+
+

गण्डकीमा १७ सय हेक्टरले घट्यो रोपाईं गर्ने खेत

रासस रासस
२०८१ साउन ३१ गते १६:२०
रोपाईंको प्रतिनिधिमूलक तस्वीर ।

३१ साउन, गण्डकी । गत वर्ष गण्डकी प्रदेशमा कुल ९७ हजार सात सय ६९ हेक्टर क्षेत्रफलमा बर्खे धान रोपिएको थियो ।

यस वर्ष भने बर्खे धान खेतीको क्षेत्रफल घटेर ९६ हजार ५३ हेक्टरमा समेटिएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म हालसम्म ९७ दशमलब ५० शून्य प्रतिशत रोपाइँ सकिएको छ ।

९३ हजार छ सय ५१ हेक्टरमा रोपाइँ भइसकेको निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए । म्याग्दी र लमजुङमा रोपाइँ सकिएको र बाँकी जिल्लामा अन्तिम चरणमा रहेको उनको भनाइ छ ।

हिमालपारिको जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धान खेती हुँदै आएको छ । निर्देशनालयका प्रमुख रेग्मीले धान बालीको क्षेत्रफल बर्सेनि घट्दै आएको बताए ।

प्रदेशको कूल चार लाख ७९ हजार छ सय १७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्खे र चैते गरी झण्डै एक लाख हेक्टरमा धान खेती हुने गरेको उनको भनाइ छ । नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा धान खेतीको क्षेत्रफल बढी छ ।

निर्देशनालयको तथ्याङ्कअनुसार नवलपुरमा १८ हजार सात सय १६, कास्कीमा १६ हजार दुई सय २०, लमजुङमा ११ हजार आठ सय ७५, गोरखामा १० हजार एक सय ४०, तनहुँमा सात हजार छ सय ७४ हेक्टरमा क्षेत्रफलमा यस वर्ष बर्खे धान लगाइएको छ ।

यस्तै स्याङ्जामा १४ हजार तीन सय ९०, पवर्तमा सात हजार पाँच सय २५, बागलुङमा पाँच हजार सात सय सात र म्याग्दीमा तीन हजार आठ सय छ हेक्टर क्षेत्रफल धान खेतीले समेटेको छ ।

धान खेतीका लागि जिल्लामा पकेट क्षेत्र तोकिएको निर्देशनालयले जनाएको छ । गोरखाको छेवेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ धानको पकेट क्षेत्र हुन् ।

पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायतलाई धानका पकेट क्षेत्र तोकिएको छ ।
गण्डकीमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धान खेती गरिन्छ ।

अघिल्लो वर्षको तुलनामा धान खेतीको क्षेत्रफल घटेपनि गत वर्ष धानको उत्पादकत्व भने बढेको निर्देशनालयका प्रमुख रेग्मीले बताए । दुई वर्षअघि प्रतिहेक्टर तीन दशमलव छ मेट्रिक टन धान उत्पादन भएकामा गत वर्ष बढेर प्रतिहेक्टर तीन दशमलव ७३ मेट्रिक टन धान उत्पादन भएको उनको भनाइ छ ।

समयमै वर्षात् र रासयनिक मलको उपलब्धता, धानमा प्रकोपजन्य रोग नलाग्नु, सिँचाइ सुविधा, उन्न बिउविजन आदि कारणले धानको उत्पादकत्व वृद्धि भएको उनले बताए । प्रतिकुल मौसम, मल अभाव, कमसल बिउविजन जस्ता कारणले धानको उत्पादकत्वमा ह्रास आउने गरेको छ ।

धान खेतीको क्षेत्रफल घट्नुमा घरघडेरीका नाममा धानको उब्जाउ क्षेत्र नासिनु पहिलो कारण रहेको निर्देशनालयका प्रमुख रेग्मीले भनाइ छ । जग्गा बाँझो छाड्ने प्रवृत्ति र खेतीयोग्य जमिनमा बस्ती तथा पूर्वाधार विकासले गर्दा धान खेतीको क्षेत्रफल बर्सेनि घट्दै गएको उनले बताए ।

‘सिँचाइ, खेती प्रणालीमा सुधार, रोककिरा नियन्त्रण, उन्नत बिउ, प्रविधि र मल व्यवस्थापन बेलैमा हुन सके किसानले थोरै क्षेत्रफलमा पनि धेरै धान फलाउन सक्छन्’, निर्देशनालयका प्रमुख रेग्मीले भने ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?