+
+
दिलै खोलेर :

‘बालेनमा के खुबी छ जुन अरु नेता छैन भन्ने जान्न मन छ’

रोल मोडलहरू  व्यक्तिले  बाँचेको  समय, उमेर र  स्थिति अनुसार पनि फरक हुँदै जाँदा रहेछन् । मेरो रोल मोडल  त म आफैं हुँ कि क्या हो भने जस्तो लाग्छ।

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १ गते १४:००

पोखरामा सांस्कृतिक ग्राम र नाटकघर निर्माणमा व्यस्त अनुप बराल यसबाट समय निकालेर फिल्महरुमा अभिनय पनि गरिरहेका छन् । नेपाली नाटक र फिल्म दुवै विधामा सक्रिय एवं विश्व सिनेमा र साहित्यको अध्ययनमा गहिरो रुचि भएका अनुप बरालले अनलाइनखबरसँग दिलै खोलेर गरेको कुराकानी :

हिजोआज

  हिजोआज केमा व्यस्त हुनुहुन्छ ?

पोखरामा सांस्कृतिक ग्रामको संरचना निर्माण गर्न लागेको लगभग एक वर्ष हुन लाग्यो। यसैलाई सम्पूर्णता दिन आजभोलि मेरो समय बितिरहेको छ।

  पछिल्लो समय के कुराले वा कुन समाचारले खुशी हुनुभयो ?

सांस्कृतिक ग्राम निर्माणको लागि ठूलो आर्थिक स्रोत र जमिनको आवश्यकता थियो।  यसको  सुरुवाती निर्माणको लागि मेरा आमाबुबा, दुई भाइ,  बहिनी र  बुहारीहरूले सदाशयता राखेर आफ्नो भागको जमिन र अर्थको सहयोग गर्ने जुन सामूहिक निर्णय भयो त्यसले मलाई एकदम खुशी बनाएको थियो।

दिक्क बनाएको कुरा ?

देशको भविष्य  समृद्ध बनाउने भनेको शिक्षित  युवा जमातले हो। तर १२ क्लास पढ्ने बित्तिकै अधिकांश युवा जमातको सपना विदेशमा गएर आर्थिक उपार्जन गर्ने सेरोफेरो भित्र घुमिरहेको छ। देशमा  रोजगारीको अवसर नबन्नु, नेताहरूको भ्रष्ट बानी, ब्युरोक्रेट्सभित्र देखिएको जवाफदेहिताको अभाव, दण्डहीनता र १२ लाख नेपालीहरू वर्षेनि विदेशिनुपर्ने गरी देखिएको आँकडा  र यसबीच खाली हुँदै गइरहेका गाउँघरलाई देख्दा मन विरसिलो भएर आउँछ। यस्ता कुरालाई सम्बोधन गर्ने ठाउँ पक्कै पनि छन् तर किन केही गर्न सकिएको छैन भन्ने कुराले दिक्क बनाउँछ।

अबका योजना के छन् ?

साइफाई  या हरर  जनरामा बनेका फिल्मले  कहाँ हाम्रो जगतको कुरा गर्छन् र तिनीहरूले  हामीले देखिरहेको संसारभन्दा परको संसारमा पुर्‍याउँछन् र पनि त कति त्यस्ता कुरा पनि भनिरहेका हुन्छन्  जुन हामीहरूको  नाङ्गो आँखाले पक्रन सकेको हुँदैन। त्यो नै त सिनेमाको सौन्दर्य हो।  स्वतन्त्रता हो।

अबको योजना भनेको पोखरामा बनिरहेको सांस्कृतिक ग्रामलाई  कला गतिविधिका  हिसाबले अत्यन्त   उर्बर, उम्दा र  अन्तर्राष्ट्रियस्तरको बनाउन प्रयत्न गर्ने  हो। पर्फर्मिंग आर्टस्‌को स्कुल या कलेज स्थापनाको सम्भावनालाई विस्तारित गर्न पहल गर्नका लागि सम्बन्धित निकायसँग छलफल पनि अगाडि बढाइरहेका छौं। सांस्कृतिक ग्राम परिसरमा रहेको  हंसध्वनि नाटकघरको उद्घाटनका लागि  नाट्य प्रस्तुतिमा  लाग्ने सामग्री पनि जम्मा गर्दैछौं।  यो परिसरभित्र कला बिक्री, पुस्तक पसल, सेमिनार हल, रेस्टुरेन्ट, क्याफे,  सोबिनियर शप, कक्षाकोठा छन्। यिनको समुचित उपयोग होस् भन्ने दृष्टिकोणले अब आउने वर्षहरूमा के के गर्न सकिन्छ भन्ने योजना तालिका माथि काम भइरहेको छ ।

आजका मितिमा तपाईंको जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा के हो

आफूलाई खुशी र स्वस्थ राख्नु ।  आफूखुशी नभई अरुलाई खुशी बनाउँछु भन्नु मात्र मृगमरीचिका रहेछ।

नेपाली समाजको सबभन्दा राम्रो नराम्रो पक्ष के लाग्छ ?

राम्रो पक्ष अझै पनि  अधिकांश मानिसहरूमा सरलता र निर्दोषपन बाँकी छ। जिउँदाको  जन्ती मर्दाको मलामी भन्ने भावनाले केही मेट्रोपोलिटनलाई छोडेर अधिकांश ठाउँका मानिसलाई एकअर्कासँग जोडेर राखेको छ। मन नपर्ने चाहिं छुवाछूत र भेद्भाव अनि अरुको चियोचर्चो गर्ने  र  कुरा काट्ने अधिकांश मानिसहरूको बानी।

  पत्रपत्रिका अनलाइन कत्तिको हेर्नुहुन्छ ? पत्रकारिता तपाईंलाई कस्तो लाग्छ ?

