+
+

डीडीसी र ठूला उद्योगको मारमा किसान, २ अर्ब बढी बक्यौता

चितवन रत्ननगरका नरबहादुर डाँगीका अनुसार अहिले दूधको पैसा समयमा नपाउँदा अवस्था नाजुक भएको छ । दुई वर्षअघि सुरु गर्दा केही समस्या थिएन । तर, अहिले धेरै नै समस्या भएको छ, यस्तै अवस्था रही रहे गाईभैंसी बेचेर खाडी भासिनुपर्ने अवस्था आउन सक्छ ।  

अमृत चिमरिया अमृत चिमरिया
२०८१ साउन ३१ गते १९:५२
तस्वीर : हेटौंडा उपमहानगरपालिका–१४ स्थित मुक्तिनाथ एकीकृत कृषि फर्म सञ्चालक गीता अधिकारी ।

३१ साउन, काठमाडौं । चितवन रत्ननगर नगरपालिका सुन्दरचोकका स्थानीय किसान नरबहादर डाँगी फार्ममा भएको गाईभैंसी बेच्ने तरखरमा छन् ।

प्रत्येक महिना अन्तिममा नजिकै रहेका किराना पसलेहरू फार्म आएर पैसा माग्न थालेपछि डाँगीलाई आपत परेको छ ।

यसको कारण हो डाँगीले बेचेको दूधको पैसा नपाउनु । ११ भैंसी र ७ गाई पालेका उनले तीन महिनाको बक्यौता ९ लाखभन्दा धेरै लिन बाँकी छ ।

‘चार वटा जति पसलका मान्छे ढुटो चोकरको पैसा लिन आइसके । टोल छिमेकमा पनि सापटी मागेको छु । यत्रो फार्म चलाउँदा नि पैसा खेलाउन पाएको छैन । दुधको पैसा समयमा आउने हो भने सबै ठिक हुन्थ्यो,’ डाँगीले भने ।

उनले अहिले दूधको पैसा समयमा नपाउँदा अवस्था नाजुक भएको बताए । दुई वर्ष अगाडि सुरु गर्दा केही समस्या थिएन । तर,  अहिले धेरै नै समस्या भएको  बताए । ‘यही हो भने भएको गाईभैंसी बेचेर खाडी जानुपर्छ,’ डाँगीले भने ।

हेटौंडा उपमहानगरपालिका–१४ स्थित मुक्तिनाथ एकीकृत कृषि फर्म सञ्चालक गीता अधिकारीको तीन महिनाको १ लाख २० हजार रुपैयाँ दूध बिक्रीको पैसा रोकिएको छ ।

स्थानीय कृषि सहकारीबाट ऋण लिएर दाना, ढुटो, चोकर खरिद गरेर आधा दर्जन गाईलाई खुवाउँदै आएको अधिकारी बताउँछिन् । उनलाई घर खर्चभन्दा पनि ऋणको साँवा तिर्न नसकेकोमा बढी चिन्ता छ । ‘घर खर्च त जसरी पनि चलाउँथे । दाना, चोकर किनेकै ऋणको साँवा तिर्न सकेको छैन,’ उनले भनिन् ।

काभ्रेका अगुवा किसान नारायण नेपाल दूधको बक्यौता रकम भुक्तानी नहुँदा पूरै जिल्लाका किसान समस्या रहेको बताए ।

‘भुक्तानी नहुँदा किसानलाई दैनिकीमै समस्या छ, अहिले ढुटो किन्ने पैसा पनि छैन, एउटा पसलबाट उधारोमा लिएको पत्याउन छाडेपछि अर्को पसलमा जान परेको छ,’ नेपालले अनलाइनखबरसँग भने ।

नेपालको मात्रै ११ हप्ताको पैसा लिन लिन बाँकी छ । उनले आफू जस्तै सयौँ किसान समस्यामा रहेको बताए ।

‘दूधको रकम भुक्तानी गर्न एक हप्ता भनेर १५ दिन छुट्याएको हुन्छ । केही साथीको २० हप्ताभन्दा बढी रकम बक्यौता भइसक्यो,’ नेपालले भने ।

