+

नेपालमा मंकीपक्सको जोखिम कति, कस्तो सावधानी अपनाउनुपर्छ ?

२०८१ साउन  ३२ गते १३:१९ २०८१ साउन ३२ गते १३:१९
नेपालमा मंकीपक्सको जोखिम कति, कस्तो सावधानी अपनाउनुपर्छ ?

काठमाडौं । विगत एक दशकको तथ्यांक हेर्दा विश्वस्तरमै धेरै प्रकारका संक्रामक रोगले गम्भीर चुनौती सिर्जना गरिरहेको छ । सन् २०१९ को अन्त्यबाट सुरु भएको कोभिड-१९ महामारीमा विश्व स्वास्थ्य सङ्गठन(डब्लुएचओ)ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।

कोभिड हाल करिब करिब नियन्त्रणमा छ । तर अहिले अर्को रोग मंकीपक्सले चिन्ता बढाएको छ । अफ्रिकी महाद्वीपमा मंकीपक्सको सङ्क्रमण तीव्र गतिमा बढिरहेको छ । यस वर्ष मात्रै अफ्रिकामा १४ हजार भन्दा बढी संक्रमितमध्ये ५०० जनाले ज्यान समेत गुमाइसकेका छन् ।

यसको जोखिमलाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मंकीपक्सलाई बुधबार ‘विश्व स्वास्थ्य आपतकाल’ घोषणा गरेको छ । स्वास्थ्य विज्ञहरूले विश्वभर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् । आपतकाल घोषणा भएसँगै नेपाल सरकारको पनि गम्भीर ध्यानाकर्षण भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक यदुचन्द्र घिमिरे बताउँछन् ।

‘मंकीपक्स जुनसुकै बेला जहाँ पनि फैलिन सक्ने भएकाले चुप लागेर बस्ने अवस्था छैन । त्यसका लागि सरकारले नेपालमा मंकीपक्सको संक्रमणलाई भित्रिन नदिने गरी आवश्यक पूर्वतयारी गर्ने उद्देश्यले प्रयोगशालाका पदाधिकारीसँग छलफल भइसकेको छ’ उनी भन्छन्, ‘के कस्तो कदम चाल्न सकिन्छ भन्ने विषयमा डब्लुचओ सहितको बैठक छिट्टै राख्ने तयारी भएको छ ।’

सरुवा रोग फैलिन कति पनि बेर नलाग्ने हुँदा चाँडै नै यसबारे ठोस कदम चाल्न आवश्यक रहेको चिकित्सकहरु बताउँछन् ।

नेपाल कति जोखिममा ?

विश्वको जुनसुकै देशमा संक्रमण फैलिए पनि सर्वसाधारण चनाखो हुनुपर्ने नेपाल मेडिकल कलेजका छालारोग विशेषज्ञ डा. मोहन भुसाल बताउँछन् ।

‘मानिस आज एउटा ठाँउमा छ, भोलि संसारको अर्को पुगिरहेको हुन्छ । हवाई यातायातको सहज पहुँचले गर्दा युरोपका देशमा बढिरहेको उक्त भाइरस नेपालमा कति खेर आउँछ भन्न सकिंदैन । त्यस कारण फैलिने खालको संक्रामक रोग फैलिएको छ भने अवश्य पनि उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ,’ उनी भन्छन् ।

 

संक्रमण पुष्टि भएका देशबाट मानिसहरू आउजाउ गरिरहने भएकाले नाकामा कडाइ गर्ने, विदेशबाट आएका व्यक्तिको स्वाब परीक्षण गर्ने र शंकास्पद देखिए क्वारेन्टाइन राख्नुपर्ने उनको सुझाव छ ।

यता, मंकीपक्सलाई लिएर आपतकाल घोषणा भए पनि तत्काल डराइहाल्नुपर्ने अवस्था नभएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन बताउँछन् ।

उनका अनुसार मंकीपक्स समलिङ्गीमा बढी देखिएका कारण नेपालमा कोभिड जस्तो छिट्टै फैलिन्छ भनेर आत्तिहाल्नुपर्ने अवस्था छैन ।

‘यो नेपालका लागि नयाँ रोग पक्कै होइन । गत वर्ष नेपालमा एक विदेशी महिलालाई देखियो । जुन समुदाय स्तरमा फैलिन पाएन । तर नेपालको पनि विश्वमा आवतजावत हुने भएकाले चनाखो चाहिं हुनुपर्छ,’ डा. पुन भन्छन् ।

के हो मंकीपक्स ?

