+
+

लोकार्नोमा शाहरूख : अभिनय, सिनेमा कला र हलिउड

स्विट्जरल्यान्डको लोकार्नो फिल्म फेस्टिभलमा अचिभमेन्ट अवार्ड पाएका बलिउड अभिनेता शाहरूख खान अहिले चर्चामा छन् । विश्वभरका मिडियामा उनका भाषणदेखि सिनेमा, अभिनय र हलिउडबारे उनका भनाइ प्रकाशित भइरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १ गते ८:३७

‘सिनेमा हाम्रो समयको सबभन्दा प्रभावकारी र गहिरो प्रभाव छोड्ने कलात्मक माध्यम हो भन्ने मेरो विश्वास छ’ ७७औं लोकार्नो फिल्म फेस्टिभलमा आफूलाई दिइएको करिअर अचिभमेन्ट अवार्ड स्वीकार गर्न स्टेज उक्लिएका बलिउड अभिनेता शाहरूख खानले करिब ८ हजार दर्शकसामु सिनेमा सम्बन्धी आफ्ना विचार राख्दै भनेका कुरा हुन्, यी ।

‘मैले जीवनका केही वर्ष यो माध्यमको एउटा अंगका रूपमा बिताउन पाएँ । यो यात्राबाट मैले केही सिकेको छु, अनुभूत गरेको छु’, उनले त्यसपछि सिनेमा कलाको महत्व र यसको प्रभावकारिता बारे छोटोमा बोले ।

स्विट्जरल्यान्डको लोकार्नो शहरमा आयोजना हुने यो चलचित्र महोत्सव युरोपको पुरानो र महत्वपूर्ण फिल्म महोत्सवमध्ये गणना हुन्छ । झन्डै ८ हजार दर्शकले शहरको चोकमा खुला आकाशमुनि रातिको समयमा फिल्म हेर्ने यहाँको सो ‘पियाजा ग्रान्डे’ यसको भव्यताका लागि प्रसिद्ध छ । विश्व सिनेमाका ठूल्ठूला स्टारहरू आफ्ना फिल्म सहित यहाँ पुग्छन् । यसपालि मीनबहादुर भाम निर्देशित नेपाली फिल्म साम्बाला को प्रदर्शन पनि यही स्क्रिनमा भएको थियो । शाहरूखले अभिनय गरेको संजयलीला भंसाली निर्देशित फिल्म देवदास को पनि यहाँ प्रदर्शन गरिएको थियो ।

‘मैले घमन्ड गरे जस्तो नसुनियोस्, मैले आफ्ना दर्शक र प्रशंसकलाई निराश बनाउन मिल्दैन । मलाई भारत, यस क्षेत्र र विश्वका दर्शकले जुन किसिमको माया, प्रेम, आदर र स्थान दिएका छन् त्यसको ख्याल र कदर गर्नु मेरो कर्तव्य हो । मलाई हलिउडबाट त्यस किसिमको फिल्मको अफर आएको छैन ।’

‘प्रेम विना कुनै सृजना सम्भव छैन, प्रेम त्यस्तो भाषा हो, जसले सबै भावलाई प्रवाह गर्न सक्छ’, उनले भाषणका क्रममा भने । उनले सिनेमाका बारे भने, ‘सिनेमा कला भनेको यस्तो हो, यसले राजनीतिक र नैतिक बन्धन एवं सचेतना विना नै जीवनको चित्र कोर्न सक्छ । मानव जीवनको कलात्मक प्रस्तुति नै सिनेमा हो ।’

