+
+

मेघौली थारू होमस्टेले बदलेको जीवन

सुवास पण्डित सुवास पण्डित
२०८१ साउन ३२ गते १८:०१

३२ साउन, चितवन । पश्चिम चितवनको मेघौलीका वेदकुमार महतोले ७ वर्ष मलेसियामा पसिना बगाए । विदेश जाने लहर चलेका बेला मलेसिया हानिएका उनलाई गाउँमा होमस्टे सुरू हुन थालेपछि श्रीमती सोमकुमारी महतोले घर मै फर्किन आग्रह गरिन् ।

महतोलाई पनि लाग्यो–अरुको देशमा कडा परिश्रम गर्नुभन्दा घरपरिवारसँग नै बसेर होमस्टे चलाउने, दुःखजिलो गर्ने ।

महतो गाउँ फर्किंदा ५ वटा घरमा होमस्टे सुरु भएको थियो । २०७४ मा गाउँ फर्किएका महतोले अर्को वर्षदेखि श्रीमतीसँग मिलेर २ वटा कोठाबाट होमस्टे सुरु गरे । अहिले ५ वटा कोठामा निर्माण गरेका छन् । दुईवटा कोठा वातानुकुलित पनि छन् । उनको होमस्टेमा एक रातमा १५ जना बस्न सक्छन् ।

वैदेशिक यात्रा टुंग्याएर होमस्टे चलाउन भन्दै स्वदेश फर्किएका वेदकुमार अहिले श्रीमतीको सल्लाहमा आफूले सही निर्णय लिएकोमा खुसी छन् । उनलाई अहिलेसम्म पछाडि फर्किनुपर्ने अवस्था आएको छैन ।

पाहुना आएकाबेला उनीहरुको स्वागत सत्कारमा व्यस्त हुने वेदकुमार अरु बेला खेतबारीमा भेटिन्छन् । पाहुनालाई मिठो मिठो हाँस, माछाका परिकार पकाउन खुवाउन र त्यसकै व्यवस्थापनमा उनको दिन बित्ने गर्दछ ।

भरतपुर महानगरपालिका-२७ मेघौलीमा रहेको थारु होमस्टे चितवन कै पहिलो सामुदायिक होमस्टेमा पर्दछ । केही वर्ष अगाडिसम्म सडक बिग्रिएको कारणले मानिसहरु हत्तपत्त मेघौली जान खोज्दैनथे ।

तर, अहिले मेघौली जान पनि निकै सजिलो छ । भरतपुरबाट मंगलपुर, रामपुर, शारदानगर, चनौली, ज्योतिनगर मेघौली विमानस्थल पुग्न सकिन्छ । त्यसमाथि विमानस्थलको छेउमै होमस्टे छ । सडक पुरै पिच छ । पहिला जस्तो घण्टौं लगाएर जानुपर्ने बाध्यता छैन ।

३० मिनेटमा सजिलैसँग भरतपुरबाट पुग्न सकिने मेघौलीमा सूर्यास्तको दृश्य नियाल्न स्थानीय तथा बाह्य पर्यटक आउने गर्दछन् । फराकिलो भएर बगेको नदी र परपरसम्म कुनै मानवीय बस्ती र भौतिक संरचना नभएका कारण यहाँबाट सूर्यास्त पनि निकै गज्जब देखिन्छ । पश्चिम चितवनको अन्तिम बिन्दु रहेको हुनाले गोलाघाटभन्दा तल कुनै बस्ती छैन ।

चितवनको प्रमुख पर्यटकीय गन्तब्यका रुपमा रहेको मेघौलीमा घुम्न आउने पर्यटकहरू होमस्टेमा बस्ने गर्दछन् । यहाँ अहिले ७ घरमा होमस्टे चलिरहेको छ । जीवन महतो, डम्बर महतो, सोमलाल महतो, रुश्मा महतो र आशाराम महतोले ०६७ माघ १४ गतेदेखि नै होमस्टे सुरु गरेका हुन् भने वेदकुमार र बाबुरामले २०७५ सालदेखि होमस्टे सुरु गरेका हुन् ।