हेर्छु।  छापिएर आउने पत्रिका पढेर हुर्केको भएर अझै पनि त्यस्तै पत्रपत्रिका पढ्न  मनलाग्छ। अनलाइन त्यति साह्रो हेर्दिनँ किनभने त्यहाँ सही र गलत समाचार एकसाथ ब्लर भएर आउँछन्। छनोटको संकट हुन्छ।  स्वतन्त्र पत्रकारिता गज्जब ओ गज्जब पेशा  हो।  कुनै पार्टी विशेषसँग सम्बन्धित  नभई, स्वतन्त्र  पत्रकारिता गर्ने  पत्रकारिता शिला खोजे जस्तो खोज्नुपर्ने अवस्था छ। यद्यपि त्यस्तो पत्रकारिता गर्ने  कतै भेटिए भने  उनीहरूको  प्रति श्रद्धाभाव  जागेर आउँछ।

इतिहासमा फर्किएर आफूले गरेको कुनै काम फेरि गर्न पाए वा सुधार गर्न पाए कुन कामलाई सुधार गर्नुहुन्थ्यो ?

आज म जहाँ छु त्यो सबै मेरो इतिहासले नै यहाँसम्म ल्याइपुर्‍याएको हो।  त्यतिबेला मैले गरेका, राम्रा–नराम्रा  कुराहरू  जे–जति थिए  तिनले धेरै कुरा सिकाएर गएका छन्।  फेरि त्यहाँ जानु भनेको म सँगसँगै धेरै कुराले टाइम ट्राभल गर्नुपर्छ। जुन कुरा हाम्रो वशमा छैन पनि।  अर्को  कुरा  जीवनमा एकपटक घटित भइसकेका  कुराहरूलाई अब जस्ताको त्यस्तै  न दोहोर्‍याउन सकिन्छ न त बाँच्न सकिन्छ न त सच्याउन मिल्छ।  तिनको सौन्दर्य र मूल्य भनेको नै  भूतकालमा अडिनु हो।  समयको त्यो भूतकाललाई किन चलाइरहनु। हिन्दी सिनेमा छ नि एउटा क्लिशे डाइलग ‘गडे मुर्दे उखाडने से क्या फायदा!’

आउँदो पुस्तालाई सोचेर आजको पुस्ताले नगरी नहुने काम के हो ?

भविष्यमा मानिसको  जीवन कस्तो होला भनेर अहिले हामीले  भन्न सक्दैनौं केवल अनुमान लगाउन मात्र सक्छौं। तर हामीले आफ्नो समयमा जे भोग्यौं र गर्दै आइरहेका छौं त्यसले हामीलाई  धेरै कुरा सिकाएर गएको छ।  यदि हामीले नयाँ पुस्ताको बारेमा गम्भीर भएर सोच्ने हो भने सबैभन्दा पहिला हाम्रो समाजमा  मानवतालाई जीवित राख्न, त्यसलाई फक्रिन र  फुल्न दिनुपर्छ। तर यो तब मात्र सम्भव हुन्छ, जब  मान्छेहरूसँग  काम गर्ने अवसर हुन्छन्। सुरक्षित र स्वस्थ वातावरण हुन्छ। स्वच्छ पानी, स्वस्थ भोजन र स्वच्छ ऊर्जा हुन्छ। जहाँ काम गर्ने र सिक्नका लागि विभिन्न ठाउँ हुन्छन् र सांस्कृतिक विरासतको महत्व हुन्छ। आउँदो पुस्तालाई सबैभन्दा डायनामिक र ऊर्जाशील बनाउने हो भने हामीले नगरी नहुने काम  भनेको यिनै माथि उल्लेख गरिएका कुराहरू हुन्।

किताब

. पढ्ने बानी कसरी बस्यो ?

सानो छँदा ठूलो किताब बोकेको जति मान्छे हुन् कि जस्तो लाग्थ्यो। किनकि कुनै बखत  ठूलो  किताब  बोकेर घर आएको मान्छेले मलाई चकलेट दिएको थियो।  त्यसपछि   घरमा भएको  बोक्नै  नसक्ने  ठूलो  किताब  र चकलेट साथै बोकी  हिंड्थे र साथीभाइलाई चकलेट बाँड्थें।  त्यो किताब  जीवनमा  कहिल्यै  पढिएन तर किताबसँगको त्यो मोह पनि  कहिल्यै छुटेन। पछि बुबाले त्यो किताब भन्दा पनि ठूलो तर  अलि पातलो चित्रैचित्रले भरिएको किताब ल्याउनुभयो। ती कमिक्स थिए। पढ्न नसके पनि चित्र  हेर्दा मज्जा लाग्थ्यो। पछि स्कुलमा भर्ना भएपछि पनि त्यस्तै सचित्र किताब भयो भने पढ्ने नत्र नपढ्ने भएँ। यसरी मलाई चित्रहरूले अक्षरहरूतिर डोर्‍याए।

. पढ्न मनपर्ने विधा ?

फिक्सन र पोएट्री। कहिलेकाहीं रुचिपूर्ण लागेछ भने  बायोग्राफी, रिपोर्ताज़ र  मेमोएर पनि खुशी हुँदै पढ्छु।

. सबभन्दा मनपरेको वा प्रभाव पारेको पुस्तक ?

प्रभाव पारेको पुस्तक  ‘महाभारत’ हो।  यसका हरेक  पात्रहरू एक से एक  मेमोरेवल छन्। स-साना चरित्रहरूलाई पनि बिट मर्ने गरी लेखिएको छ।

. निराश बनाएको पुस्तक ?

