+
+
विचार :

‘थोरै सन्तान जन्मनुमा सामाजिक अर्थ व्यवस्थाको भूमिका छ’

जनसंख्या कम हुन थालेको अनुभव हुनु यसमा सुधारको खाँचो छ भन्ने आभास हुनु हो । सर्वसुलभ गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा अनि मुलुकभित्रै रोजगारी सिर्जनामा केन्द्रित हुनुपर्छ । यसो भए दम्पतीहरूले विना चिन्ता आफ्नो र सन्तानको योजना बनाउन सक्छन् ।

डा. टीकाराम गौतम, समाजशास्त्री डा. टीकाराम गौतम, समाजशास्त्री
२०८१ साउन ३२ गते ११:४९

कुनै पनि मुलुकमा जनसंख्या कम हुनु, घरपरिवारको संख्या कम हुनु र कम सन्तान उत्पादनको प्रवृत्ति आउनुमा सामाजिक व्यवस्था, स्वरुप, आवश्यकताले ठूलो भूमिका खेल्ने गर्छ । जस्तो सामाजिक संरचना छ, सोही अनुसारका परिवारका आकारहरू निर्धारण हुने गर्छन् ।

प्रारम्भमा मानिसहरू समूहमा बस्थे । सोही स्वरुपमा उनीहरूको जीवन–चक्र चलिरहेको थियो । क्रमशः मानिस ठूलो र संयुक्त परिवारबाट टुक्रिन थाले । जंगलको घुमन्ते वासस्थान अब घरमा परिणत हुन थाल्यो । यसरी धेरै ठूला र संयुक्त परिवारहरू छुट्टिन थाले र सानो संयुक्त परिवारमा केन्द्रित भयो ।

यो प्रवृत्ति अब सानो परिवार र हुँदाहुँदा एकल परिवारमा सीमित हुन पुगेको छ । कतै–कतै त विवाह नै नगरी एकल जिन्दगी नै बिताउने गरी परिवारमा एक मात्र सदस्य बस्ने प्रवृत्ति समेत देखिन्छ । यो संसारभरकै प्रवृत्ति हो ।

यूरोप, अमेरिका, चीन, जापान वा कोरिया जहाँको पारिवारिक संरचना अध्ययन गर्दा पनि परिवार बन्ने प्रवृत्ति उस्तै देखिन्छ । यसै प्रवृत्तिबाट नेपाल पनि अगाडि बढिरहेको हो । हामी विश्व समाजबाट अलग छैनौं ।

नेपालमा कुनै बेला ६/७ जनासम्म रहेको जन्मदर ३/४ हुँदै अहिले १ वा २ मा झरेको छ । यस्तै प्रवृत्तिले शून्य सन्तान उत्पादनको दरमा पनि जान सक्ने सम्भावनालाई नकार्न सकिन्न । चीनमा लामो समय यो प्रवृत्ति देखिएको हो ।

नेपालमा पनि ढिला विवाह गर्ने, लामो समय विवाह नगरी बस्ने र त्यसको असरले अन्ततः सन्तान उत्पादन क्षमता नै ह्रास हुने पनि देखिन थालेको छ । कोरिया लामो समय यस्तै समस्याबाट गुज्रनु परेको थियो ।

परिवार एकल सन्तानतर्फ आकर्षित हुनुमा व्यक्ति एक्लैको निर्णय भन्दा पनि परिवेशलाई अध्ययन गर्नुपर्ने हुन्छ । जसलाई ऊ आसपासको सामाजिक संरचना र परिवेशले यसतर्फ डोर्‍याउने गर्छ । व्यक्तिको आम्दानी, उसले बालबच्चामा गर्न सक्ने लगानी, शिक्षा, स्वास्थ्यमा आवश्यक पर्ने स्रोत सहित गुणस्तरीय जीवनका लागि चाहिने सबै पक्ष विचार गरेर एकल सन्तान प्राप्तिको चाहना बनाएको देखिन्छ ।

त्यसकारण व्यक्तिले थोरै सन्तान जन्माउनुमा सामाजिक, अर्थ व्यवस्थाको भूमिका रहन्छ भनिएको हो । हिजो नेपालको परिवेश अध्ययन गर्दा धेरै परिवार निर्वाहमुखी कृषिमा आधारित भई जीविकोपार्जन गरिरहेका थिए । जग्गामा श्रमशक्ति धेरै आवश्यक पथ्र्यो । खेतबारी, खरबारी सम्हाल्न धेरै मानिस चाहिन्थ्यो । प्रविधिको विकास भएको थिएन । सोही कारण परिवारमा धेरै सन्तान चाहिन्छ भन्ने मान्यता थियो ।

