+
+

अद्भुत लोवथाङमा गल्फको रोमाञ्च

अमृत सुवेदी अमृत सुवेदी
२०८१ साउन ३२ गते २२:००

३२ साउन, लोमान्थाङ। ४ हजार ७०० मिटर उचाइमा पुगेर झ्याप्प गाडी रोकिन्छ । गाडीबाट झर्नेबित्तिकै मानिसहरुको मुखबाट निस्कन्छ, वाउ । जता फर्के पनि आँखैसामुन्ने हिमालै हिमाल, त्यो पनि आफूभन्दा तल तल पनि देखिने ।

अनौठो भू–बनोट र हरियो चौर । चौरमा हिमाली जीवनशैली झल्किने ध्वजापतका । गाडीबाट झर्नेबित्तिकै देखिन्छ एउटा बोर्ड । जहाँ लेखिएको छ, ‘वेलकम टू टप अफ दी वर्ल्ड गल्फ क्लासिक ।’

यो हो, लोवथाङ गल्फ कोर्स । यही हिमालको काखमा स्वागत गर्न आइपुग्छन्, गण्डकीका पूर्व सांसद तथा गल्फर इन्द्रधारा विष्ट । जसले लोमान्थाङ गाउँपालिका वडा नम्बर ५ को यो गल्फ कोर्सलाई संसारकै अग्लो ठाउँमा रहेको भनेर गल्फरमात्रै बोलाइरहेका छैनन्, विश्व रेकर्ड राख्न पनि कम्मर कसेर लागिरहेका छन् ।

खाडीको तातो हावामा गल्फ खेल्न सकिन्छ भने हिमालको चिसो हावामा किन सकिँदैन भनेर उनै विष्टले लोवथाङ गल्फ कोर्समा ३ वर्षदेखि प्रतियोगिता गर्दै आइरहेका छन् । यसपटक शनिबार हुने प्रतियोगितामा भाग लिन पोखरा, काठमाडौं, धरान, सौराहा र अमेरिकादेखिका सहभागी हुने अधिकांश गल्फरहरु शुक्रबारै गल्फ कोर्स पुगे ।

पहिलो पटक पुग्ने जो–कोहीलाई चकित पार्ने ऐतिहासिक तथा पुरातात्विक ठाउँ हो, लोमान्थाङ । माटोले बनेको सहर लोमान्थाङले मोहित बनाउँछ त बनाउँछन् नै यहाँका घर र मानिसका जीवनशैलीले पनि उत्तिकै उत्साहित बनाउँछ । अहिले पनि सांस्कृतिक राजालाई जिवित राखेको त्यही लोमान्थाङमा अर्को गन्तव्य थपिएको हो, गल्फ प्रतियोगिता ।

कुनै कलाकारले बडो मिहिनेतका साथ कोरेको आकृतिजस्तो भू–वनोट हेर्दै लोमान्थाङ पुगेका व्यवसायी तथा गल्फर चन्द्र टण्डन लोवथाङ टेक्दा देखेको दृश्यले रमाञ्चित बने । हिमालभन्दा माथि रहेको गल्फ कोर्समा खेल्न पुगेका चन्द्रले टि–बक्सबाट जुनसुकै होलमा बल हान्दा पनि हिमाललाई ताकेर हिर्काउन पाइने रोमाञ्चकता उनी शब्दमा व्यक्त गर्न सक्दैनन् ।

बुधबार बिहान काठमाडौंबाट गाडीमा हिँडेर उनी बिहीबार बेलुका मात्र लोमान्थाङ आइपुगेका थिए । बिहानै विश्वकै अग्लो स्थानमा रहेको गल्फ कोर्स भनेर दाबी गरिएको ठाउँमा पुगे । उनलाई लाग्यो, यो ठाउँ नेपालभित्रको नेपाल जस्तो हो ।’ उनी नेपाली वा विदेशी गल्फर एक पटक आउनैपर्ने कोर्सका रुपमा उनी सिफारिस गर्छन् ।
लोमान्थाङ बजारदेखि १२ किलोमिटर गाडीबाट यात्रा गर्दै वडा नम्बर ५ को लोवथाङ पुग्दा चन्द्रमात्रै होइन, दोस्रो पटक सोही ठाउँ पुगेका टेन्डी शेर्पा पनि निकै उत्साही देखिए ।

२२ वर्षदेखि लगातार गल्फ खेलिरहेका टेन्डी लोवथाङको यो गल्फ कोर्सको मज्जा संसारको कुनै मैदानमा नमिल्ने अनुभव सुनाउँछन् । गोकर्ण गल्फ कोर्समा निरन्तर खेल्दै आएका टेन्डी लोमान्थाङको गल्फ कोर्समा हिमालको माथि खेलेको अनुभव महसुस हुने अनुभव सुनाए ।