किताब पढ्दा  ठूलो आशा राखेर पढ्ने बानी  कहिल्यै भएन।  पढ्दै जाँदा किताबका पृष्ठले अर्को पृष्ठ पल्टाउन प्रेरित गरे भने अगाडि बढ्छु नगरे थन्क्याइदिन्छु। सायद म निरास हुनुपर्ने स्थितिसम्म पुगेर किताब नै पढ्दिनँ कि भन्ने लाग्छ।

 . नेपालमा के कस्तो विषयमा धेरै पुस्तक लेखिनुपर्छ ?

लेख्ने विषय  त कैयौं हुन सक्लान् तर  जुन विषयमा पुस्तक  आए पनि त्यसलाई  लेखकले कत्तिको रुचि पूर्ण र प्रभावकारी रुपले व्यक्त गरेका छन्  त्यसले पुस्तकको  सामर्थ्यलाई  स्थापित गर्दोरहेछ। विषय महत्वपूर्ण होला तर त्यसलाई व्यक्त गर्दा त्यसमा उपयोग भएको  क्राफ्टले साथ दिएन भने त्यो पुस्तक   या त इन्फर्मेसन सप्लाएर  हुन्छ  अथवा  घटनाको थुप्रो बाहेक केही हुँदैन। नेपालमा भाषा,  संस्कृति संस्कार, मौखिक परम्परा,  जीवन पद्धति, कर्मकाण्ड र  विश्वासमा  जुन किसिमको विविधता छ त्यसलाई   पक्रेर लेखिएका पुस्तक  एकदम कम छन्।  यस्ता  पुस्तक लेख्ने र पढ्न पाइने वातारण बन्यो भने यसले क्रस कल्चरको अनुशासन  र सौन्दर्यलाई  बुझ्ने  र  महसुस  गर्ने अवसर  दिन्थ्यो। आफ्नै किसिमको शिल्प र शैलीलाई  विस्तार गर्न  र अभ्यासका  लागि उत्प्रेरणा  पनि दिन्थ्यो।  यस्ता विषय सम्बन्धित पुस्तकहरू धेरै भन्दा धेरै लेखिनुपर्छ।

. तपाईंका प्रिय लेखकहरू ?

मन परेका लेखक त धेरै छन् विशेष गरेर मलाई शैली, रूप र विषयमा आफ्नो निजत्व र  सौन्दर्य  निर्माण गर्ने लेखकहरू अझ  धेरै मन पर्छन्। यसरी हेर्दा,  मैले पढेका  लेखक मध्ये मलाई मन पर्ने लेखकहरूमा  एन्तोन चेखोभ, भर्जेनिया उल्फ, अल्बेयर क्यामु, मार्खेज,  हारुकी मुराकामी,  जोन फोसे र  निर्मल वर्मा हुन् ।  यिनीहरूले मानिसको बाह्य स्थूल यथार्थ र घटना भन्दा पर गएर  माइक्रोलेभलको भित्री यथार्थलाई जसरी चित्रण गर्दछन्  तिनले मलाई हिरिक्कै बनाएका छन् । मेरो लागि यी लेखक मात्र होइनन्, आत्माको अनुसन्धाता हुन्।

. कलाकार बन्न चाहनेहरूले पढ्नुपर्ने पुस्तक ?

पुस्तक पढेर मात्र खतरनाक कलाकार  बनिन्छ भन्ने विचारलाई फलो नगर्ने हो भने यी पुस्तक पढ्नाले कलाकार बन्न चाहनेहरूलाई  गज्जबको  प्रेरणा र  मोटिभेसन दिन सक्छन्।  ती किताब हुन्, स्टानिसलावस्कीको ‘एन एक्टर प्रिपिएर’,  माइकेल चखोभको  ‘टु दि एक्टर अन दि टेक्निक अफ एक्टिंग’, रिचार्ड बोस्लोवोसकीको  ‘माई सिक्स लेसन’, उता हेगेनको ‘रेसपेक्ट फर एक्टिंग’, स्टेडा एड्लरको ‘द आर्ट अफ एक्टिंग’, सान्फोर्ड माइजनरको  ‘अन एक्टिंग’ आदि।

. एक दिन बिताउन पाए कुन जीवित वा मृत लेखक वा कुनै पात्रसँग बिताउनुहुन्थ्यो

राजनेताहरू  जनमुखीभन्दा पनि  स्वार्थी र परिवारमुखी भए।  कुर्सी र सत्ता प्राप्तिको लागि  उनीहरू यति लोभी भए कि उनीहरू  जस्तोसुकै अनैतिक काम गर्न पनि तयार देखिन्छन्।  उनीहरूको प्रमुख समस्या भनेको नै जनताप्रतिको एकाउन्टिबिलिटी  बहन नगर्नु हो।

‘स्पुतनिक  स्विटहार्ट’ कि पात्र सुमिरेसँग बिताउन चाहन्छु । आफ्नो नाम जस्तै मखमली तर  मुक्त-उत्साही,  जीवन जस्तै अपूर्ण, भावुक र  विचित्र कि स्वप्नद्रष्टा सुमिरे। यिनी  आख्यानकार हारुकी मुराकामीले लेखेका उत्कृष्ट चरित्रहरू मध्ये एक हुन्।

सिनेमा

. पहिलोचोटि फिल्म हेर्दाको सम्झना कस्तो ?

बाल्यकालका  धुमिल र घुर्मैला  सम्झना छन्  मसँग। ठ्याक्कै कुन फिल्म पहिलो पटक हेरेको हो भनेर  अहिले  सम्झन सक्दिनँ।  यद्यपि राजेश खन्नाको हात्ती साथी मर्दा म खुब रोएको याद छ। कल्पना सिनेमा हलमा फिल्म हेर्न जाँदा  ठूलो लाउड स्पिकरमा बजेको  ‘आज पुरानी राहो से मुझे कोही आवाज न दे…’ भन्ने गीतको पहिलो लाइन अझै पनि याद  आउँछ।

. कस्ता फिल्म हेर्न मन पर्छ ?

