+
+

एनआरएनएको समानान्तर संस्था यूएनडीओले सदस्यता लिन खुला गर्‍यो आवेदन 

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३२ गते १८:२८
यूएनडीओ अध्यक्ष सोनाम लामा ।

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को समानान्तर संस्थाका रुपमा परराष्ट्र मन्त्रालयले दर्ता गरेको युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन (यूएनडीओ)ले सदस्यताका लागि आवेदन खुला गरेको छ ।

यूएनडीओ गैरआवासीय नेपालीसम्बन्धी ऐनअनुरूप परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था हो ।

‘दूरदर्शी नेतृत्वदायी व्यक्तिहरू, उदीयमान उद्यमीहरू, लगनशील परिवर्तनकर्ताहरू र नेपाली डायस्पोरा भित्रका आविष्कारकहरूको अर्को पुस्तालाई नेपाल र नेपालीहरूको विश्वव्यापी समुदायमा आबद्ध गर्ने उद्देश्यका साथ सदस्यता खोलिएको यूएनडीओका अध्यक्ष सोनाम लामाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

नेपाली डायस्पोरालाई एकताबद्ध गर्न समर्पित गैर–राजनीतिक, गैर–नाफामूलक, प्रगतिशील र समावेशी विश्वव्यापी संस्थाको रूपमा यो स्थापना भएको उनले गरको छन् ।

नेपाल र विदेश दुवैमा उद्यमशीलतालाई बढावा दिने, उद्यम सहयोगका लागि अवसरहरू सिर्जना गर्ने र नेपालीलाई वास्तविक लाभहरू प्रदान गर्ने नीतिहरूको वकालत गर्ने संस्थाको उद्देश्य रहेको यूएनडीओले जनाएको छ ।

३१ जनवरी २०२४ मा यूएनडीओ परराष्ट्र मन्त्रालयमा दर्ता भएको थियो । सर्वोच्च अदालतले एकभन्दा बढी गैरआवासीय नेपाली संघ हुनसक्ने व्यवस्था ऐनमा रहेको भन्दै अर्को संस्था पनि दर्ता गर्न आदेश दिएपछि यूएनडीओ दार्ता भएको थियो ।

‘हामी सुनिश्चित गर्छौं कि नेपाली डायस्पोराको आवाज र योगदान अर्को पुस्ता सहित विश्वव्यापी नेपाली समुदायको भविष्यलाई आकार दिन सहायक हुनेछन् । हामी नतिजामुखी कार्य र दिगो विकासमा ध्यान केन्द्रित गर्छौं, बक्तव्यबाजीमा मात्र होइन,’ संस्थापक अध्यक्ष लामाले भनेका छन् ।

उद्यमशीतामा उत्कृष्टता, मौलिक नीतिको वकालत, रणनीतिक नेतृत्वका लागि यूएडीओ रोज्नुपर्ने संस्थापक अध्यक्ष लामाले बताएका छन् ।

‘यूएनडीओले नेटवर्किङ, मेन्टरसिप र लगानीका स्रोतहरूका लागि एक बलियो प्लेटफर्म प्रदान गर्नेछ जुन तपाईंको विचारहरूलाई प्रभावकारी उद्यमहरूमा परिणत गर्न डिजाइन गरिएको हो । चाहे तपाईं स्थापित उद्यमी होस् वा उदीयमान उद्यमी, यूएनडीओले सफलता हासिल गर्न आवश्यक सहयोग प्रदान गर्नेछ,’ विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, यूएनडीओले नेपाल र विदेशमा रहेका नेपालीहरूमा प्रत्यक्ष र सकारात्मक प्रभाव पार्ने नीतिहरूको सक्रिय रूपमा वकालत गर्ने पनि जनाएको छ ।

‘हाम्रो ध्यान नेपालको विकासमा डायस्पोराको योगदानलाई मान्यता दिने मात्र नभई मापनयोग्य नतिजाहरूतर्फ लैजाने सुनिश्चित गर्दै वास्तविक अवसरहरू, विशेष गरी अर्को पुस्ताका लागि मार्ग प्रशस्त गर्ने नीतिहरू सिर्जना र समर्थन गर्ने विषयहरूमा केन्द्रित हुनेछ,’ संस्थापक लामाले भने । साथै, यूएनडीओले अर्को पुस्तालाई सशक्तिकरण गर्ने नारा पनि अघि सारेको छ ।

यूएनडीओका सदस्यहरूले व्यापक नेटवर्कबाट लाभ पाउने पनि उनले उल्लेख गरेका छन् ।

यूएनडीओको सदस्य बन्न चाहनेले संस्थाको वेबसाइट undo.org.np गएर आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?