+
+

गट्ठाघरमा कसरी भयो स्कुटर चालकको मृत्यु हुने गरी दुर्घटना ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३१ गते १९:३९

३१ साउन, काठमाडौं। भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ गट्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ ।

बिहीबार दिउँसो १:४० बजे ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा अन्दाजी ४०/४५ वर्षका पुरुषको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी राजन कार्कीले जानकारी दिए ।

ठक्कर दिएपछि ट्रकका चालक भने फरार छन् । घटनापछि आक्रोशित स्थानीयले ट्रकमा तोडफोड गर्नुका साथै गठ्ठाघरमा मूल सडक अवरुद्ध पारेर प्रदर्शन गरे । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास हानेको थियो ।

घटनाको तीन घण्टापछि प्रहरीले शव निकालेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाएको छ ।

दुर्घटनापछि स्थिति तनावग्रस्त बनेपछि जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाडौंका टोली र सशस्त्र प्रहरी बलको टोली समेत परिचालन गरिएको थियो ।

करिब दुई हजारको हाराहारीमा जम्मा भएको भीडले गठ्ठाघर चोकको ट्राफिक आइल्याण्ड समेत तोडफोड गरेको थियो । बिहीबार साँझ अबेर मात्र गठ्ठाघर क्षेत्र सामान्य बनेको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी वेद विष्टले बताए ।

प्रदर्शनकारीले सडकमा जथाभावी गाडी रोकेर चेकजाँच गर्दा दुर्घटना भएको भन्दै प्रहरीविरुद्ध आक्रोश पोखेका थिए । तर, प्रहरीले भने त्यस क्षेत्रमा बिहीबार ट्राफिक प्रहरीले गाडी रोकेर चेकजाँच नगरेको दाबी गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी श्रेष्ठले ट्राफिक प्रहरीले दुर्घटना भएको स्कुटर र ट्रक कुनैलाई पनि नरोकेको बताए । उनका अनुसार गट्ठाघरमा ‘स्पिड गन’मार्फत सवारीको गति अनुगमन भने गरिएको थियो ।

‘स्पिड गनमार्फत गति हेरिएको थियो । तर त्यहाँ स्कुटर र ट्रकलाई रोकेर ट्राफिक जाँच गरेको होइन । गनमार्फत स्पिड गति हेरिरहेका बेला दुर्घटना भएको देखेपछि ट्राफिक दौडिएर घटनास्थल गएको देखिन्छ’ एसएसपी श्रेष्ठले अनलाइनखबरसँग भने ।

घटनापछि भक्तपुरको ट्राफिक प्रहरीसँग जानकारी लिँदा स्कुटर नरोकेको जवाफ आएको श्रेष्ठको भनाइ छ । प्रदर्शनकारीले ट्राफिक चेकजाँचका क्रममा दुर्घटना भएको भनेकाले त्यस विषयमा अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले सडकमा गाडीको गति जाँच गरिरहेको थाहा पाएपछि ट्रकले एक्कासी गति घटाउँदा दुर्घटना भएको प्रहरीको भनाइ छ ।

भक्तपुरका एसपी विष्टले पनि दुर्घटनामा परेका स्कुटर तथा ट्रक दुबै बिहीबार चेकजाँचमा नपरेको बताए । ट्राफिकले गति नापेको थाहा पाएर ट्रकले एक्कासी गति घटाउँदा स्कुटर अनियन्त्रित भएर ट्रकमुनि छिरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यसबारे सीसीटीभी फुटेज हेरेपछि मात्रै आधिकारिक पुष्टि हुनेछ एसपी विष्टले बताए ।

‘हामीले ड्युटीमा खटिएका ट्राफिकदेखि प्रत्यक्षदर्शीलाई समेत सोधपुछ गरेका छौं । तर ट्राफिकले रोकेर जाँच गरेको बेला दुर्घटना भएको देखिँदैन’, विष्टले अनलाइखनखबरसँग भने ।

उनका अनुसार बनेपातर्फ जाँदै गरेका दुबै सवारी दुर्घटनामा परेका हुन् । दुर्घटना भएपछि दौडिएर घटनास्थल जाँदा उल्टै ट्राफिकमाथि आक्रमण भएको र भागेर ज्यान जोगाउनुपर्ने अवस्था आएको उनले बताए ।

यसबारे अझ विस्तृत अनुसन्धान गर्न सीसीटीभी फुटेजहरु हेर्न सुरु गरिएको एसपी विष्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?