फिल्म जुनसुकै जनराको भए  पनि स्टोरी र चरित्रमा स्पष्टता भएको  र मन र मस्तिष्कलाई कहीं न कहींबाट  उद्वेलित र विचलित  गर्ने  फिल्म हेर्न मन लाग्छ।  फिल्म हेर्दा  आफू बसेको सिटको देब्रेतिरको किनारसम्मै पुगियो भने  म सम्झन्छु मेरो लागि त्यो फिल्म साँच्चिकै राम्रो थियो।

. साह्रै मन परेका फिल्म ?

माइकल एञ्जिलो एन्तिनियोनिको ‘ला भेन्चुएरा’, केस्लोवोसकीको ‘थ्री कलर्स ट्रेयोलोजी’,  लुई मालको ‘माई डिनर विथ अंद्रे’ , मार्टिन स्कोर्सेजीको ‘द एज अफ इनोसेंस’, इडवार्ड यांगको ‘ए ब्राइटर समर डे’,  लार्स वान ट्रायरको ‘ब्रेकिङ्ग वेब’,  वान्ग्कार वाईको ‘इन द मुड फर लभ’,  झाङ्ग यी माउको ‘रेज द रेड ल्यानट्रीन’,  बोङ्ग जोन होको ‘मेमोरिज अफ मर्डर’,  आन्द्रेई जेभिनत्सगेवको ‘लभलेस’ आदि साह्रै मन परेका फिल्म हुन्।

. चर्चा सुनेका तर हेर्दा खासै नलागेका कुनै फिल्म छन् ?

‘द हर्ट लकर’, ‘शेक्सपिएर इन लभ’, ‘ठग्स अफ हिन्दुस्तान’, ‘स्लम डग मिलियोनाएर’ ।

. हेर्ने फिल्म कसरी छान्नुहुन्छ ?

पहिले पहिले त छनोटको कुनै विकल्पै थिएन। हलमा  जुन फिल्म लाग्थ्यो त्यो नै हेरिन्थ्यो। कलेजका दिनमा पुगेपछि फिल्म सम्बन्धी पत्रपत्रिका पढ्ने गरियो।  त्यहाँ  लेखिएका रेफरेन्समा  आएका  फिल्म र फिल्ममेकरको नामहरू टिपेर छनोट  गरेर फिल्म हेर्न थाले।  राष्ट्रिय नाट्य विद्यालय दिल्लीमा पढ्दै गर्दा  एक महिनाको फिल्म एप्रिसिएसन कोर्समा लगभग संसारका  सबै सानदार फिल्ममेकरको  प्रतिनिधि फिल्म हेर्ने संयोग जुर्‍यो। पछि   यी मास्टर फिल्म मेकरको अन्य फिल्म खोजी खोजी हेर्न थालेको हुँ।  आजभोलि म फिल्म छान्नु अघि गुगलमा गएर  संसारका प्रतिष्ठित  फिल्म फेस्टिवलमा गएका  विभिन्न सालका  फिल्महरूको सूची हेर्छु र त्यहींबाट छान्छु।  कहिलेकाहीं मन खाने साथीले रिफर गरेका फिल्म हेर्छु। आजसम्म  मैले   फिल्मको रिभ्यु पढेर  या फिल्मको  रेटिंग हेरेर  फिल्मको  छनोट गरेको छैन। मलाई लाग्छ अधिकांश  रिभ्युजहरूले दर्शकलाई  पहिलो चोटि फिल्म हेर्दा हुने  तटस्थ भावको अनुभव नै गर्न दिंदैनन्।

. मन परेका कलाकार वा फिल्ममेकर ?

अभिनेता अभिनेत्रीहरू मेरिल स्ट्रिप, ज्याक निकोल्सन, डेनियल डे लुइस,  केट  ब्लान्चेट,  हाभिएर  बार्डम,  माड्स मिकेल्स आदिको  सिनेमा हेर्दा यिनीहरूको काममा देखिने शिल्पले  मलाई सधैं लोभ्याइराख्दछन्।  कायल बनाउँछन्।

. नेपालमा कस्ता फिल्म धेरै बनुन् जस्तो लाग्छ

जुन सिनेमा हेर्दा   हाम्रो जमिनको काँचो  माटोलाई सुँघ्न सकिन्छ त्यस्ता फिल्म अधिकतम बन्नुपर्छ जस्तो मलाई लाग्छ। चाहे त्यो यथार्थवादी होस् या असंगत या स्वैरकाल्पनिक सिनेमा,  तिनले कतै न कतै हाम्रो समयको संवेदनालाई  समाओस्, जसले  हामी  बाँचिरहेको  जीवन र समाजका विविधतालाई काँधमा बोकोस् र  दर्शकले आफूलाई कहीं न कहीं  सिनेमाको पात्रसँग समभाव राख्न सकोस्।  हामीले हलिउड,  युरोपिएन सिनेमा या बलिउडमा  बन्ने जस्ता सिनेमा  बनाएर  हाम्रा फिल्मको आईडेन्टेटी  बनाउन सक्दैनौं। त्यसको लागि हामी स्थानीय हुनु जरुरी छ।  हामी सिनेमाको भाषा, रूप र शैलीमा जति स्थानीय हुन सक्यौं उति नै वैश्विक हुन्  सक्छौं ।  किनभने हरेक देशका  संस्कृति,  जीवन पद्धति, समाज,  परम्परा, कस्टम आदि फरक छन्।  त्यही फरकपनले हाम्रो  सिनेमाई भाषा  बन्ने हो।   हामीले आफ्नो त्यस्तो सिनेमाई भाषा बनाउन सक्छौं जसरी इरानी, जापानिज  र  चाइनिज फिल्महरूले बनाइरहेका छन्। पछिल्लो समयमा  भारतका रिजनल फिल्महरूले  यस्ता प्रयत्न गरेको देखिन्छ।

. सिनेमाले मानिसलाई यथार्थसँग साक्षात्कार गराएको ठिक कि एकछिन भए पनि अर्कै संसारमा पुर्‍याएको ?

