+

यी खेलाडी जसले भारत र पाकिस्तान दुबै देशका लागि क्रिकेट खेले

२०८१ साउन  ३१ गते १६:४४ २०८१ साउन ३१ गते १६:४४
यी खेलाडी जसले भारत र पाकिस्तान दुबै देशका लागि क्रिकेट खेले

३१ साउन, काठमाडौं । दक्षिण एसियाका दुई छिमेकी देश भारत र पाकिस्तानको खराब राजनीतिक सम्बन्धको असर समग्र खेलकुदमा पनि परेको छ ।

त्यसैले भारत र पाकिस्तानबीच पछिल्लो एक दशकमा विश्वकप र एसिया कपमा मात्रै प्रतिस्पर्धा हुँदै आएको छ । सिरिज नखेल्ने हुँदा यी दुई देशबीचको खेललाई विश्वले नै निकै महत्वपूर्ण रुपमा हेर्ने गर्दछ ।

पाकिस्तान सिरिज खेल्न अन्तिम पटक भारतमा २०१२/१३ मा भ्रमण गरेको थियो । पाकिस्तान टी–२० विश्वकप सन् २०१६ र एकदिवसीय विश्वकप २०२३ खेल्न भारत गएको थियो ।

भारतले अन्तिम पटक सन् २००६ मा सिरिज खेल्न पाकिस्तान भ्रमण गरेको थियो । भारतले सुरक्षाको कारण देखाउँदै आईसीसीको प्रतियोगिता र एसिया कप खेल्न पाकिस्तान जान अस्वीकार गर्दै आएको छ ।

त्यसैको कारण सन् २०२३ मा एसिया कपमा भारतका खेलहरु श्रीलंकामा भएका थिए । च्याम्पियन्स ट्रफी २०२५ पाकिस्तानमा हुने तय भएपनि भारती टिम त्यहाँ जानेमा शंका छ । सन् २००८ मा इन्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो संस्करणमा पाकिस्तानी खेलाडीले पनि खेलेका थिए ।

सन् २००८ मा मुम्बईमा आतंककारी आक्रमणपछि भारतले पाकिस्तानी खेलाडीलाई आईपीएल खेल्न समेत प्रतिबन्ध लगाएको थियो ।

धेरैलाई अचम्म लाग्न सक्छ । भारत र पाकिस्तान दुबै देशबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका खेलाडीहरु पनि छन् । उनीहरुको बारे छोटकरीमा जानकारी यस प्रकार छ ।

अब्दुल हफिज कारदार

अब्दुल हफिज कारदार पाकिस्तानका पहिलो कप्तान हुन् । सन् १९२५ मा लाहोरमा जन्मिएका उनले सानोमा इंग्ल्यान्डमा पढ्दैमा क्रिकेट सिकेका थिए । अलराउण्डर उनले भारतबाट सन् १९४६ मा इंग्ल्यान्डविरुद्ध लर्ड्समा टेष्टमा डेब्यू गरेका थिए । निडर स्वभावका क्रिकेटर उनले त्यो सिरिजमा भारतबाट इंग्ल्यान्डविरुद्ध तीनै खेल खेलेका थिए ।

उनी इंग्ल्यान्डसँगको सिरिजपछि आफ्नो जन्म थलो लाहोर फर्किदै पाकिस्तानमै बसेर क्रिकेट खेल्ने निर्णय लिए । सन् १९५२ मा पाकिस्तानले उनको कप्तानीमा पहिलो टेष्ट सिरिज खेल्ने टोली निर्माण गरेको थियो ।

भारतविरुद्ध सन् १९५२ अक्टोबर १६ मा दिल्लीमा भारतविरुद्ध खेल्दै पाकिस्तानबाट कप्तानी गर्ने पहिलो खेलाडी बने । उनले सन् १९५२ देखि १९५८ सम्म पाकिस्तानबाट २३ टेस्ट खेल कप्तानको रुपमा खेलेका थिए । उनले भारतबाट ३ र पाकिस्तानबाट २३ गरी कुल २६ टेस्ट खेल खेलेका थिए ।

खेलाडी जीवनपछि उनी राजनीतिमा लागे । उनको सन् १९९६ अप्रिलमा लाहोरमा निधन भएको थियो ।

गुल मोहम्मद

सन् १९२१ अक्टोबरमा लाहोरमा जन्मिएका उनी होचो कदका क्रिकेटर थिए । उचाइ ५.५ फिट मात्रै भएपनि बायाँ हाते अलराउण्डर उनी आक्रामक क्रिकेट खेल्न रुचि राख्थे । त्यो समयमा उनी उत्कृष्ट फिल्डरको रुपमा समेत चिनिन्थे । गुल मोहम्मदले सन् १९३८/३९ मा नर्थन इन्डियनबाट १७ वर्षको उमेरमा रणजी ट्रफी खेलेका थिए ।

मोहम्मदले भारतबाट सन् १९४६ मा लर्ड्समा इंग्लयाण्डविरुद्ध टेष्ट खेलमा डेब्यू गरेका थिए । उनले भारतबाट सन् १९५२ मा लखनऊमा पाकिस्तानविरुद्ध अन्तिम खेल खेले ।

सन् १९५५ मा उनले पाकिस्तानको नागरिकता लिए । पाकिस्तानबाट सन् १९५६ अक्टोबरमा अष्ट्रेलियाविरुद्ध खेलेका थिए । उनले पाकिस्तानबाट खेलेको त्यही एकमात्रै टेष्ट खेल हो । समग्रमा उनले भारतबाट ८ र पाकिस्तानबाट १ टेष्ट खेलेका थिए । उनको निधन सन् १९९२ मे ८ मा भएको थियो ।

आमिर इलाही

स्पिनर आमिर इलाहीको जन्म सन् १९०८ पञ्जाबमा भएको थियो । उनले भारतबाट सन् १९४७ डिसेम्बरमा अष्ट्रेलियाविरुद्ध टेष्टमा डेब्यू गरेका थिए । उनले भारतबाट खेलेको त्यही एकमात्रै खेल हो । त्यसपछि उनले पाकिस्तानबाट पाँचवटा टेष्ट खेले ।

पाँच खेलको टेष्ट सिरिज खेल्न सन् १९५२ मा भारत भ्रमण गर्दा उनी पाकिस्तानको टोलीमा थिए । चौथो टेष्ट खेलमा चेन्नईविरुद्ध ११ नम्बरमा ब्याटिङ गर्दै ४७ रनको सरप्राइज इनिङ खेलेका थिए । उनले उक्त सिरिजमा पाकिस्तानबाट सबै पाँच खेल खेलेका थिए । उनको ७२ वर्षको उमेरमा निधन भएको थियो ।

क्रिकेट पाकिस्तान भारत
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय