+
+

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक फेरि आन्दोलित, पठनपाठन बन्द गर्ने चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३२ गते १०:३०

३२ साउन, हेटौंडा । बागमती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक आन्दोलित बनेका छन् ।

हेटौंडा अस्पताल सञ्चालनसहित फार्मेसी, बिएससी नर्सिङ, बिएससी ल्याबोरेटोरी मेडिसिन र पब्लिक हेल्थ अध्यापन गराउँदै आइरहेको प्रतिष्ठानका ३० जना प्राध्यापक पठनपाठन बन्द गराउने चेतावनी दिएर आन्दोलनमा होमिएका हुन् । प्राध्यापकहरुको यो दोस्रो आन्दोलन हो ।

यसअघि आन्दोलनमा होमिएका प्राध्यापकहरुसँग प्रतिष्ठानले १० मंसिर २०८० मा सहमति गरेको थियो । पुरानै सहमति कार्यान्वयनबाट पन्छिरहेको प्रतिष्ठानले हाल प्राज्ञिक क्षेत्रबाटै परीक्षा नियन्त्रक नियुक्ति गर्न छोडेर अधिकृत सातौं बाहिरबाट नियुक्त गर्न १४ साउन २०८१ मा दरखास्त आव्हान गरेपछि प्राध्यापकहरु पुनः आन्दोलनमा उत्रिएका हन् ।

प्राध्यापकहरुले प्राज्ञिक क्षेत्रबाटै परीक्षा नियन्त्रक नियुक्ति गर्न माग गरे । प्राध्यापक कल्याणकारी समिति, प्रतिष्ठानले २९ साउनमा प्रतिष्ठानका कार्यबाहक उपकूलपति तथा शिक्षाध्यक्ष प्राडा सुरेन्द्र शेरचनलाई खुलापत्र लेख्दै माग पूरा नभएको खण्डमा ‘कलम बन्द’ गरी चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिए ।

आन्दोलनरत् प्राध्यापकहरु हातमा कालो पट्टी बाँधेर काम गरिरहेका छन् । उनीहरुले बिहीबार प्रतिष्ठानको शैक्षिक भवनमा कालो ब्यानर राखेर विरोध प्रर्शन गरेका थिए । ११ भदौभित्र माग सुनुवाई गर्न अल्टिमेटम दिएको समितिले पठनपाठन बन्द गराउने चेतावनी दिएको अध्यक्ष सापकोटा बताउँछन् ।

करिब एकवर्ष अघिदेखि पटक–पटक मौखिक वा लिखितमार्फत् विभिन्न माग प्रस्तुत गरेको र प्रतिष्ठानको तर्फबाट आश्वासन मात्रै पाएको अध्यक्ष सापकोटाले बताए । एकवर्ष अघि प्राध्यापक कल्याणकारी समिति र प्रतिष्ठानबीच भएको सम्झौता कार्यान्वयन गर्न बेवास्ता गरेको उनको आरोप छ ।

सम्पूर्ण प्राध्यापकलाई, आफ्नै प्रतिष्ठानद्वारा ठगिएको र शोषित हुनु परेको अनुभूति हुन् थालेको मागपत्रमा भनिएको छ । ‘प्राध्यापक कल्याणकारी समितिले सम्पूर्ण पुराना मागलाई यथाशीघ्र पूरा गरियोस भन्ने अन्तिमपटक स्मरण गराउन चाहन्छौ‌ं,’ पत्रमा भनिएको छ ।

प्रतिष्ठानमा ३० जनाको संख्यामा रहेका प्राध्यापकमध्ये ७ जनाको मात्र स्थायी नियुक्ति भएको र बाँकी सबै करारमा कार्यरत छन् ।

प्रतिष्ठानको करार प्राध्यापक कार्यविधि नियमावलीमा ९१० (ग) मा ‘चिकित्सा शिक्षा आयोगको मापदण्डअनुसार प्रतिष्ठानलाई आवश्यक परेको खण्डमा नियुक्ति भएका शिक्षकको एक तहमाथिको पद प्रमाणीकरणको लागि योग्य भएको अवस्थामा माथिल्लो पदको लागि करार सम्झौता गरी करारको नवीकरण गरिनेछ’ भन्ने उल्लेख छ ।

तर, प्राध्यापकहरुको वृद्धि विकास र स्थायित्वमा प्रतिष्ठानले चासो नदेखाएको समितिको आरोप छ । ‘यस्ता प्रावधान हाम्रो कार्यविधिमा हुँदाहुँदै करारका योग्य प्राध्यापकको पदोन्नोतिमा बेवास्ता गरेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ मागपत्रमा भनिएको छ ।