डा. पुनका अनुसार मंकीपक्स भाइरसबाट एक व्यक्तिबाट अर्को व्यक्ति, जनावरबाट जनावर, जनावरबाट मानिस, मानिसबाट जनावरमा पनि सर्ने रोग हो मंकीपक्स । यो भाइरसबाट छालामा घाउ बनाउँदै आँखा, नाक र मुखबाट शरीरमा प्रवेश गर्न सक्ने उनी बताउँछन् ।

कसरी सर्छ ?

डा. भुसालका अनुसार ‘मंकीपक्स भाइरस’ संक्रमित जनावरको शरीरबाट निस्कने तरल पदार्थ अथवा रगतबाट मानिसमा सर्ने गर्छ । विशेषगरी अफ्रिकी मुसा वा बाँदरबाट यो मानिसमा सङ्क्रमण गर्न सक्छ । मुसा, बाँदर जस्ता जनावरहरुमा यो भाइरस बस्ने गर्छ । यी जनावरहरुको सम्पर्कमा आउँदा यो रोग सर्न सक्छ ।

श्वासप्रश्वास, सङ्क्रमित छालाको सम्पर्कले मानिसदेखि मानिसमा पनि यो रोग सर्न सक्छ । त्यसैगरी  गर्भवती आमादेखि बच्चामा पनि सर्न सक्ने उनी बताउँछन् ।

के कस्ता लक्षण देखाउँछ ?

संक्रमण भएको पाँचदेखि २१ दिनसम्ममा यसको लक्षण देखाउने डा. भुसाल बताउँछन् ।

‘सुरुमा काम ज्वरो आउने, मांसपेशी दुख्ने, टाउको दुख्ने, घाँटी, काखीहरूमा गिर्खा आउने हुन्छ । त्यसपछि छालामा विभिन्न प्रकारका डाबर मुखबाट सुरु भएर बिस्तारै शरीरभरि हत्केला र पैताला, गोप्य अंग, आँखाभित्र पनि फैलिन्छ,’ उनी भन्छन् ।

डाबरको प्रकार हेर्ने हो भने पहिला रातो रातो हुन्छ अनि घमौरा जस्तो उठेको देखिने, बिस्तारै पानीको फोका जस्तै अनि पिप भरिएको जस्तो भएर अन्तिममा फुटेर पाप्राहरू बस्ने उनी बताउँछन् ।

पहिचान तथा उपचार

डा. भुसालका अनुसार यसको पहिचान लक्षण, छालाको जाँच वा फोकाको पानीको पीसीआर गरेर गर्न सकिन्छ । पत्ता लागेमा यसको उपचार गर्न कठिन छैन । प्रतिरोधात्मक क्षमता बलियो भएकाहरुमा २-४ हप्तामा आफैं निको भएर जान्छ ।

तर बच्चा, वृद्धवृद्धा र दीर्घरोगीलाई भने यसले च्याप्न सक्छ । ‘जटिलतामा छालाको संक्रमण, अंगहरुको सङ्क्रमण, निमोनिया, इन्सेफलाइटिस र आँखाको सङ्क्रमण,’ उनी भन्छन्, ‘गम्भीर बिरामीहरुका लागि एन्टिभाइरल औषधि जस्तै टेकोभिरिम्याट पनि उपलब्ध छ ।’

संक्रमण फैलिन नदिन जनचेतनामूलक कार्यक्रम गर्ने, सङ्क्रमित र तिनीहरूको सम्पर्कमा आएकाहरूलाई क्वारेन्टाइन गर्ने व्यवस्थाले यसबाट धेरै हदसम्म बच्न सकिने डा. भुसाल बताउँछन् ।

मंकीपक्स संक्रामक रोग स्वास्थ्य
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

घुँडा दुखाइको उपचार के छ ?

घुँडा दुखाइको उपचार के छ ?

कस्तो व्यक्तिलाई हड्डी क्यान्सर हुने जोखिम हुन्छ ?

कस्तो व्यक्तिलाई हड्डी क्यान्सर हुने जोखिम हुन्छ ?

स्क्रब टाइफस : बालबालिकामा बढ्दो स्वास्थ्य चुनौती

स्क्रब टाइफस : बालबालिकामा बढ्दो स्वास्थ्य चुनौती

जापानीज इन्सेफलाइटिसको संक्रमण बढ्दै, जोखिम कति ?

जापानीज इन्सेफलाइटिसको संक्रमण बढ्दै, जोखिम कति ?

शरीरमा भिटामिन बी-१२ कति हुनुपर्छ ?  

शरीरमा भिटामिन बी-१२ कति हुनुपर्छ ?