+
+

प्रचण्ड–जनार्दन टकराव अन्त्यको संकेत

‘प्रभाकरजीले नेतृत्वलाई सिध्याउन खोजेको होइन, बलियो बनाउन चाहेको हो भन्नुभएको छ’, स्थायी समिति बैठकमा प्रचण्डले भने, ‘नेतृत्व हस्तान्तरणबारे पनि केन्द्रीय समितिमा बहस गरौं ।’

राजकुमार श्रेष्ठ राजकुमार श्रेष्ठ
२०८१ साउन ३१ गते २०:४०

३१ साउन, काठमाडौं । माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच देखिएको टकराव अन्त्यको संकेत देखिएको छ । प्रचण्ड स्वयंले शर्मासँग घनीभूत छलफल गर्ने प्रतिबद्धता मात्र जनाएका छैनन्, आवश्यक परे पार्टीले सानो टिम बनाएर सघाउनुपर्ने समेत बताएका छन् ।

फागुन २०८० मा भएको विधान महाधिवेशनसँगै प्रचण्ड र शर्माबीच दूरी बढेको थियो । उपमहासचिव शर्माले अध्यक्षसहित सबै पदाधिकारी महाधिवेशनको हलबाट चुनिनुपर्ने मत राखेका थिए । त्यसलाई लिएर पार्टी नेतृत्वले आफू र निकट नेताहरुलाई जिम्मेवारी नदिएको गुनासो शर्माले गर्दै आएका थिए ।

२५ साउनमा सुरु भएको स्थायी समिति बैठकमा शर्माले लिखित मत राखेर प्रचण्डमाथि गम्भीर प्रश्न उठाएका थिए । प्रतिशोध साँध्न पार्टीभित्र राज्य शक्तिको प्रयोग गर्न खोजेको, बालुवाटारबाटै आफूले पार्टी फुटाउन खोजेको भनेर प्रचार गरेको उनको आरोप थियो ।

साथै पार्टी निर्माणका लागि नेतृत्व हस्तान्तरण गर्नुपर्ने निष्कर्षका साथ तीन विकल्प अघि सारे । संगठनको नेतृत्व प्रचण्डले चाहेको व्यक्तिलाई, तेस्रो पुस्तालाई दिने वा प्रत्यक्ष निर्वाचनबाट चुन्ने उनको प्रस्ताव थियो ।

उनको प्रस्तावले पार्टीभित्र निकै तरंग ल्यायो । बिहीबार जवाफ दिने क्रममा प्रचण्डले लिखित मत बाहिर चुहाएकोमा असन्तुष्टि जनाए, तर अरु विषयमा चर्को प्रतिवाद समेत गरेनन् ।

एक नेताका अनुसार उनले पार्टीको वैचारिक विषयबारे शर्माले उठाएको विषयलाई समेटेर जाने बताएका छन् भने नेतृत्वबारे पनि केन्द्रीय समितिमा बहस गर्ने आश्वासन दिए । ‘प्रभाकरजीले नेतृत्वलाई सिध्याउन खोजेको होइन, बलियो बनाउन चाहेको हो भन्नुभएको छ’, स्थायी समिति बैठकमा प्रचण्डले भने, ‘नेतृत्व हस्तान्तरणबारे पनि केन्द्रीय समितिमा बहस गरौं ।’

आफू र शर्माका बीचमा केही आशंका र भ्रम रहेको भन्दै उनले त्यसलाई चिर्नुपर्ने बताए । ‘उहाँ र म घनीभूत छलफल गर्छौं, आवश्यक पर्‍यो भने त्यसमा पार्टीले पनि मद्दत गर्नुपर्छ’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक स्थायी समिति सदस्य भन्छन्, ‘कार्यालयको तर्फबाट एउटा सानो टिम बनाएर पनि जान सकिन्छ ।’

उपमहासचिव शर्माले पार्टी फुटाउन लागेको भनेर चलेको भ्रम चिर्नुपर्ने पनि प्रचण्डले बताए । बैठकबाट बाहिर निस्कने क्रममा प्रचण्ड आफैंले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिए, ‘कतिपय सन्दर्भमा आशंका र भ्रम पनि भए । यो बैठकसम्म आउँदा सबै भ्रम चिरिएको छ । खासगरी कमरेड प्रभाकरले पार्टी फुटाउँछ भने जस्तो जो माहोल बनेको छ, यो विकल्प गलत हो ।’

कतिपय बेला आफूले ठट्टा गरेको विषयले समेत गम्भीर रुपमा लिएको भन्दै प्रचण्डले आफूले त्यसलाई सुधार (करेक्सन) गर्ने समेत बाचा गरेका छन् । यसले पार्टी एकतावद्ध भएको सन्देश गएको माओवादी नेताहरु बताउँछन् ।

‘पार्टीलाई एकताबद्ध नगरी कहीं पुगिंदैन भन्ने निष्कर्षमा पुगेपछि शर्मासँगको असमझदारी हल गर्नु अनिवार्य थियो’, एक स्थायी समिति सदस्य भन्छन्, ‘आजको बैठकमा अध्यक्ष प्रचण्डले त्यसको संकेत गर्नुभएको छ ।’