एकातर्फ मुलुकभित्र रोजगारीको अभावले सन्तान उत्पादन क्षमताका युवा युवती श्रमका लागि विदेशिएका छन् । अर्कोतर्फ पढाइ पूरा नगरी, काम नसकी बिहे नगर्ने भन्ने युवाको संख्या अधिक छ । यसले स्वाभाविक रूपमा युवाले ३० वर्ष वा सो पारि मात्र बिहेवारी गर्न थालेका छन् ।

यस अवस्थामा परिवार भित्र संख्याको महत्व थियो । अर्कोतर्फ हाम्रो सामाजिक, आर्थिक विकास क्रमले समेत धेरै सन्तान उत्पादनलाई आवश्यकता जस्तै बनाएको थियो । औसत आयु कम थियो । शिशु मृत्युदर अधिक थियो । ५/६ जना सन्तान जन्माउँदा बाँच्ने सम्भावना २/३ जनाको मात्र हुन्थ्यो । खानपान पोषणयुक्त थिएन । स्वास्थ्य सेवाको सुनिश्चितता थिएन । मृत्युदर धेरै हुनासाथ धेरै सन्तानको चाहना हुनु स्वाभाविक पनि थियो ।

क्रमशः राज्यले यसमा लगानी बढायो । मृत्युदर घट्न थाल्यो । शिक्षा र चेतना पनि बढ्दै गयो । औसत आयु बढ्न थाल्यो । अब थोरै सन्तान जन्मिंदा पनि बाँच्छन् र भविष्यको सहारा बन्छन् भन्ने सुनिश्चित भयो । जसको फलस्वरुप परिवारहरू थोरै सन्तानमा जान थाले ।

अर्कोतर्फ अब सन्तानलाई घर–परिवारमा मात्रै राखेर गुणस्तरीय पालनपोषण तथा भविष्यको सुनिश्चितता दिन नसकिने भयो । उसलाई सानो उमेरबाटै आफ्नो घरगृहस्थीबाट टाढा राखेर शिक्षादीक्षा दिलाउनुपर्ने भयो । विश्व प्रतिस्पर्धामा छ । गुणस्तरीय जीवनयापनका लागि आवश्यक पक्षहरूको जोहो गर्दा धेरै खर्च लाग्न थाल्यो ।

धेरै सन्तानका लागि शिक्षा, यातायात, पोषण, पोशाक सहितका सुविधाको पहुँच पुर्‍याउन एक–परिवारलाई अब समस्या हुन थाल्यो । यसले पनि दम्पतीहरूलाई कम सन्तान जन्माउने र उनीहरूलाई गुणस्तरीय सुविधा दिन प्रेरित गरेको हो ।

अझ अघिल्लो पुस्ताले बच्चा हुर्काउन गरेको संघर्ष, उसको शिक्षा–दीक्षामा गरेको लगानी, स्वास्थ्य सेवाको अभावले भोगेको सास्ती देखेका कारण अबको पुस्ता सोही सास्ती भोग्नु नपरोस् भन्ने चाहन्छ । यसले पनि मानिसहरू क्रमशः कम सन्तान उत्पादनलाई प्रोत्साहन गरिरहेका छन् ।

अहिले संसार ग्लोबल भिलेज बनेको छ । सन्तानहरू हिजोको तुलनामा स्वतन्त्र छन् । जति धेरै सन्तान भए पनि अवसरको खोजीमा उनीहरू देश–विदेश जान थालेका छन् । बालबच्चा आफ्नो भविष्यको खोजीमा घर, परिवार, समाज र देश नै छाड्न थालेसँगै परिवारको संख्याले अब कम महत्व राख्न थालेको छ ।

एकातर्फ मुलुकभित्र रोजगारीको अभावले सन्तान उत्पादन क्षमताका युवा युवती श्रमका लागि विदेशिएका छन् । अर्कोतर्फ पढाइ पूरा नगरी, काम नसकी बिहे नगर्ने भन्ने युवाको संख्या अधिक छ । यसले स्वाभाविक रूपमा युवाले ३० वर्ष वा सो पारि मात्र बिहेवारी गर्न थालेका छन् ।

बिहेपछि पनि दुवै जना (दम्पती) आर्थिक रूपमा सक्रियको हकमा चाँजोपाँचो मिलाएर मात्रै सन्तान उत्पादन गर्ने योजना बनाउँछन् । यसले दुई–तीन वर्ष पछाडि धकेलिंदा पनि पहिलो सन्तान उत्पादनमै ढिला भइसकेको हुन्छ । यसले दम्पतीलाई दोस्रो सन्तान उत्पादनप्रति अनिच्छा हुने गरेको छ । धेरै युवामा यो प्रवृत्ति अहिले व्यापक छ ।

कम सन्तान जन्मिंदाको असर कस्तो ?