‘अन्य स्थानको त थाहा छैन, तर काभ्रेमा कतिपय सहकारीले ऋण लिएर भए पनि किसानको दैनिकी चलाउन सहयोग गरिरहेका छन् । हामीले दूग्ध सहकारी मार्फत डीडीसी र डेरी उद्योगहरूलाई बेच्ने गर्छौं ।’

मकवानपुरगढी गाउँपालिका–६ का किसान विष्णु ढकालले स्थानीय उज्वल दुग्ध उत्पादक सहकारीलाई बिक्री गरेको दूधको १ लाख ७५ हजार रुपैयाँभन्दा बढी रकम लिन बाँकी छ ।

चैत २०८० मा पहिलो किस्ता लिएपछि उनले दूध बिक्री बापत पैसा नपाएको गुनासो गरे । दुइटा गाईको दूध बेचेर घर खर्च चलाउँदै आएका ढकालले अब खर्च धान्न मुस्किल परिसकेको छ ।

‘चार–पाँच महिना भइसक्यो । दूधको पैसा आएको छैन् । १ लाख ७५ हजार भइसक्यो लिन बाँकी । घरमा नुन, तेल बन्द हुने बेला भयो,’ उनी गुनासो गर्छन् ।

ढकालले गाईभैंसी पालनभन्दा अर्को कुनै पेसा–व्यवसाय नगरेकाले समस्यासँग जुध्नुको विकल्प नभएको सुनाए ।

हेटौंडा–११ का भीमसेन हुमागाईंको घर खर्च पनि दूध बिक्रीबाट प्राप्त  आम्दानीको भरमा छ । तर, उनले दुई महिनादेखि पैसा नपाएको गुनासो गरे । ‘दूधको फारम माग्न जाँदा बिक्री गरेको ठाउँबाटै नआएकाले दिन नसकेको भन्छन् । हामीलाई घर चलाउन गाह्रो परिरहेको छ । राज्यले पनि यसमा धेरै चासो दिएन कि जस्तो लाग्छ,’ उनले सुनाए ।

मकवानपुरगढी–५ का लक्ष्मण दाहालले स्थानीय जनजागृति बहुद्देश्यीय सहकारी संस्थामा दैनिक १५ लिटर दूध बिक्री गर्ने गर्छन् । उनले जेठयता दूध बिक्री बापत पैसा नपाएको गुनासो गरे ।

७० हजारभन्दा बढी रकम संस्थासँग लिन बाँकी रहेको उनको भनाइ छ । लक्ष्मणलाई पनि अन्य किसान जस्तै घर खर्च चलाउन धौधौ पर्न थालिसकेको छ । दूधको पैसा रोकिएपछि घरमा चुल्हो बल्न छाडेको जस्तो हुने दाहाल सुनाउँछन् ।

डेरी उद्योगको बक्यौता १ अर्ब ६ करोड 

डेरी उद्योग संघ नेपाल अन्तर्गत हालसम्मको बक्यौता १ अर्ब ६ करोड ३३ लाख ६९ हजार रुपैयाँ पुगेको छ ।

‘असार मसान्तसम्मको तथ्यांक अनुसार यति रकम भए पनि धेरै जस्तो उद्योग नियमित छन्,’ संघका एक पदाधिकारी भन्छन् ।

उनका अनुसार अहिले केही ठूला डेरी उद्योगले पैसा नतिर्दा समस्या भएको हो । ‘सुजल डेरीजस्ता ठूला उद्योगले करोडौं तिर्न बाँकी छ । यसले गर्दा पनि निजी उद्योगले भुक्तानी नदिएको देखिन्छ,’ ती पदाधिकारीले भने, ‘समग्रमा केही ठूला उद्योगल ठूलो रकम नतिर्दा समस्या भएको हो । मझौला तथा साना डेरी उद्योगमा खासै समस्या छैन ।’

डेरी एसोसिएन नेपालले भने डेरीहरूले पैसा बक्यौता नराखेको जनाएको छ ।

‘हाम्रो एसोसिएसन अन्तर्गत रहेका डेरीमा भुक्तानीको समस्या छैन । अधिकांश नियमित छन् । समस्या ठूला डेरी उद्योगमा हो,’ अध्यक्ष प्रल्हाद दाहाल भन्छन्, ‘केही डेरीको बक्यौता रहेको छ, तर उनीहरूले बक्यौता नतिर्दा सबै उद्योगलाई ट्याग लागिरहेको छ ।’