 व्यावसायिक गल्फ खेल्दै आएका दिनेश प्रजापति पहिलो पटक मुस्ताङको अनेक दृश्य नियाल्दै यो गल्फ कोर्स पुग्दा सोचेकोभन्दा फरक महसुस गरे । गाडीबाटै ४ हजार ६०० मिटर उचाइमा पुगेर सिधै कोर्समा ओर्लिदा यो नेपालले बेच्न नसकेको मोतीका रुपमा देखे ।

काठमाडौं लगायत देशका विभिन्न ठाउँमा व्यावसायिक गल्फ खेलिरहेका दिनेश पहिलो पटक लोमान्थाङ गल्फ कोर्स पुग्दा कुनै स्वर्ग छ भने त्यहीँ आफूले खेल्न लागेको महशुस गरिरहेको सुनाए ।

‘जता हेरे पनि हिमालै हिमाल । सुख्खा होला भनेको लोमान्थाङको यो कोर्स अहिले हरियो देखिँदाको सुन्दरता अन्त कहाँ पाउनु,’ दिनेशले सुनाए, ‘सायद कतै स्वर्ग छ भने त्यो यस्तै होला, यो स्वर्गमा गल्फ खेल्नका निम्ति हामीले संसारलाई बोलाउन सक्नुपर्छ ।’

नेपालको व्यावसायिक गल्फरमा दोस्रो नम्बरमा आउने निरज तामाङ यस्तो अद्भूत गल्फ कोर्स अरु ठाउँमा नरहेको बताए । पहिलो प्राविधिक रुपमा सहयोग गर्नका निम्ति यहाँ पुगेका निरजले हिमालको कासमा प्रकृति आफैंले बनाएको सुन्दर गल्फ कोर्सलाई कुनै व्यक्ति वा समूहले होइन, देशले नै विश्वमाझ पुर्‍याउनुपर्ने सुनाए ।

लोमान्थाङमा गल्फ खेल्न अमेरिकादेखि आइपुगेका छन् एसी शेर्पा । एक हप्ताअघिमात्र काठमाडौं झरेका एसी लोवथाङ गल्फ कोर्स पुग्दा त्यहाँको दृश्यले अद्भूत सन्तुष्टि दिएको सुनाए । दोस्रो पटक पुगेकी गल्फर सुस्मा सिंहसँगै अञ्जलिका पनि मोहित बनाउने मुस्ताङको पनि लोमान्थाङमा गल्फ खेल्नुको मजा बेग्लै रहेको बताउँछिन् ।

यो गल्फ कोर्सलाई व्यवस्थित बनाउनेदेखि हर प्रतियोगितालाई सघाउँदै आएका कास्कीका गल्फर भुवन गुरुङलाई पनि त्यहाँ पुगेर कहिल्यै धोको मेटिँदैन । कास्की गल्फ संघका उपाध्यक्ष भक्तराज गुरुङ संसारभरिका गल्फ कोर्स मानिसले बनाएको तर लोमान्थाङको गल्फ कोर्स प्रकृतिले बनाएको बताए । ‘जता हेरे पनि हिमालय रेन्जमात्रै छ, अर्कोतिर ८ किलोमिटरमा फैलिएको युरेनियम रहेको भनिएको डाँडा छ,’ भक्तराज भन्छन्, ‘सुरुदेखि नै यहाँ आएको छु र प्रत्येक पटक आउँदा मलाई गौरव छ ।’

शनिबार हुने प्रतियोगितामा ५ जना महिलासहित ३५ जनाले सहभागिता जनाउने छन् । प्रतियोगिता नौ होलमा स्टेबलफोर्ड ढाँचामा खेलाइँदैछ । होल नम्बर ३ मा होल इन वन गर्ने कुनै पनि खेलाडीलाई यसपटक याक पुरस्कार प्रदान गरिने प्रतियोगिताको नेतृत्व गरिरहेका विष्टले जानकारी दिए । यसअघि घोडा पुरस्कार दिइएको थियो ।

गल्फ प्रतियोगितामार्फत पर्यटनको विकास, हिमाली जनजीवनसँग साक्षात्कार गराउने हुटहुटी विष्टमा छ । विश्वकै अग्लो ठाउँमा रहेको गल्फ कोर्सका रुपमा रेकर्ड राख्ने योजनामा उनी छन् ।

उनलाई लोमान्थाङ गाउँपालिकाले पनि साथ दिइरहेको छ । संसारका धेरैजसो धनाढ्यहरु खेल्ने खेलको रुपमा परिचित गल्फमार्फत मुस्ताङलेमात्रै होइन, देशले नै फाइदा लिन सक्ने विश्वास विष्टको छ ।

 

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?