैसा छ । बुधबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता १०८८ रुपैयाँ छ ।

तारागाउँ रिजेन्सीको नाफा २८ प्रतिशत बढ्यो
हायात रिजेन्सी सञ्चालन गर्दै आएको तारागाउँ रिजेन्सी होटलको नाफा २८.१७ प्रतिशत बढेको छ । अघिल्लोे आर्थिक वर्ष २०७९/८० मा कम्पनीले ४० करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आर्थिक वर्षमा ५१ करोड ८२ लाख रुपैयाँ छ ।

कम्पनीको सञ्चालन आम्दानी बढ्दा नाफा बढेको देखिन्छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३४ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा १ अर्ब ४९ करोड रुपैयाँ छ । सञ्चालन आम्दानीका अलवा अन्य आम्दानी पनि बढेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २६ रुपैयाँँ ४१ पैसा छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी २१ रुपैयाँ ४३ पैसा थियो । प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ६२ पैसा छ । बुधबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता १२३७ रुपैयाँ छ ।

सिटी होटल साढे २५ करोड नोक्सानीमा
हायात प्लेस होटल सिटी होटल गत आर्थिक वर्षमा २५ करोड ५४ लाख रुपैयाँ नोक्सानीमा छ । कम्पनीको नोक्सानी आघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा घटेको हो । अघिल्लो आर्थिक वर्षमा यस्तो नोक्सानी ३४ करोड १४ लाख रुपैयाँ थियो ।

कम्पनीको सञ्चालन आम्दानी भने सामान्य बढेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ४७ करोड ३१ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा ५० करोड ४२ लाख रुपैयाँ छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ २३ पैसा ऋणत्मक छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ ५५ पैसा छ । बुधबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता १०१९ रुपैयाँ ९० पैसा छ ।

सोल्टी होटलको नाफा ८ प्रतिशत बढ्यो
प्रतिकित्ता १० रुपैयाँ अंकित मूल्यमा सेयर जारी गरेको सोल्टी होटलको बुधबार बजार बन्द हुँदा भने मूल्य भने प्रतिकित्ता ६२४ रुपैयाँ १० पैसा पुगेको छ । अंकित मूल्य १ सयसँग तुलना गर्दा कम्पनीको मूल्य ६ हजार २४० रुपैयाँ बराबर हो ।

यस कम्पनीको नाफा गत आर्थिक वर्षमा ८.३ प्रतिशत बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ५५ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आवमा कम्पनीले ६० करोड १० लाख रुपैयाँ कमाएको छ ।

कम्पनीको सञ्चालन आम्दानी बढ्दा नाफा बढेको देखिन्छ । अघिल्लो आर्थिक वर्षमा सञ्चालन आम्दानी २ अर्ब २५ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा २ अर्ब ४९ करोड छ । कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ४७ पैसा छ । प्रतिसेयर नेटवर्थ २५ रुपैयाँ ४३ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?