नेताहरुका अनुसार कार्यान्वयन कसरी हुन्छ भन्ने हेर्न बाँकी छ । विगतमा पनि राम्रो छलफल हुने, तर निष्कर्ष चाहिं कार्यान्वयन नहुने समस्या देखिएको भन्दै एक पदाधिकारी भन्छन्, ‘कार्यान्वयनको आशंका त अहिले पनि कायमै छ ।’

ओलीले झुक्याए

जवाफ दिने क्रममा प्रचण्डले कांग्रेसलाई छाडेर एमालेसँग गठबन्धन गर्दा कमजोरी भएको स्वीकार गरेका छन् । एक स्थायी समिति सदस्यका अनुसार सुरुमा कांग्रेस छाडेर एमालेसँग मिलेर सरकार बनाउने र राष्ट्रपति निर्वाचनका बेला फेरि कांग्रेससँग गठबन्धन गर्नुलाई उनले सही ठहर्‍याएका छन् ।

कांग्रेससँग मिलेर चुनाव लडेका प्रचण्ड १० पुस २०७९ मा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए । कांग्रेस समझदारी विपरीत गएकाले त्यसो गर्नु परेको उनको स्पष्टीकरण छ । दुई महिना पुगदा नपुग्दै गठबन्धन फेर्नुलाई उनले एमालेले एकलौटी गर्न खोजेकाले बाध्य भएको तर्क गरे । उनले भने, ‘संवैधानिक निकायमा कांग्रेसलाई माइनस गरेर जान सक्ने स्थिति थिएन ।’

प्रचण्डले २१ फागुन २०८० मा कांग्रेसलाई छाडेर फेरि एमालेसँग गठबन्धन गरेका थिए । त्यसबेला पनि आफ्नो नियत गलत नभएको प्रचण्डको दाबी छ । तर एमालेको मूभ बुझ्न नसकेको र मनोगत भएको भन्दै उनले भने, ‘ओलीले झुक्याए ।’ यसको अर्थ वामपन्थी ध्रुवीकरणको बाटो नै सकियो भन्ने नभएको प्रचण्डले बताएका एक स्थायी समिति सदस्यले जानकारी दिए ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल भइरहेको उनले सुनाए । नेत्रविक्रम चन्द विप्लवको पार्टीसँग एकता गर्न सहज भएको, तर संगठन व्यवस्थापन चुनौतीपूर्ण भएको प्रचण्डले जानकारी दिएका छन् ।

डा. बाबुराम भट्टराई नेतृत्वको नेपााल समाजवादी पार्टीबाट अलग भएका महिन्द्र राय यादव र गंगानारायण श्रेष्ठ समूहसँग पनि एकताको तयारी रहेको उनले बताए ।

आन्दोलनको सम्भावना बढ्यो

माओवादी अध्यक्ष प्रचण्डले सदन, सडक र १२२ पालिका (माओवादीले जितेको) महत्वपूर्ण मोर्चा भएको बताएका छन् । संसदमा सशक्त भूमिका खेलिरहेको भन्दै उनले १२२ पालिकामा पनि मोडलका रुपमा काम गर्न सक्नुपर्ने बताए ।

सडकमा अब आन्दोलनको सम्भावना बढेको भन्दै उनले भने, ‘त्यसका लागि हामीले राम्रो तयारी गर्नुपर्छ । अरुको हातमा नेतृत्व पुग्यो भने दुर्भाग्यपूर्ण हुन्छ ।’

नेतृत्व रुपान्तरणबारे नेताहरुले उठाएको विषयलाई पनि उनले सम्बोधनको प्रयास गरेका छन् । रुपान्तरण भनेर मात्र नहुने भन्दै उनले कार्यान्वयन हुनसक्ने आचार संहिता बनाउनुपर्ने धारणा राखे । ‘रुपान्तरण हुनुपर्ने कुन कुन विषय हो भन्नुस्, म तयार छु’, प्रचण्डले स्थायी समिति बैठकमा भनेका छन् ।

प्रचण्डको जवाफसँगै प्रदेशस्तरीय बैठकको मिति तय गर्दै स्थायी समिति बैठक सकिएको छ । उपाध्यक्ष अग्नि सापकोटाका अनुसार सात प्रदेशका साथै जनवर्गीय संगठन, आयोगहरुको विस्तारित बैठकमा उपमहासचिव सम्मका नेताहरु सहभागी हुनेछन् । ‘बैठकहरुमा केन्द्रको निर्णय पनि सम्प्रेषण गर्छौं, उहाँहरुलाई पनि सुन्छौं’, सापकोटाले भने ।

भदौभर हुने त्यस्ता बैठकहरुबाट आएका सुझावलाई समेत समेटेर प्रचण्डले लिखित प्रस्ताव तयार पार्नेछन्, जुन असोज पहिलो साता बस्ने केन्द्रीय समिति बैठकमा पेश हुनेछ ।

लेखकको बारेमा
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका सहायक सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?