दुवै किसिमको एप्रोच चाहिन्छ।  नत्र सिनेमा उद्योग  मनोक्रोम्याटिक   भएर जान्छ।  नीरस भएर जान्छ। वस्तुतः  सिनेमा  मेरो विचारमा  सत्यको  खोजी गर्ने श्रव्यदृश्य माध्यम हो। मान्छेहरूमा  दिमागमा प्रश्न र जिज्ञासा हालिदिने  सोली  हो।  मान्छे  र समाजलाई  आफनै  संग्लो अनुहार  देखाइदिने  प्रतिविम्ब  हो।  यसको लागि  फिल्ममेकरले  आफ्नो कथालाई कसरी, कुन एप्रोच र  शैलीले   भन्दा आफूले भन्न चाहेको कुरा अझ प्रभावकारी ढंगबाट  व्यक्त हुन्छ त्यसको  एक्सप्लोर गर्न चाहेको हुन्छ। बर्गम्यानको ‘पर्सोना’ र  टम टिक्वेरको ‘रन लोला रन’   सामाजिक यथार्थवादवाला फिल्म हैनन् र पनि मानवको गहिरो यथार्थलाई पोस्टमार्टमको हदसम्म चित्रण गर्छन्।  सत्यजित रे  को ‘पाथेर पंचाली’ वा  बित्तोरियो दे सिकाको ‘बाइसाइकल थिप’ले बनाएको  यथार्थवादी तेवर भिन्न छ।  तर यी दुवैखाले  फिल्ममा अपनाएका  उद्देश्य यथार्थ कुरो बाहिर ल्याउनु नै हो। प्रमुख कुरा त के हो भने  सिनेमा जुन  शैलीले बनाए पनि त्यसले देखाउने संसार, घटना र पात्रको भावना विश्वसनीय हुनुपर्छ।  तर्कसम्मत हुनुपर्छ।  साइफाई  या हरर  जनरामा बनेका फिल्मले  कहाँ हाम्रो जगतको कुरा गर्छन् र तिनीहरूले  हामीले देखिरहेको संसारभन्दा परको संसारमा पुर्‍याउँछन् र पनि त कति त्यस्ता कुरा पनि भनिरहेका हुन्छन्  जुन हामीहरूको  नाङ्गो आँखाले पक्रन सकेको हुँदैन। त्यो नै त सिनेमाको सौन्दर्य हो।  स्वतन्त्रता हो।

घुमफिर सोख

. घुमफिर गर्न कत्तिको रुचाउनुहुन्छ ?

घुमफिर गर्न अति मन पर्छ।  फुर्सद  भएको  बेला  एक–दुई दिनको ट्रेक भए पनि  गरौं जस्तो लाग्छ।  तर  वर्षौं भयो अलि लामो समयको लागि  प्लान बनाएर  घुमफिर  गर्न नगएको।

. सबभन्दा धेरै गएको जान मन भएको ठाउँ ?

प्रधानमन्त्र ए ६५ वर्ष काटेपछि प्रधानमन्त्री बन्न नपाइने नियम-कानुन बनाउँथें र  मन्त्रीहरूलाई उनीहरूको एक्स्पर्टिज अनुसारको पोर्टफोलियॊ  दिएर उनीहरूलाई आफ्नो जीवनकै  सर्वश्रेस्ठ  काम गर्न अनुरोध गर्थें।

अभि सुवेदी दाइले लेख्नुभएको नाटक ‘अग्निको कथा’मा ज्ञान भिक्षुको भूमिका  खेल्दै  गर्दा  हुम्लाको सिमकोटको बाटोहुँदै  मानसरोवर जान मन लागेको थियो।  मानसरोवर पुग्ने त्यो हुटहुटी अझै पनि उस्तै छ।

. सबभन्दा मन परेको ठाउँ वा यात्रा

सन् २०११ मा थियाटर त्रेफन बर्लिनमा  एउटा थिएटर एक्स्पर्टको हिसाबले सहभागी हुँदा गरेको बर्लिन शहरको  यात्रा मलाई अति मन परेको यात्रा थियो।  यसै पनि म  बर्लिनलाई  प्रख्यात नाटक लेखक एवं सिद्धान्तकार  ब्रटोल्ट ब्रेख्तको शहरको रूपमा चिन्थें। यहाँ पुग्नुभन्दा अघि नै यो शहरसँगको सफ्टकर्नर बनिसकेको थियो। यहाँको  आर्ट सेन्टर, थिएटर, म्युजियम र सांस्कृतिक गतिविधि कलाकारहरूको जमघट र कुराकानी मेरा लागि एउटा समसामयिक इन्स्तेलेशन जस्तै थिए। कुनै  शहर यस्ता हुनेरहेछन् जहाँको  सडक  हिंड्दै गर्दा  तपाइँले  केही एक्सप्लोर गर्नुपर्दैन, शहर स्वयंले एक्सप्लोर गर्नको लागि तपाइँको मद्दत गर्छ। तपाइँलाई झकझकाउँछ र स्वयंलाई चियाउने आँखीझ्याल  बनिदिन्छ।  बर्लिन मलाई त्यस्तै शहर लाग्छ। सेकेन्ड वर्ल्ड वार, सामूहिक नरसंहार, बर्लिन सेप्रेशनका ग्लुमी दिनहरूको  घाउसँग बाँचिरहेको भए पनि  यो शहरमा जति दिन बसे  यो कहिल्यै उदास लागेन। यो यात्रा साँच्चिकै  प्रेरणादायी र मनमा काउकुती लगाइदिने खालको थियो।

. गीत कत्तिको सन्नुहुन्छ ? सबभन्दा मन परेका गायक ?

