+
+
पुस्तक अंश :

रुदानेलाई मन्त्री बन्न मरिचमानको प्रस्ताव

‘माननीयज्यू ! मैले सक्ने जति गरें । सबै कुरा मेरो वशमा छैन’, मरिचमान बसेको ठाउँबाट मलाई स्वागत गर्न उठ्यो । मुस्कुराएँ मात्रै केही समय नबोलेर । मरिचमान बसेको कोठाका भित्तातिर हेरें जहाँ धेरै तस्बिर झुन्ड्याएका थिए । खुल्ला झ्यालबाट हावाभित्र पस्यो ।

टंक चौलागाईं टंक चौलागाईं
२०८१ भदौ १ गते १०:२७

चितुवा

शरीरले केही कुराको जनाउ दिन खोज्दै थियो । पछाडिबाट केही कुराले थिचे जस्तो भारी भयो । त्यही दिन सुन्धारामा एउटा सरकारी मोटरसाइकल आएर मेरो अगाडि रोकियो । असई रहेछ !

‘डीएसपी साहेबले कुराकानी गर्न बोलाउनुभएको छ, जाऔं !’ मोटरसाइकल रोकेर मेरो अगाडि उभिएको असईले भन्यो ।

‘डीएसपीले बोलाएको भए जान्नँ, राज्यले बोलाएको भए पक्राउ पुर्जी देखा’, सहजसँग प्रस्तुत भएँ ।

असईले पक्राउ पुर्जी देखाउन सकेन । छाप्रोतिर गएँ । पुरनमानले मेरै छाप्रो अगाडि आएर गाडी रोक्यो । ऊ राजाको जस्तै गाडी चढ्थ्यो । निकै बेर डेग चलेन । ऊ भएतिर गएँ । उसको गाडी गुड्यो ।

दिउँसो टंकेश्वरमा रामबाबु केसीको घर, रामनारायणको डेरामा पुगें । रामनारायणसँग सरसल्लाह थियो । हाम्रो कुराकानी चल्दै गर्दा प्रहरी नायब उपरीक्षक नारायणचन्द्र ठाकुरको हस्ताक्षर भएको पत्र लिएर पुलिस आयो । जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाले काटेको पत्र थियो । पत्रको व्यहोरामा भनिएको थियो, ‘तपाईंसँग केही कुरा बुझ्नुपर्ने भएकोले प्रहरीसाथ लागी यस कार्यालयमा उपस्थित हुन आउनुहोला । अन्यथा प्रहरीले नछाडि ल्याउने व्यहोरा सूचित गरिन्छ ।’

‘हामी पक्राउ पुर्जी लिएर आएका छौं, हिंड्नुस्’; उनीहरूले प्रहरी नायब उपरीक्षकले पठाएको पक्राउ पुर्जी देखाए ।

‘माननीयज्यू किन हाँस्नुभयो ?’ पक्राउ गर्न आएकामध्ये एकजना प्रहरीले सोध्यो ।

‘सोधपुछको कारण त खुलाउनुपथ्र्याे !’ उनीहरूलाई जवाफ दिएँ । रामनारायण डरायो ।

जिल्ला प्रहरी कार्यालय पुर्‍याए । मेरो अगाडि प्रहरी नायब उपरीक्षक थियो । त्यहाँबाट अञ्चलाधीशकहाँ पुर्‍याउने सल्लाह गरे ।

अञ्चलाधीशको समय नमिलेर डीएसपीको कार्यालयमै राखे । भोलिपल्ट वागमती अञ्चलका अञ्चलाधीशले मेरो बयान लिए ।

‘तँ भातेले मेरो कवितामा त्यस्तो के देखिस् र पक्रन खोजिस् ? ६ महिनाअघि लेखेर छापिएको कविताका कारण जनप्रतिनिधिलाई पक्रिनु सही भएन’, बयानअघि कुराकानीका क्रममा कुरा राखें । मलाई लिएर आउने प्रहरीहरू बाहिर उभिएका थिए ।

‘तपाईंको ‘होसियार’ कविताले शासन व्यवस्थालाई चितुवाको सङ्केत दिएको भनेर मुद्दा परेको छ । तपाईं र तपाईंको कविता छाप्ने पत्रिकाको सम्पादकलाई कारबाही गर्नू भन्ने माथिको आदेश छ’, जवाफ दिंदा अञ्चलाधीशले आत्मविश्वास पूरै गुमाइसकेको थियो ।