दाहालका अनुसार एसोसिएसनमा ३ सय बढी डेरी उद्योग आबद्ध छन्  ।

दुग्ध उत्पादक सहकारी संघ केन्द्रीय अध्यक्ष अमरबहादुर कुँवरले राज्यकै कारण किसान समस्यामा परेको बताए ।

‘अहिले राज्यले यो–यो उद्योग र दुग्ध विकास संस्थान (डीडीसी) लाई भुक्तानी दिन लगाएर नियमित गर्ने हो भने समस्या नै हुँदैन,’ उनले भने, ‘अहिले सहकारीलाई पैसा नदिने पनि ठूला उद्योग नै धेरै छन् । त्योभन्दा धेरै त डीडीसी नै छ ।’

डीडीसीको बक्यौता १ अर्ब ३८ लाख

डीडीसीका निमित्त महाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीका अनुसार अहिले किसानलाई डीडीसीले १ अर्ब ३८ लाख रुपैयाँ तिर्न बाँकी छ ।

‘पछिल्लो समय बिस्तारै बक्यौता घटाउँदै लगेका छौं । उत्पादन र बजारको तालमेल नमिल्दा धेरै दूधको प्रशोधित उत्पादन स्टक थियो,’ अधिकारीले भने ।

उनका अनुसार नेपालमा वार्षिक करिब २६ लाख टन दूध उत्पादन हुन्छ । दूध उत्पादन अनुसार माग नहुँदा डेरी उद्योग र डीडीसीले प्रशोधन गरेर पाउडर दूध र मखन बनाउनु परिरहेको छ ।

‘गत आर्थिक वर्ष मात्रै हामीले १ करोड ७० लाख लिटर दूध प्रशोधन गरेर पाउडर मखन बनायौं । त्यसको रकम त होल्ड हुने नै भयो । त्यसरी थपिएको बक्यौता प्रत्येक दिन जसो लिज गर्दा पनि महिनाको ५ दिन जतिको रकमको दायित्व थपिँदै जान्छ,’ अधिकारीले भने ।

डीडीसीका अनुसार मखन अब बिक्री हुन्छ । घिउको सिजन आउने हुँदा अब तिहारसम्म ४ लाख किलो घिउ बिक्री हुने अनुमान  छ । ‘स्टक कटेपछि किसानको भुक्तानी तीव्र हुन्छ । डीडीसीले दैनिक १ करोडको व्यापार गर्दा सबै खर्च खटाएर करिब ८० लाख जति अहिले  पनि सहकारी मार्फत किसानलाई पैसा दिइरहेको छ,’ अधिकारीले भने ।

नेपालमा दूधजन्य पदार्थ खपत बढ्न नसक्दा बजार नपाइरहेको उनले बताए । ‘हाम्रो उत्पादन अनुसार बजार नै बनाउन सकिएको छैन । त्यसकारण खपत नभएको हो । खपत नहुँदा कन्भर्जन गर्नुपर्छ, कन्भर्जन गरेको दुग्धजन्य पदार्थ नबिक्दा पैसा हुँदैन । चेन नै रोकिन्छ,’ उनले भने ।

किसानको दूधको बक्यौता रकम भुक्तानी नदिएको विषयमा राष्ट्रिय किसान आयोगले पनि ध्यानाकर्षण गराएको छ ।

आयोगकी प्रवक्ता जीवन्ती पौडेलका अनुसार किसानको बक्यौता राख्ने उद्योग र डीडीसीलाई पत्र लेखेर कति रकम भन्ने विवरण माग गरेर बैठक डाक्ने तयारी छ ।

‘किसानको समस्याबारे हामीले बारम्बार भन्दै आएका छौं । यो पटक पनि भनेका छौं । छिट्टै बैठक राखेर यसबारे थप ध्यानाकर्षण गराउँछौं,’ पौडेलले भनिन् ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?