+
+

खेलाडीले पाएनन् बागमती सरकारले २ वर्षअघि घोषणा गरेको पुरस्कार

नवीन तिमल्सिना नवीन तिमल्सिना
२०८१ साउन ३२ गते ९:२५

३२ साउन, हेटौंडा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेतासहित खेलाडीले बागमती प्रदेश सरकारसँग २ वर्षअगाडि नै घोषणा भएको पुरस्कार रकम माग गरेका छन् । टोलीले बिहीबार प्रदेश खेलकुदमन्त्री मीनकृष्ण महर्जनलाई ध्यानाकर्षण पत्र बुझाउँदै पुरस्कार रकम माग गरेका हुन् ।

२८ असोजदेखि ३ कार्तिक २०७९ मा गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा बागमती प्रदेशले २४ स्वर्ण, ४७ रजत र ७४ वटा कास्य पदक जितेको थियो । प्रतियोगिताका पदक जितेका खेलाडीलाई प्रदेश सरकारले रकमसहित पुरस्कृत गर्ने घोषणा गरेको थियो ।

नवौं राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीलाई तत्कालीन खेलकुदमन्त्री रत्नप्रसाद ढकालको उपस्थितिमा प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको ७ पुस २०७९ मा बसेको बोर्ड बैठकले नगदसहित सम्मान गर्ने निर्णय गरेको थियो ।

बैठकले स्वर्ण विजेता खेलाडीलाई १ लाख, रजत विजेता खेलाडीलाई ७५ हजार र कांस्य पदक विजेता खेलाडीलाई ५० हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको थियो । तर, घोषणा भएको २ वर्षसम्म पुरस्कार रकम नपाएपछि बागमती प्रदेश सरकारको अगाडि भौँतारिएका हुन् ।

प्रत्येक २/२ वर्षमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिताको अर्को संस्करण नजिकिँदासमेत नवौं राष्ट्रिय खेलकुदमा पदक जितेका बागमतीका खेलाडी पुरस्कार रकम नपाएका हुन् । उनीहरुले आफूले पाएको पुरस्कार रकम पाउन बागमती प्रदेश सरकारको ढोका ढक्ढक्याउँदै छन् ।

‘१० औं राष्ट्रिय खेलकुद आइसक्यो, पहिल्यैको पुरस्कार रकम दिइएको छैन । त्यही रकम माग्न आएका हौं,’ बागमतीका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनको कार्यकक्षमा संघका केन्द्रीय सदस्य अजित गुरुङसहित पदक विजेता खेलाडीहरुले भने ।

राष्ट्रिय खेलकुद प्रतियोगिताको १०औं संस्करण यस वर्ष कर्णालीमा हुँदैछ । मंसिर २ देखि ९ गतेसम्म कर्णालीको वीरेन्द्रनगरमा हुने प्रतियोगिताको तयारी तीव्र छ । प्रतियोगिता आउन अब ३ महिना बाँकी छ ।

प्रतियोगिता सम्पन्न भएको लामो समयसम्म पनि पुरस्कार रकम प्राप्त नभएको विषयमा खेलाडीको बारम्बार गुनासो आइरहेको र पदक विजेता खेलाडीमा निराशाजनक अवस्था सिर्जना भएको संघका अध्यक्ष श्रेष्ठले बताए ।

२० साउन २०८१ मा काठमाडौंमा भएको एक कार्यक्रममा पनि खेलाडीहरुले पुरस्कार रकम दिलाइदिन मन्त्री महर्जनलाई अनुरोध गरेका थिए । त्यसको १० दिनसम्म पनि कुनै सुनुवाइ नभएपछि करिब ३० जनाको संख्यामा खेलाडीहरु बिहीबार हेटौंडा आएर मन्त्री महर्जनलाई लिखित ध्यानाकर्षण गराएका हुन् ।

मन्त्री महर्जनले खेलाडीहरु डेलिगेशन आइरहेको खबरपछि बिहीबार दिउसो नै मुख्यमन्त्री बहादुर सिं लामा र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेसँग भेट गरी खेलाडीको पुरस्कार रकम निकासाबारे छलफल गरेको जानकारी दिए ।

‘खेलाडीहरु डेलिगेशन आउने खबरपछि मैले मुख्यमन्त्री र अर्थमन्त्रीलाई भेटेर सबै कुरा भनिसकेको छु । उहाँहरु पुरस्कार रकम तत्काल उपलब्ध गराउन सकारात्मक हुनुहुन्छ’, उनले भने, ‘जसरी पनि पुरस्कार रकम दिलाउँछु ।’

खेलकुदमन्त्री महर्जन आफैं करातेका पूर्वअन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक हुँदै राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्षसमेत भइसकेका व्यक्ति हुन् ।

मन्त्री महर्जन र मन्त्रालयका सचिव रुद्रप्रसाद लामिछानेले तत्कालीन प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले विधि नपुर्‍याइ पुरस्कार रकम निकासाको लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा फाइल पेश गरेकाले खेलाडीले त्यति बेलै रकम पाउन नसकेको जानकारी दिए ।

परिषद्ले गत असार अन्तिममा मात्रै आएर २ करोड २४ लाख रुपैयाँ निकासा गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयमा फाइल पेश गरेको उनले बताए । २४ असारमा कार्यकाल सकिएर बिदा भएका भण्डारीले पदकअनुसार पुरस्कार रकमको विवरण उल्लेख नगरेकोलगायतका प्राविधिक कमजोरीले आर्थिक मामिला मन्त्रालयले रकम निकासाको सहमति नदिएको महर्जनले बताए ।

उनकाअनुसार एउटा स्वर्ण पदकका लागि एक लाख पुरस्कार रकम प्रस्ताव गर्नुपर्नेमा सदस्य सचिव भण्डारीले प्रतिखेलाडीका दरले रकमको प्रस्ताव गरेपछि अर्थले धेरै रकम निकासा दिन अस्वीकार गरेको थियो ।

५ असारमा मन्त्रालयको सचिवको जिम्मेवारी सम्हाल्न आएका लामिछानेले असार अन्तिममा अर्थले सहमति नदिएपछि प्रदेश मन्त्रिपरिषद्मा रकम निकासाको लागि प्रस्ताव पेश गर्न नसकिएको जानकारी दिए ।

लेखकको बारेमा
नवीन तिमल्सिना

तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?