वेदकुमार महतो

सोमलालले ६, जीवनले ७, वेदकुमारले ५, डम्बरले ३, बाबुरामले २ आशारामले २ र रुश्माले २ वटा होमस्टे चलाएका छन् । एक होमस्टेमा ३ जनासम्म बस्न मिल्छ । होमस्टे ७ घरमा चले पनि अन्य वरपरका समुदाय पनि होमस्टेसँग कुनै न कुनै रुपमा जोडिएका छन् ।

होमस्टेमा आउने पाहुनाले खाने हरियो तरकारीको उत्पादन गर्ने, हाँस पालेर होमस्टेमा ल्याएर बेच्ने, माछा पाल्नेलगायत काममा समुदायका अन्य मान्छेहरू पनि जोडिएका छन् ।

अहिले होमस्टेमा एकै रातमा ६० जनासम्म पर्यटक राख्न सक्ने क्षमता रहेको वेदकुमारले बताए । शुक्रबार र बिदाको दिनमा अन्य दिनमा भन्दा बढी पाहुना आउने उनी सुनाउँछन् । वर्षमा १ हजारभन्दा बढी पर्यटक होमस्टेमा बस्ने आउने सञ्चालक बताउँछन् ।

राप्ती र नारायणी नदीको संगम भरतपुर–२८ स्थित गोलाघाटमा सूर्यास्तको सुन्दर दृश्य हेर्न, यहाँका थारु बोटे, मुसहरहरूको रहनसन र भेषभुषा अवलोकन गर्न, जीप सफारी गरेर जंगल सफारी गर्न तथा मौलिक खानाका स्वाद लिने आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गरेका छन् । मैघोलीमा ठूला लगानीका महंगा होटलहरुको काखैमा रहेको होमस्टे सवैका लागि सर्वसुलभ छन् ।

यहाँ बस्ने पर्यटकसँग एक रात बसेको र खाएको ९ सय रूपैयाँमा लिने गरिन्छ । विदेशीलाई भने १७ सय लिने गरिन्छ । साँझमा बस्न आएका पाहुनाले बेलुकाको खाना, बसेको कोठाको र बिहानको खाजा प्याकेजमै हुन्छ ।

लोकल हाँस, घोंगी, चिचर, लोकल माछाका परिकारहरु पाहुनालाई खुवाउन गरिन्छ । साँझ आउने पाहुनाको समूहले माग गरेमा थारु जातिका विभिन्न नाच पनि प्रस्तुत गर्ने गरिन्छ । आफ्नो परम्परागत भेषभुषा र पहिरनमा सजिएर थारु पुरुष तथा महिलाहरुले पर्यटकहरुलाई मनोरञ्जनसमेत दिने गर्दछन् । परम्परागत लठ्ठी नाच, झम्टा नाच, झुमरा नाच, डम्फु नाच जस्ता मौलिक नृत्य हेर्न पाउँछन् ।

त्यसवापत सो समूहलाई ३ हजार रुपैयाँ दिनुपर्छ । आवश्यकता अनुसार बोटे समुदायको संस्कृति पनि देखाउन सकिने महतोले बताए । भरतपुर महानगरपालिकाले गत वर्ष मात्रै थारु जातिको सांस्कृतिक भेषभुषा झल्कने पहिरन तथा अन्य विभिन्न सामग्रीहरु खरिद गरेर दिएको थियो ।

सामान्य खेतीपाती गरेर जीवन गुजारेका यहाँका थारु समुदायलाई होमस्टेले घरमै बसेर राम्रो आम्दानीसमेत गर्न थालेका छन् । जसले गर्दा जीवनमा परिवर्तन आएको उनीहरु बताउँछन् । ‘एकातिर घरमा परिवारसँगै बसेर सुखदुःख गर्दै आम्दानी पनि गर्न सकिएको छ, अर्कोतिर आफ्नो गाउँठाँउको साथसाथै थारु जातिको संस्कृृति र परम्पराको संरक्षण पनि भइरहेको छ’, महतो भन्छन्, ‘परम्परागत कृषिमा निर्भर हुनुपर्ने अवस्थाबाट थोरै भए पनि मुक्ति मिलेको छ ।’