कम सन्तान जन्मिंदा तत्कालीन र दीर्घकालीन दुवै प्रकारको असर पर्छ । दीर्घकालीन असरले राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमै प्रभाव पार्छ । आज जन्मदर घट्दै जाँदा जब आजको सक्रिय जनसंख्या बुढ्यौली अवस्थामा पुग्छ, त्यसपछि मुलुकमा श्रमशक्तिको अभाव हुन थाल्छ । युवा कम हुने, वृद्धवृद्धा र बालबच्चाको धेरै संख्या हुन थाल्छ ।

अहिले नेपाली नागरिक जुन–जुन मुलुक पुगेर श्रम निर्यात गरिरहेका छन् ती मुलुकमा समेत श्रमशक्तिको अभाव हुन थाल्छ । जब परिवारमा युवा कम हुन्छन्, त्यसपछि वृद्धवृद्धाले स्याहार पाउँदैनन् । खेतबारी बाँझो रहन्छ । अहिलेको सामाजिक संरचना, संस्कृतिमा असर पर्छ ।

कतिसम्म भने छिमेकमा कुनै वृद्धवृद्धाको दयनीय निधन हुँदा समेत सुइँको नपाउने अवस्था आउन सक्छ ।

अर्कोतर्फ तत्कालीन असर स्वरुप हुर्कंदै गरेको बालबच्चालाई सामाजिकीकरण सिकाउने मानिसको अभाव हुन्छ । बालबच्चाले घरपरिवारमा अभिभावकबाट जुन संस्कृति सिक्न पाउँथे, अब त्यो अवस्था रहन्न ।

त्यस्तै नाति–नातिनाबाट वृद्धवृद्धाले जुन प्रकारको स्याहार पाउँथे, त्यो नपाउने अवस्था रहन्छ । अहिले १४/१५ वर्षमा विद्यालय शिक्षा पूरा गरी विदेश जाने प्रवृत्ति छ । यही प्रवृत्ति लामो समय रहने हो भने अब स–सानो काम गर्न पनि नेपालले विदेशबाट जनशक्ति मगाउनुपर्ने अवस्था आउँछ ।

त्यसकारण जनसंख्यामा कमीले आउने तत्कालीन र दीर्घकालीन असर कम गर्न आजैबाट योजनाबद्ध रूपमा काम गर्नुपर्छ । प्रविधिको अधिकतम प्रयोग गरी जनशक्तिको अभाव परिपूर्ति गर्ने एउटा उपाय हुन सक्छ । तर, यसका लागि भएका जनशक्तिलाई अधिकतम दक्ष बनाइराख्नुपर्छ ।

वृद्धवृद्धाको स्याहारका लागि अब राज्यले नै सुविधासम्पन्न स्याहार केन्द्रहरू निर्माण र सञ्चालनमा लाग्नुपर्छ । उनीहरूको सामाजिक सुरक्षाका उपायहरूमा आजैबाट योजनाहरू बनाउनुुपर्छ । अर्कोतर्फ समग्र जनसंख्याको प्रवृत्ति विश्लेषण गर्दा मुलुकभित्रका छुट्टाछुट्टै भेगमा भने फरक परिस्थिति देखिन सक्छ । यसलाई पनि विचार गर्दै राज्यले आगामी योजना बनाउनुपर्छ ।

हामीलाई जनसंख्या कम हुन थालेको अनुभव हुनु भनेको अब यसमा सुधारको खाँचो छ भन्ने आभास हुनु पनि हो । त्यसकारण अब हामीले मुलुकका लागि सर्वसुलभ र गुणस्तरीय शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवा र मुलुकभित्रै रोजगारी सिर्जनातर्फ केन्द्रित हुनुपर्छ ।

यसो भएमा दम्पतीहरूले भविष्यको चिन्ता विना नै आफ्नो र सन्तानको योजना बनाउन सक्छन् । जुन मुलुकको भविष्यका लागि समेत फलदायी हुनेछ । जुन कारणले दम्पती कम सन्तानको बाटोमा छन्, त्यो समस्या समाधानतर्फ राज्यका नीति केन्द्रित हुनुपर्छ ।

(समाजशास्त्री डा. गौतमसँग अनलाइनखबरका लागि अच्युत पुरीले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?