‘मैले लेखेको कविता हो छाप्नेको के दोष ? भाते, यही हो तेरो जनतामाथि शासन गर्ने तरिका ?’ आक्रोश बोलिरहें ।

केही समय आफ्ना कुरा राख्नुको केही अर्थ भएन । अञ्चलाधीशको कार्यालयमा लठैतहरूसँग पुरनमान उभिएको थियो । ‘उहिलेदेखि नै हो तँलाई ठिंगुराउने बलियो कारण खोजिरहेको !’ उसको हातमा ‘होसियार’ कविता छापिएको पत्रिका थियो । मैले केही भन्नु उचित ठानिनँ ।

भद्रगोल जेल देश जस्तै लाग्यो !

रामनारायण र विश्वकान्ति कलावती भेट्न आएका थिए जेलमै । रामनारायणलाई स्थानीय चुनावको सबै जिम्मा दिएर पठाएँ….

ठूलैठूला

केपी ओली भएकै ठाउँमा पारे ! केपी अगाडिदेखि नै जेल परेको थियो ।

‘माननीयज्यू, छट्पटिएर केही हुँदैन । यिनीहरूले तपाईंको माग पूरा गर्छन् जस्तो लाग्दैन’ मेरो औडाहा सहन नसकेर एकदिन केपी ओलीले भन्यो ।

‘जनताभन्दा जनप्रतिनिधि ठूला, जनप्रतिनिधिभन्दा मन्त्री ठूला, मन्त्रीभन्दा पुलिस ठूला, पुलिसभन्दा यहाँका नाइके ठूला, सबैभन्दा ठूला त यहाँका अपराधी रहेछन् ! सबै ठूलैठूला भएको देशमा जन्मिएपछि यस्तै हो । कम्तीमा खबर सुन्न पाऊँ भन्दा पनि सुन्दैनन् । जनप्रतिनिधिको अवस्था यस्तो छ भने अरूको के होला ?’ म जीवनमै पहिलो पटक अधीर भएँ । किनभने शरीरले अप्ठ्यारो जनाउ दिन छोडेन ।

‘यो व्यवस्था उल्टाएपछि मात्रै म मन्त्री बन्छु । जनप्रतिनिधिले संविधान आफैंले बनाउने दिन आएपछि मात्रै म मन्त्री बन्छु । यो व्यवस्था टिकाउन मन्त्री बन्दिनँ । दुई जना बसेर बनाएको संविधान रूपचन्द्रले मान्दैन ।’

जेलको समाज देशभन्दा भद्रगोल लाग्यो । कहिले लेखें कविता र सुनाएँ सबैलाई । केही कैदीलाई ‘थाहा’ लेखिदिएँ । थाहा, जनमुखी राजनीतिबारे बुझाएँ । कोही बुझ्न खोज्थे । कसैलाई वास्ता भए पो !

एकदिन मरिचमानले एउटा प्रस्तावपत्र पठायो जेलमै । फिसिक्क हाँसेर मैले त्यही पत्रको पछाडि जवाफ लेखेर पठाएँ ।

‘प्रधानमन्त्री,

तिम्रो मन्त्री नबनेको हुनाले बन्दी बनाइएको कुरा थाहा छैन भन्न मिल्दैन होला । गोप्य हत्या गर्नेहरूका व्यापक संस्था हुने, इमानदार कार्यकर्ता र जनसाधारणको संस्था नहुने, यस्तो अवस्थामा मलाई उपयुक्त ठाउँ यतिखेर जेल नै भएको छ । यहाँ कुनै अपराध भयो भने अपराधी भेटिएन वा चिनिएन भन्न मिल्दैन होला ।

पद र पैसाले किन्न नसकिने राजनीतिक मान्छेलाई सिकार खेल्ने तन्त्र मरिचमान कालमा ह्वात्तै बढेको देखिन्छ, यस्तोमा के गर्ने थाहा चाहियो ।