लेख्दा, चित्र कोर्दा, साथीहरूसँगको पार्टी  या यात्रामा हिंड्दा म प्राय: गीत सुन्छु।  जनर बेन्डिंग  इन्स्ट्रुमेन्टल अझै बढी सुन्छु। मन परेका गायक धेरै छन्। यसमध्ये  सबैभन्दा मनपर्ने  गायक  लुइस आर्मस्ट्रोंग,  किशोर कुमार  र  अरुण थापा हुन्।

 . आजभोलि कस्ता गीत, कसको गीत सुनिरहनुभएको

मलाई  मेलोडियस गीतहरू मन पर्छन्।  गीत रचना गर्दा बुनिएका  शब्दहरूले  पनि आकर्षित गर्छन्। आजभोलि म दुआ लिपाको  अल्टरनेटिभ  पप गीत र झुमा लिम्बूको रैथाने गीत  सुनिरहेको छु।

. के कुराको विशेष सोख

किताब र फिल्मको कलेक्शन गर्ने।

. खानाको कत्तिको सोखिन हुनुहुन्छ ? मन पर्ने परिकार ?

भोक लागेपछि मिठो, नमिठो केही थाहा हुँदैन। यसर्थ, खानाको सोखिनभित्र पर्दिनँ म।  मन पर्ने परिकार दाल–भात–तरकारी–अचार  नै हो। कुरिलो, निगुरो, टुसा, सजिउनको तरकारी चाहिं  विशेष मन पर्छन्।

राजनीति

. नेपालको राजनीतिलाई एक वाक्यमा भन्नुपर्दा ?

माझी विनाको डुंगा।

. हाम्रो राजनीतिको मुख्य समस्या के देख्नुहुन्छ ?

राजनेताहरू  जनमुखीभन्दा पनि  स्वार्थी र परिवारमुखी भए।  कुर्सी र सत्ता प्राप्तिको लागि  उनीहरू यति लोभी भए कि उनीहरू  जस्तोसुकै अनैतिक काम गर्न पनि तयार देखिन्छन्।  उनीहरूको प्रमुख समस्या भनेको नै जनताप्रतिको एकाउन्टिबिलिटी  बहन नगर्नु हो।

. नेताहरूको एउटा गुण वा चरित्र सुधार्न मिल्ने भए के सुधार्नुहुन्थ्यो ?

जनतालाई झुटो सपना देखाउने चरित्रलाई सुधार्न  चाहन्छु। त्यस्ता नेताहरूलाई विश्वास नगरे पनि हुन्छ जसले  युटोपियाको वकालत गर्छन्। युटोपिया मानिसको जिन्दगीमा एउटा खतरनाक त्रासदी हो।

. मनपरेका वा प्रभाव पारेका नेताराजनीतिज्ञ ?

बीपी कोइराला, मदन भण्डारी र प्रदिप गिरि।

. मानौं तपाईं प्रधानमन्त्री हुनुभयो, सबभन्दा पहिला के काम गर्नुहुन्थ्यो

६५ वर्ष काटेपछि प्रधानमन्त्री बन्न नपाइने नियम-कानुन बनाउँथें र  मन्त्रीहरूलाई उनीहरूको एक्स्पर्टिज अनुसारको पोर्टफोलियॊ  दिएर उनीहरूलाई आफ्नो जीवनकै  सर्वश्रेस्ठ  काम गर्न अनुरोध गर्थें।

. एक दिन बिताउनुपर्‍यो भने नेपालको-संसारको कुन नेता छान्नुहुन्छ ?

बालेन शाहसँग।  के छ यिनीभित्र यार जुन अरु नेताभित्र छैन! नत्र यसरी एक्लै  विना पार्टीको झन्डा, बेला–बेलाको विरोधको बावजुद  केको ब्याकअपले अहिलेसम्म टिकिरहेका छन्। यिनीले  आफ्नै बारेमा के भन्छन् सुन्न मन छ।

सामाजिक सञ्जाल

अभियक्ति स्वतन्त्रता र वैकल्पिक सूचनाको लागि सामाजिक सञ्जालले नयाँ आयाम नै ल्याएको छ भन्ने कुरामा  कुनै  दुईमत छैन। तर यसलाई दुरुपयोग गरेर गलत सूचना फैलाउने काम पनि  भइरहेको छ।

. दिनको कति घण्टा मोबाइल सञ्जालमा बिताउनुहुन्छ ? बढी चलाउने कुन ?

एकदेखि डेढ घण्टा। फेसबुक बढी चलाउँछु।

. बिहान उठ्नासाथ राति सुत्नेबेला फोन हेर्ने बानी कि छैन ?

दुवै छ। बिहान  बजिरहेको अलार्मको आवाज  बन्द गर्न फोन हेर्छु र  राति  अलार्म अन गर्न फोन  हेर्छु। यो पनि नियमित रूपमा चाहिं होइन।

. सञ्जालको राम्रो नराम्रो पक्ष के लाग्छ ?

