+
+

बेहुली फ्रम मेघौली : विवाहको कथामा ‘दशैं मुड’ जगाउन खोज्दै निश्चल-स्वस्तिमा (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३२ गते १६:०६

काठमाडौं । पछिल्लो समय नेपाली फिल्मको पत्रकार सम्मेलन कलाकारको निजी जीवनका ‘र्‍यापिड फायर’ प्रश्नले भरिन्छन् । निश्चल बस्नेत र स्वस्तिमा खड्काले शुक्रबार आगामी फिल्म ‘बेहुली फ्रम मेघौली’को गीत सार्वजनिक गर्न आयोजित प्रेसमिटमा यस्तै प्रश्नको सामना गरे ।

बिहेबारी र सम्बन्धका प्रश्नमा उनीहरु सतर्क सुनिए । यो प्रश्नोत्तरमा निश्चलले स्वस्तिमालाई अहिलेकी नम्बर वान नायिकाको संज्ञा दिए । निश्चलको इमान्दार छविको कारण आफूले उनलाई मन पराएर विवाह गरेको जवाफ पनि स्वस्तिमाले दिइन् ।

स्वस्तिमालाई विवाह गर्नुअघि कति जना केटी हेर्नुभयो भनेर निश्चललाई प्रश्न सोधिएको थियो । जवाफमा निश्चलले कूटनीतिक जवाफ दिए, ‘विगतमा के भयो भन्दा पनि वर्तमानमा को छ त्यो महत्वपूर्ण हो ।’

प्रेसमिटको सुरुवात फिल्म छायांकनमा ट्रयाक्टर चलाउँदाको अनुभव कस्तो रह्यो भनेर स्वस्तिमालाई सोधिएको प्रश्नबाट सुरु भयो । जवाफमा स्वस्तिमाले केही समयअघि एक अन्तर्वार्तामा भनेको कुरा सम्झिइन्, ‘ट्रयाक्टर चलाएरै बूढालाई पाल्न सक्छु भन्ने महसुस भयो ।’

अर्को एक प्रश्नमा स्वस्तिमाले पहिलेदेखि नै महिलाप्रधान फिल्म बन्दै आएको बताइन् । यी त भए, पत्रकार सम्मेलनमा भएको प्रश्नोत्तर । प्रेसमिटमा केही भिन्न दृश्य पनि देखियो । घरेलु फिल्मका ट्रेन्डसेटर निर्देशक बस्नेत यसपटक अभिनेताको रुपमा प्रस्तुत भए ।

पहिलोपटक फिल्म निर्मात्री बनेकी स्वस्तिमाले अभिनेत्रीको रुपमा जवाफ पनि दिइन् । फिल्मका दुईजना निर्देशक सजन काफ्ले र आकाश बरालले निर्देशनमा निश्चल बस्नेत हाबी नभएको जवाफ दिए ।

‘उहाँले हामीलाई गाइडेन्स गर्नुभयो । हाबी भएर कामलाई जटिल बनाउने भन्दा पनि सजिलो पार्नुभयो,’ निर्देशकद्वयले भने । उक्त अवसरमा फिल्मको दोस्रो गीत ‘छड्के सलाम’ पनि सार्वजनिक गरियो भने टिजर पनि देखाइयो ।

टिजर शुक्रबारदेखि हलमा रिलिज भएको छ । इन्टरनेट प्लाटफर्ममा आउन भने केही दिन लाग्ने जनाइएको छ । यो टिजर पूर्णतः कमेडी विशेषताले भरिभराउ छ ।

गीत भने विवाहको सन्दर्भ र माहोलमा आधारित छ । फिल्मको कथावस्तु पनि ३० वर्ष पुगेकी अविवाहित युवतीको लागि उपयुक्त दुलाहा खोज्न हुने संघर्षमा आधारित छ । सोसल-कमेडी जनरामा बनेको फिल्मको शीर्ष भूमिकामा स्वस्तिमा छिन् ।

फिल्ममा निश्चलले अष्ट्रेलियाबाट फर्किएका युवकको भूमिकामा अभिनय गरेका छन् । मेघौलीको सन्दर्भ र कथावस्तुमा बनेकाले फिल्मको नाम पनि ‘बेहुली फ्रम मेघौली’ राखिएको उनले बताए ।

यो फिल्म ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको हो । यो फिल्म असोज १७ गते दशैंको घटस्थापनामा रिलिज हुने तयारीमा छ ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?