थारू जातिको पुराना संस्कृतिलाई जोगाउने बनाइएको संग्राहलय हेर्न पनि पाहुनाहरु इच्छुक हुने गर्दछन् । राधाकृष्ण सामुदायिक वनभित्र बन्दै गरेको राइनो पार्क पनि पर्यटकहरुका लागि अर्को केन्द्र बन्न सक्छ ।

पर्यटकहरुको चहलपहल बढ्न थालेपछि होमस्टे सञ्चालकहरुले लगानी पनि बढाउँदै पाहुनाहरूलाई सुविधासमेत थप्न थालेका छन् । महतोले अहिलेसम्म ३५ लाख रूपैयाँ होमस्टेमा लगानी गरेको बताए । होमस्टेबाट नै कमाएको रकम त्यसमै लगानी गर्दै गएको उनको भनाइ छ ।

महतोले अहिले महिनामा कम्तीमा पनि २५ देखि ३० हजार रुपैयाँ खर्च कटाएर जोगाउने गरेका छन् । पहिला सामान्य साँघुरो कोठामा खडाइले बारेर बनाइएका कोठाहरु थिए तर अहिले कंक्रिटको ब्लक लगाएर कोठा बनाई माटोले पोतेका ब्लकहरु बनाइएको छ ।

सुविधा थपिएसँगै पाहुनाहरु पनि बढ्न थालेका छन् । यहाँ आउने पर्यटकलाई प्रत्येक घरमा आलोपालो गरेर राख्ने व्यवस्था मिलाइन्छ । अघिल्ला अघिल्ला वर्ष बर्खामा खासै पाहुनाहरु नभए पनि यस वर्ष भने पाहुनाको संख्या टुटेको छैन ।

यहाँ काठमाडौँ, पोखरा, बुटवल लगायत विभिन्न देशबाट समेत पर्यटक आउने गर्दछन् । होमस्टेमा बसेका पाहुनाले जंगल सफारीको चाहाना राखे राधाकृष्ण सामुदायिक वन र सदाबहार सामुदायिक वनमा जंगल सफारीकोसमेत व्यवस्था मिलाइएको छ । जंगल सफारी गर्दा विश्वकै दुर्लभ एक सिंगे गैंडा, बाघ, बँदेल, मृग, विभिन्न चराचुरुंगीहरु देख्न सकिन्छ ।

थारु सामुदायिक होमस्टेका अध्यक्ष सोमलाल महतोले युवापुस्ताहरु गाउँ नै फर्किएर होमस्टे चलाउन थाल्नु आफूहरुका लागि सुखद कुरा भएको बताउँदै यसलाई अझै बढी व्यवस्थित र सुविधायुक्त बनाउनुपर्ने बताए । न्यानो आतिथ्यका माध्यमबाट गाउँघरका परम्परागत मौलिक संस्कृति, रहनसहन, उत्पादन तथा सेवाका कारण पर्यटकले होमस्टे रोज्न थालेको महतोले बताए ।

अध्यक्ष महतोले जिल्लाकै पहिलो होमस्टे भए पनि अपेक्षाकृत विकास भने गर्न नसकिएको बताए । राज्यले पनि खासै सहयोग नगरेको उनको गुनासो छ । भरतपुर भ्रमण वर्ष मनाइरहेका सन्दर्भमा यसका प्रचारप्रसार र लगानीमा भरतपुर महानगरपालिकाले ध्यान दिनुपर्ने उनी बताउँछन् ।

उनले होमस्टे सञ्चालनका लागि पर्याप्त तालिमसमेत दिन नसकिएको बताए । ‘पहिलाभन्दा धेरै राम्रो त भएको छ तर अपेक्षाकृत अझै छैन, विगतमा बाटोघाटो कै समस्या थियो, खानेपानीको समस्या थियो, अहिले त्यो अवस्था छैन’, अध्यक्ष महतो भन्छन्, ‘जग्गाको अभावका कारण कार्यक्रम गर्ने हलको अहिले समस्या छ । डाइनिङ हलहरु पनि बनाउनुपर्ने छन् ।’

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?