जनप्रतिनिधि रूपचन्द्र बिष्टलाई गरिबमारा, मुलुकमारा र बजेटमारा मन्त्रीको हुलमा सामेल हुने जनादेश छैन । श्रम गर्ने किसान, मजदुर र नारीको कमाइ खाने शोषक, सामन्त र पूँजीपतिको यस्तो अपराधी व्यवस्था बदल्ने अनि मात्र मन्त्री हुने ।’

राजाको प्रस्तावबारे केपी ओलीले पनि थाहा पायो । आफूले प्रधानमन्त्रीलाई पठाउन लागेको पत्रको व्यहोरा पढेर सुनाएँ ।

देशमा चाडबाडको माहोल सुरु भयो । जेलका कैदीलाई के चाडबाड ! दशैं सकिएर तिहार आउन समय लागेन । जेलमै थिएँ । टीका लगाउन अखिल नेपाल महिला संघका प्रतिनिधिहरू आए । रामनारायणले पठाएको रहेछ । यिनीहरूले टीका लगाउन गरेको अनुरोधलाई नकार्न सकिनँ, ‘मैले यसरी निधारमा टीका लगाएको पहिलो पटक हो । तिमीहरूको अनुरोधलाई नकार्न सकिनँ । किनभने अहिले म जेलमा छु । जे ल्याइदिन्छन् त्यो खाइदिन्छु । केही कुरा मेरो वशमा छैन । जेलभित्र मानिसको वश चल्दैन । अरू कसैको वश चल्छ । जेलभित्रको यो जीवन भोगाइले मलाई नयाँ पाठ सिकाएको छ’ भावुक भएँ ।

जीवनमै पहिलो पटक आफ्नो हातबाट टीका लगाएकोमा महिलाहरू खुसी भए ।

६ महिना बितेपछि जेलबाट छुटें । मरिचमानलाई भेट्न पुगें । उसैले बोलाएको हो । मरिचमान खुसी थिएन तर म बेखुसी देखिइनँ ।

‘माननीयज्यू ! मैले सक्ने जति गरें । सबै कुरा मेरो वशमा छैन’ मरिचमान बसेको ठाउँबाट मलाई स्वागत गर्न उठ्यो । मुस्कुराएँ मात्रै केही समय नबोलेर । मरिचमान बसेको कोठाका भित्तातिर हेरें जहाँ धेरै तस्बिर झुन्ड्याएका थिए । खुल्ला झ्यालबाट हावाभित्र पस्यो । बगैंचामा केही चरा कराएको सुनें । केही क्षण प्रकृतिको आनन्द लिएँ । केही समयपछि गाली गर्न थालें, ‘देखिहालिस् मकवानपुरमा जनमुखीको तागत । भूमिगत भएर पनि विजयी भएँ । तँ मेरो ६ महिना कसरी फिर्ता दिन्छस् ? जनप्रतिनिधिलाई थुन्ने ? जनताको मतलाई जेलमा हाल्ने तँ त मन्डले रहेछस् । जेलमा त झन् महामन्डले बसेका रहेछन् । सब मुखमा बुजो लगाएर बसेका थिए । मलाई पनि बस् भन्थे’ मेरो आक्रोश बिस्तारै निस्कियो ।

‘माथिको आदेश हो । मेरो नियन्त्रणमा थिएन । राजा वीरेन्द्र्र आइबक्सियो । मन्त्रिमण्डलमा राखौं भनिबक्सेको छ’ मरिचमानले पुरानै ढिपी दोहोर्‍यायो ।

‘बोल्न र लेख्न नपाउने योभन्दा निरङ्कुशता के भयो ? बल्ल आज आएर जिल्लामा जनमुखीहरू थुनिएका छन् भन्ने सुनें । यसको दोष केही दिनका लागि राजा बनेका ज्ञानेन्द्रलाई लगाएर पन्छिने हौला तिमीहरू !’ मेरो आक्रोश झन् बढ्यो ।

‘तपाईंको विचार बदलिएको सुन्न चाहन्छु । देशका लागि तपाईं चाहिन्छ । सँगै भएर गर्न सकिने धेरै काम छन्’, मरिचमानले आग्रह गरिरह्यो ।

