+
+

खुम्बुमा बाढी : थामे खोलाको तटीय क्षेत्रमा कटान जारी   

रासस रासस
२०८१ भदौ १ गते ८:१४

१ भदौ , सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे खोलामा आएको बाढीले तटीय क्षेत्रमा कटान जारी रहेको छ । शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीपछि खुम्बु र तल्लो सोलुका नदी आसपासका क्षेत्रमा कटान जारी रहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार नदीमा पानीको मात्रा केही कम भए पनि कटान भने जारी रहेको छ ।

बाढीले खुम्बु पासाङल्हामु-५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो । बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रुपले क्षतिग्रस्त बनाएको छ ।

खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे जामे क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको छ । उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरी खटिएका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

नेपाली सेना र प्रहरीले थामेबाट ९३ जनाको उद्धार गरी आर्मीक्याम्पमा राखेको छ भने ४२ जनालाई स्थानीय सामुदायिक भवनमा राखिएको छ ।

बाढीले तल्लो सोलुको तटीय क्षेत्रमा पनि असर गरेपछि माप्यदूधकोसी गाउँपालिका-६ का पाँच परिवारलाई प्रहरीले अन्यत्र स्थानान्तरण गरेको छ ।

उक्त बाढी भोटेकोसी हँुदै दूधकोसीमा मिसिँदा सोलुखुम्बुको तल्लो क्षेत्रमा पर्ने माप्य-खुम्बु मितेरी पक्की पुलमा क्षति पुगेको छ ।

बाढीले कोसी आसपासका क्षेत्र कटान गर्दा खुम्बु पासाङल्हामु गाउँपालिका र माप्यदूधकोसी गाउँपालिका जोड्ने दूधकोसी नदी माथिको पक्की मोटरेबल पुलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

पुलमा क्षति पुगेसँगै सल्लेरीबाट खुम्बु सञ्चालन हुँदै आएको सिधा सडक सञ्जालसमेत टुटेको बताइएको छ । प्रहरी नायब उपरीक्षक घिमिरेले भने, ‘बाढीले जिल्लाको तल्लो क्षेत्रमा पनि क्षति पुर्‍याएको खबर छ, सोताङ र थुलुङ दूधकोसी जोड्ने दिप्लीघाटस्थित दूधकोसी नदी छेउमा राखिएको बेलीबृजको सामान बगाएको छ, नदी आसपासका बस्तीमा पनि सामान्य क्षति पुगेको छ । बाढी आउनुको कारण खुल्न सकेको छैन ।’

खुम्बु क्षेत्रबाट उक्त बाढी हिमताल फुटेर आएको हुनसक्ने सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले बताए । कुन हिमताल फुट्यो भन्ने यकीन नभएको उनको भनाइ छ ।

बाढीले गाउँ नै बगाएको स्थानको स्थलगत निरीक्षणमा रक्षामन्त्री मानवीर राईसहित विपत् व्यवस्थापन समितिको टोली आज आउने प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?