सामाजिक सञ्जाल आफैंमा समस्या होइन,  सामाजिक  रूपमा  एकअर्कासँग संचारित हुने र व्यक्तिगत रूपमा बढी सोसलाइज हुने एउटा साधन हो। तर जसरी यसको उपयोग भइरहेको छ  त्यसले   समस्या खडा  गर्न थालेको कुरालाई नजरअन्दाज पनि गर्न मिल्दैन।

सञ्जालको  मलाई मन पर्ने  बलियो पक्ष भनेको भूगोलको अलगअलग कुनामा बसेर पनि आफूले चाहेको ठाउँ  र मानिसबीच  द्रुत सञ्चार पुर्‍याउनु हो।  चाहेको मान्छेसँग  कुराकानी गर्न इमेल, फेसबुक, ह्वाटस्एप,  स्नापच्याटबाट त्यो सुविधा पाइरहेका पनि छौं। सामूहिक रूपमा कुनै मुद्दा या महत्वपूर्ण कुराको लागि आवाज उठाउनुपर्‍यो, कुनै उत्पादनको  मार्केटिङ गर्नुपर्‍यो भने  अथवा  आफ्नै बारेमा प्रचारप्रसार गर्नुपर्‍यो भने एकैपटकमा लाखौं मानिसबीच पुग्न सकिने मौका यसले दिएको छ। युट्युब जस्ता च्यानलले मनोरञ्जनका खुराक मात्र पस्केका छैनन्, कति नवीन  कुराको जानकारी उपलब्ध गराउने  र शिक्षा दिने काम  गरेका छन्। कैयौं युवालाई रोजगारी प्रदान गरेको छ।

सामाजिक सञ्जालमा  आउने प्रत्येक कुरा सबै  राम्रो  हुन्छ भन्ने हुँदैन।  सामाजिक सञ्जालको   अत्यधिक प्रयोगको कारणले मस्तिष्कलाई नकारात्मक  रूपले प्रभावित गर्न सक्छ र हामीलाई डिप्रेसनतिर लिएर जान सक्छ।  यसले फेक न्युज र  हेट  स्पीच   फैलाउनुमा  महत्वपूर्ण  भूमिका खेलेको पनि देखिन्छ।  जसका कैयौं उदाहरण भेटिएका  पनि छन्। साइबर अपराधको खतरा पनि बढाउँछ, मिडिया उपयोगकर्तालाई धोका दिएर र पैसा कमाउने, काम पनि सामजिक सञ्जालका माध्यमबाट भइरहेका छन्।  ह्याक र फिसिङ त्यसकै ज्वलन्त उदाहरण हुन्।  सामाजिक सञ्जालमा  गोपनीयताको अभाव हुन्छ र हाम्रो निजी डेटा पनि चोरी हुने खतरा हुन्छ। सोसल सञ्जाल चलाउनेहरू  फियर अफ मिसिङ आउटबाट ग्रसित हुन सक्छन्।  जसले उनीहरूलाई  केही न केही पोष्ट गर्नुपर्ने सेल्फोहोलिक बनाउँछ।  लाइक र प्रशंसा सुन्ने बानी पर्न थाल्छ र विस्तारै उनीहरू सञ्जाल एडिक्ट बन्न थाल्छन्। र मान्छे समाज, परिवारबाट क्रमश: एक्लिंदै जाने सम्भावना हुन्छ।

. सामाजिक सञ्जालले अभिव्यक्ति स्वतन्त्रता वैकल्पिक सूचना सञ्जालको काम बढी गरेको कि गलत सूचना बढी फैलाउने काम गरेको ?

अभियक्ति स्वतन्त्रता र वैकल्पिक सूचनाको लागि सामाजिक सञ्जालले नयाँ आयाम नै ल्याएको छ भन्ने कुरामा  कुनै  दुईमत छैन। तर यसलाई दुरुपयोग गरेर गलत सूचना फैलाउने काम पनि  भइरहेको छ। कति कम  या धेरै भन्दा पनि यस्तो हुँदै गयो भने के गर्ने यो एउटा  खतरनाक स्थिति  हो।  यसैले आजकल  कसैको निजी स्वतन्त्रतालाई उल्लङ्घन नगरी  यसलाई  नियमन  गर्नुपर्ने हुन्छ भन्ने कुराहरू उठ्नु त्यसैको प्रतिफल हो भन्ने मलाई लाग्छ।

 . सामाजिक सञ्जालले किताब पत्रपत्रिकालाई विस्थापित गरिरहेको वा गर्नेछ भन्ने गरिन्छ त्यस्तो लाग्छ ?

एन्टी हिरोको  फिल्म चल्ने जमानामा  तिनै मेरा आइडल हिरो थिए।  फिल्म हेरेपछि म पनि तिनीहरूले जस्तै गर्न सक्छु जस्तो लाग्थ्यो।  जात्रा, सांस्कृतिक कार्यक्रममा पनि उत्तिकै लगाव थियो। सायद यिनै कुराको कुल जोडले मलाई नाटकमा कलाकार भएर खेल्न प्रेरित गर्‍यो

आजको बदलिंदो युगमा  सोसल नेटवर्क र प्रविधिको  हस्तक्षेपका  कारण किताबहरू  र  पत्रपत्रिका पठनमा ठूलो ह्रास हुँदै आएको हामीले आफ्नो आँखा अगाडि  देख्न थालेका छौं। यसलाई हामी नकार्न सक्दैनौं। अधिकांश युवा आजकल  फेसबुक, ह्वाट्सएप, जीपीटी एप्स  एवम्  इन्टरनेटमा आफ्नो  समय बिताउन  मन पराउँछन्। किताबहरू आजकल प्रकाशन गृहको शोरुम या  हाम्रो घरको  ड्राइंग रूममा  सजावटको सामान बनेर बस्न अभिशप्त छ। प्रेसबाट कागजमा छापिएर आउने पत्रपत्रिका धमाधम अनलाइनमा परिवर्तित भइरहेका छन्। हाल मानिसको किताब पठनप्रति तीव्र गतिमा हुँदै गएको मोहभंग चिन्ताजनक कुरा पनि हो। तर यो क्रम सधैं यस्तै रहिरहन्छ जस्तो मलाई लाग्दैन।  आजभोलि मानिसहरू गिमिक र रहस्यबाट छिट्टै आकर्षित हुन्छन्।  अहिले सोसियल नेटवर्कको प्रभाव त्यही गिमिक भित्र लुकेको छ। जुन दिन  यसको जादु मान्छेको मनबाट उत्रन्छ त्यो बेला फेरि मानिसहरू किताबको अक्षरलाई सुम्सुम्याउन आउनेछन्। किताबको कागजको वासना सुँघ्न लालायित हुनेछन् भन्ने मेरो विश्वास छ।

पेशा/व्यवसाय

. कलाकार हुनुको  राम्रो नराम्रो कुरा के ?