‘सृजनात्मकता, प्रेम र अरूलाई आनन्द दिनु भनेको मेरा लागि एउटै कुरा हुन्’ शाहरूखले भने, ‘सिनेमाले जस्तो मानवका सबै भावनालाई प्रभावकारी ढंगले अभिव्यक्त गर्ने कला अर्को कुनै छैन । म पछिल्लो ३५ वर्षदेखि यही काम गर्दै आएको छु’, उनले भने ।
सन् १९९२ मा दिवाना बाट बलिउडको ठूलो पर्दामा उदाउनुअघि शाहरूखले थुप्रै टेलिभिजन शृंखलाहरूमा अभिनय गरेका थिए । दिल्लीमा बेरी जोनको समूहमा मनोज बाजपेयी, रघुवीर यादव लगायतसँग नाटकहरूमा अभिनय गरेका शाहरूखले बलिउडमा बलिउड फिल्मका माध्यमबाट विश्वव्यापी परिचय र प्रभाव निर्माण गरे । यसकै कदर गर्दै यसपालि लोकार्नोले उनलाई एचिभमेन्ट अवार्डले सम्मान गरेको हो ।

शाहरूख खानले प्राप्त गरेको यो सम्मानको भारत र विश्वभरका मिडियामा चर्चा भएको छ । उनको भाषण र अन्तर्वार्ताहरूको पनि चर्चा छ । आमसञ्चार विषय अध्ययन गरेर सिनेमामा लागेका शाहरूखलाई यसै पनि वाक्पटु मानिन्छ । लोकार्नोमा उनले भेराइटी सँगको अन्तर्वार्तामा सिनेमा, आफ्नो करिअर र सम्भावनाहरूबारे प्रष्टताका साथ बोलेका छन् ।

भेराइटी ले उनलाई सोध्यो, ‘तपाईंले यतिका वर्षमा एउटा पनि हलिउड फिल्म गर्नुभएको छैन । कस्तो अवस्था र शर्तमा तपाईं हलिउडका फिल्म गर्नुहुन्छ ?’ यसको उत्तरमा शाहरूखले भनेका छन्, ‘मानिसहरूसँगको पहुँचका हिसाबले हलिउड संसारमै उत्कृष्ट छ । तर, म आफू त्यसरी फिल्म छनोट गर्ने वा कुनै शर्त राख्ने स्थानमा छु जस्तो लाग्दैन । आशा गरौं, कुनै दिन त्यस्तो मौका आएछ भने मैले राम्रोसँग अंग्रेजीचाहिं बोल्न सकुँ ! मैले घमन्ड गरे जस्तो नसुनियोस्, तर त्यो मलाई भारतीय दर्शकले दिएको ओहदासँग मिल्ने खालको चाहिं हुनुपर्छ । मैले आफ्ना दर्शक र प्रशंसकलाई निराश बनाउन मिल्दैन ।’

‘सिनेमा भनेको आमसञ्चारको माध्यम हो । साधारण अर्थमा भन्ने हो भने यसले धेरै मानिससँग संवाद गर्न सक्नुपर्छ । यसले कुनै पनि कुरालाई बौद्धिकतामा पेश गर्नुहुँदैन । सिनेमाले उपदेश दिनुहुँदैन । र, मैले भन्दै आएको छु फिल्मले नैतिक पाठ पढाउने पनि होइन, यसलाई नैतिकताको कुरा मान्नुहुँदैन । ती मेरा नचलेका केही फिल्महरू ज्यादै नै व्यक्तिगत भए ।’

त्यसपछि यो प्रश्नको उत्तरमा शाहरूखले आफूलाई भारत र यो क्षेत्रका दर्शकले जुन किसिमको माया, प्रेम, आदर र स्थान दिएका छन् त्यसको ख्याल र कदर गर्नु आफ्नो कर्तव्य भएको बताएका छन् । उनले भनेका छन्, ‘भारत, यस क्षेत्र र विश्वभरका दर्शकले म र मेरो परिवारलाई कुन स्तरको माया र सम्मान दिनुभएको छ भन्ने मलाई थाहा छ । मैले यसको जहिल्यै सम्मान गर्नुपर्छ । त्यसैले मैले चाहे कुनै हिन्दी फिल्म गरुँ वा दक्षिण भारतीय कुनै फिल्म, फ्रेन्च फिल्म वा हलिउड फिल्म नै किन नहोस्, मैले दर्शकको त्यो माया र प्रेमको सधैं सम्मान हुने गरी गर्नुपर्छ । मलाई त्यस किसिमको भूमिका अहिलेसम्म हलिउडबाट अफर भएको छैन । त्यहाँ कुनै एजेन्ट पनि छैनन् । इमानदार भएर भन्ने हो भने म भूमिका, फिल्महरू खोज्दै गएको पनि छैन ।’