प्रतिष्ठानको करार प्राध्यापक कार्यविधि नियमावली, चिकित्सा शिक्षा आयोग र राष्ट्रिय स्वास्थ्य सेवा परिषद्‌को मापदण्ड अनुसार शैक्षिक योग्यता, कार्यअनुभव र कृति प्रकाशनका आधारमा सम्पूर्ण करारका प्राध्यापकलाई यथाशीघ्र पदोन्नति गर्न पत्रमार्फत ध्यानाकर्षण गराइएको छ ।

प्रतिष्ठानमा कार्यरत शिक्षक सेवाशर्त र सुविधासम्बन्धी नियमावली २०७७ मा स्थायी प्राध्यापकको वृद्धिविकास तथा सेवासुविधामा एकदमै विभेद देखिएको उनीहरुको आरोप छ ।
‘प्राध्यापकका सेवासुविधालाई सम्बोधन गर्ने गरी उप–समितिको कार्यदलले तयार पारेको प्रतिवेदन संशोधन आगाडि प्राध्यापकसँग परामर्श नगेरेको प्रति हामी खेद प्रकट गर्दछौं’, मागपत्रमा भनिएको छ ।

‘प्राध्यापकलाई निरुत्साहित गर्ने गरी यस्ता किसिमका विवेधपूर्ण संसोधनप्रति खेद प्रकट गर्दै संसोधन गर्न लागेका यस्ता नियमावली हामीलाई स्वीकार्य नहुने जानकारी समेत यो पत्रमार्फत गराइन्छ’ मागपत्रमा उल्लेख गरिएको छ ।

अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकको लागि थप जिम्मेवारी दिँदा प्राध्यापनरत् समय नहेरिएको, लेख र कृति रचना नहेरिएको, एकपटकका लागि भनी पद प्रमाणीकरण गरिएको भन्दै प्राध्यापकहरुको सबै न्यूनतम योग्यता पुग्दा पनि पदोन्नति नगर्ने खालको विभेदपूर्ण नीति स्वीकार्य नहुने पत्रमार्फत्‌ जानकारी गराइएको छ ।

प्राध्यापकले गरेको अतिरिक्त कार्य परीक्षासम्बन्धी, पठनपाठन बाहेकका अतिरिक्त जिम्मेवारी, इन्धनसम्बन्धी अतिरिक्त भत्तामा समेत पारदर्शिता नभएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताइएको छ । ‘यी विषयमा केन्द्रित भई पछिल्ला बाँकी रहेका रकमको पनि यथाशीघ्र पारदर्शिता र भुक्तानी गर्नका लागि ध्यानाकर्षण गराउँदछौं,’ पत्रमा भनिएको छ ।

परीक्षाको गुणस्तरीयताको सम्बन्धमा, प्राध्यापकको टीओआर तथा वर्कलोर्ड सम्बन्धमा, प्रयोगशाला तथा पुस्तकको अभाव सम्बन्धमा, चारैतिर छरिएर रहेका शैक्षिक भवन र त्यसले विद्यार्थी तथा प्राध्यापकमा परेको असर सम्बन्धमा विभिन्न समिति र परिषद्‌मा प्राध्यापकको नियुक्तिको पूर्णताको सम्बन्धमालगायत थुप्रै उचित मागको सम्बोधनको लागि पनि प्राध्यापक कल्याणकारी समितिले अनुरोध गरेको छ ।

प्राध्यापकहरुले बुधबार कार्यवाहक उपकुलपति तथा शिक्षाध्यक्ष प्राडा शेरचनलाई भेटेर मागबारे छलफल गर्न खोज्दा उनले ठाडै अस्वीकार गरेको अध्यक्ष सापकोटाले बताए । शेरचनले ‘माग पूरा गर्न सक्दिनँ’ भनेर फोन काटेको उनले बताए ।

प्राडा विश्वराज जोशीको ४ वर्षे कार्यकाल सकिएपछि प्रतिष्ठान १५ साउनबाट उपकुलपतिविहीन छ । प्रतिष्ठानको कुलपति बागमती प्रदेश सरकारको मुख्यमन्त्री हुनेछन् । प्रतिष्ठानमा फार्मेसीमा १ सय ५० जना, बिएससी नर्सिङतर्फ ४० जना, बिएससी ल्याबोरेटोरी मेडिसिनमा ७० जना र पब्लिक हेल्थतर्फ ५० जना विद्यार्थी अध्ययनरत् छन् ।

प्रतिष्ठानले २०७८ बाट अध्यापन सुरु गरेको हो । बिएससी नर्सिङको पढाइ भने २०८० बाट सुरु भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?