राम्रो कुरा, कलाकारसँग  आफ्नो कल्पना शक्तिलाई अभिव्यक्त गर्ने  र अन्य चरित्रहरूको भूमिका खेल्न सक्ने जुन स्वतन्त्रता छ, त्यो उनीहरूको जीवनका लागि  अमूल्य उपहार हो।  यसले कलाकारलाई विभिन्न खालका भावना र चरित्रलाई आम दर्शकको अगाडि प्रस्तुत गरेर स्ट्याण्डआउट हुनसक्ने  अवसर  प्रदान गर्दछ। यस्तोखाले स्वतन्त्रता सायदै अरु क्षेत्रका मानिसले पाउँछन्। कलाकार हुँदा आफ्नो मात्रै होइन आफूले गर्ने चरित्रको दृष्टिकोणबाट सोच्नुपर्ने भएकोले  कुनै पनि कुरालाई  उसले मल्टीलेअरबाट सोच्न सक्छ। कलाकारको रुपमा स्थापित हुँदा आफ्नै  करियरबाट राम्रोसँग जीवनयापन  गर्न सकिन्छ। कलाकारिताले  व्यक्तिलाई समाज र देशको केन्द्रमा अर्थात् स्पटलाइटमा ल्याउँछ जसले गर्दा उसँग सम्मान एवं प्रिसिद्धि आर्जन गर्ने  अवसर प्रशस्त आउँछन्।

नराम्रो कुरा, अभिनय आजभोलि तीव्र प्रतिस्पर्धा र अत्यन्त डिमान्डिंग  क्षेत्र बन्दै गएको छ।  यसैले यो क्षेत्रमा लाग्नेबित्तिकै सफल भइन्छ भन्ने कुनै  ग्यारेन्टी हुँदैन। जसले गर्दा  उनीहरूले अस्थिर  आर्थिक अवस्था र अस्पष्ट भविष्यको सामना गर्नु पर्ने हुन सक्छ।   लोकप्रियताका कारण सार्वजनिक ठाउँमा  आम मानिसले झैं हिंडडुल  गर्न  गाह्रो हुन्छ।  मिडियाले या फ्यानहरूले निजी र अन्तरंग प्रश्न सोध्न सक्छन् जसले गर्दा व्यावसायिक जीवन र व्यक्तिगत जीवनलाई सेपरेट गरेर हिंड्नु चुनौतीपूर्ण हुनसक्छ।  कामको  तालिका  पनि सरकारी नोकरी जस्तो १० देखि ५ भने जस्तो हुँदैन।  कुनै पनि बेला  काममा जानुपर्ने र कहिलेकाहीं ओभरटाइम पनि काम गर्नुपर्ने हुँदा घरायसी काम, साथीभाइ, परिवार आदिलाई समय दिन पाइँदैन।  जसले गर्दा सामाजिक व्यवहारका  कतिपय कुराहरूमा एउटा कलाकार  मिसफिट  या   स्ट्रेन्जर पनि बन्न सक्छ।

. कुन समयमा तपाईंलाई कलाकार नै बन्नुपर्छ भन्ने लाग्यो ?

ठ्याक्कै यो बेलादेखि कलाकार बन्नुपर्छ भन्ने त्यस्तो स्ट्रोंग मोटिभेसन फिल भएको पलको सम्झना छैन। बाल्यकालदेखि नै फिल्मप्रति मेरो विशेष आकर्षण थियो। एन्टी हिरोको  फिल्म चल्ने जमानामा  तिनै मेरा आइडल हिरो थिए।  फिल्म हेरेपछि म पनि तिनीहरूले जस्तै गर्न सक्छु जस्तो लाग्थ्यो।  जात्रा, सांस्कृतिक कार्यक्रममा पनि उत्तिकै लगाव थियो। सायद यिनै कुराको कुल जोडले मलाई नाटकमा कलाकार भएर खेल्न प्रेरित गर्‍यो। नाटक खेल्दाको पहिलो अनुभव साह्रै रोमाञ्चकारी थियो। स्कुलको सानो  कक्षा कोठामा दर्शकहरूको नजिकै बसेर परफम गर्दा दर्शकको हाँसो, कानेखुशी, ताली र सिट्ठी  सबै कुराको  प्रत्यक्ष महसुस गर्न पाइन्थ्यो। दर्शकले स्याबासी दिन्थे। नाटकमा हुने दर्शक र अभिनेताको  सीधा, जीवन्त सम्बन्ध र अनुभवले त्यसमै आनन्दित हुन थालियो।

. कलाकार नबनेको भए के बन्नुहुन्थ्यो होला ?

खेलाडी। सानैदेखि खेलकुदमा खुब रुचि थियो।  फूटबल, भलिबल  र मार्शल आर्ट मेरा सबैभन्दा प्रिय खेल थिए।

. तपाईंको कोही रोलमोडल

रोल मोडलहरू  व्यक्तिले  बाँचेको  समय, उमेर र  स्थिति अनुसार पनि फरक हुँदै जाँदा रहेछन्। फरक हुँदै जाने रोल मोडलको के कुरा गर्नु। पहिले पहिले त फ्याट्टै भनिदिन्थें। अहिले  यसका  बारेमा  सोच्न पनि छोडिदिएको छु। यदि सोचिहाले भनें पनि मेरो रोल मोडल  त म आफैं हुँ कि क्या हो भने जस्तो लाग्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?