शाहरूख खानले आफ्नो सिनेमालाई लिएर सपना पनि सुनाएका छन् । ‘मेरो सपना छ कि, कुनै दिन हिन्दी फिल्मलाई पनि विश्वव्यापी रूपमा हलिउड फिल्मलाई जसरी हेरियोस् । म त्यस्तो भारतीय फिल्मको हिस्सा बन्न चाहन्छु चाहे त्यो अभिनेताका रूपमा होस् या लाइटम्यानका रूपमा होस् या निर्माताका रूपमा होस्, लेखक वा प्रस्तुतकर्ताका रूपमा होस् । म भारतीय कथालाई संसारले त्यसरी स्वीकार गरेको हेर्न र त्यसको हिस्सा बन्न चाहन्छु ।’

सिनेमाकै बारे कुरा गर्दा शाहरूखले भेराइटी लाई ‘पठान’ भन्दा अघिका उनका फिल्महरू किन चलेनन् र उनले किन ब्रेक लिए भन्नेबारे पनि बताएका छन् । उनले भनेका छन्, ‘जिरो, ह्वेन ह्यारी मेट सेजल र फ्यान जस्ता फिल्महरू मैले मन पराएरै खेलेको हुँ । तर, सिनेमा भनेको आमसञ्चारको माध्यम हो । साधारण अर्थमा भन्ने हो भने यसले धेरै मानिससँग संवाद गर्न सक्नुपर्छ । यसले कुनै पनि कुरालाई बौद्धिकतामा पेश गर्नुहुँदैन । सिनेमाले उपदेश दिनुहुँदैन । र, मैले भन्दै आएको छु फिल्मले नैतिक पाठ पढाउने पनि होइन, यसलाई नैतिकताको कुरा मान्नुहुँदैन । ती मेरा नचलेका केही फिल्महरू ज्यादै नै व्यक्तिगत भए । त्यसकारण तिनले धेरै दर्शकसँग संवाद गर्नै सकेनन् । यसकारण ती सफल भएनन् ।’

उनले आफ्नो डेढ वर्षभन्दा लामो ‘ब्रेक’का विषयमा पनि बोलेका छन् । ‘मैले फिल्मका असफलताका कारण ब्रेक लिएको होइन । मलाई पहिलेदेखि नै के थियो भने, जुन दिन बिहान उठ्दा मलाई आज सट दिन मन छैन भन्ने लाग्छ, त्यसदिन म सुटिङ गर्ने छैन । म जनवरीमा एउटा फिल्मको सुटिङ सुरु गर्दैथिएँ, डिसेम्बरको एक दिन मैले बिहानै निर्मातालाई फोन गरेर अत्यन्त अव्यावसायिक तरिकाले ‘म यो फिल्मको सुटमा आउन चाहन्नँ’ भनेर भनें । उनले मलाई यो सम्भवै छैन, तिमी काम नगरी एक मिनेट पनि बस्न सक्दैनौं, त्यसैले फिल्म मन परेको छैन भने भन नत्र म काम गर्दिनँ भनेर नभन भने । तिनै निर्माताले डेढ वर्षपछि फोन गरेर भने- म साँच्चिकै अचम्भित भएँ । तिमी काम नगरी यत्रो समय कसरी बस्न सक्यौ ? मेरा लागि अभिनय भनेको एकदमै अर्गानिक कुरा हो । मन नलागी नलागी म अभिनय गर्न सक्दिनँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?