‘ओहो मार्क्स आज हाम्रो छाप्रोमा आइपुगे ! यी छाप्रोका मार्क्स हरेक छाप्रोमा पुग्न सक्लान् ?’ स्वनाम साथीले गहिरो कुरो बोल्यो । ‘हरेक छाप्रेकहाँ मार्क्स पुगेको दिन, हरेक छाप्रेले मार्क्सबारे थाहा पाएको दिन, हरेक छाप्रेले राजनीति बुझेको दिन, स्वर्णिम हुनेछ’ उसको भनाइमा मैले प्रतिक्रिया दिएँ ।

‘जनप्रतिनिधिलाई पुलिसको एउटा सानो मान्छे आयो र समातेर लग्यो । एउटा थुनुवा पुर्जीमा सही गरायो । त्यसभन्दा अगाडि केही झ्यासम्यास आएर बढी नकराउनुस् हामी तपाईंलाई जुनसुकै कागजमा सही गराउन सक्छौं भने । मैले नम्र पारामा जवाफ दिएँ, ल्याप्चे गराउनसम्म त सकौला तर हस्ताक्षर गराउन सक्दैनौ । मेरो कुरो सुनेर उनीहरू निलोकालो भए । ल, तपाईंलाई राजद्रोहको मुद्दामा हाल्यौं । अब पुर्पक्षका लागि जेल जानुस् भनेर पठाए । ६ महिना थुने । हिजो अञ्चलाधीश अफिस लगेर धेरै बेर कुराएर एउटा सुब्बाले छुट पुर्जीमा सही गरायो । अर्काे असईले फेरि झ्यालखानामै लगेर हाल्यो । भोलिपल्ट जेलरले अर्काे छुटुवा पुर्जीमा सही गराएर, ल अब जता जान्छौ जाऊ भनेर छाडिदियो । अघिल्लो दिन सही गराएपछि फेरि किन जेल हालियो र किन फेरि भोलिपल्टै छाडियो ? यो कुराको जवाफ छ तँसँग ? कोसँग छ जवाफ ? राष्ट्रिय पञ्चायत सदस्य भएको, जनमुखी सदस्य रूपचन्द्र अर्थात् जसरु, मलाई मत दिने जनताको घरदैलोमा पुग्नुपर्ने बेलामा थुनेर राखिस् । ती छाप्रेको समेत अपमान गरिस् । मेरो ६ महिनाको क्षतिपूर्ति दिने को हो ? यहाँ सबै ठूलैठूला !’

‘म तपाईंको कुरा बुझ्छु । तपाईंको विचारको सम्मान गर्छु । सम्मान मात्रै गरेको छैन, केही कुरा फलो गर्ने कोसिस पनि गरेको छु । म अहिले जुन पदमा छु, त्यो पदमा बसेर निर्दलीय र निष्पक्ष हुने कोसिस गरेको छु’, मरिचमान भावुक भयो । बस्न आग्रह गर्‍यो । खानेकुरा मगायो । त्यहीं रात बिताउन राजी भएँ ।

‘मैले बुझेको छु केही कुरा । विना कारण थुनिनुपर्‍यो । यसरी यो मुलुकको हित हुन्छ ? देशको सर्वाेच्च पदमा तँ छस् । तँसँग गुनासो नगरे कोसँग गरौं !’ पहिलो पटक यसरी भावुक भएँ । कठोर आवाज नरम भयो । एक किसिमको पराजय जस्तो !

‘कति कठिन रहेछ यो कुर्सी । कति ठाउँबाट षड्यन्त्र हुँदोरहेछ । दबाब कति झेल्नुपर्ने रहेछ । हिजोआज आएर बल्ल बुझें । गल्ती भएको छ भनेर थाहा पाउँदापाउँदै पनि टुलुटुलु हेर्नु शिवाय उपाय लाग्दो रहेनछ । सुन्ने कोही छैनन्’, मरिचमानका आँखा भिजे ।

‘त्यही भएर यो व्यवस्था उल्टाएपछि मात्रै म मन्त्री बन्छु । जनप्रतिनिधिले संविधान आफैंले बनाउने दिन आएपछि मात्रै म मन्त्री बन्छु । यो व्यवस्था टिकाउन मन्त्री बन्दिनँ । दुई जना बसेर बनाएको संविधान रूपचन्द्रले मान्दैन । जेलभित्रै सडाउँछन् जस्तो मानेको थिएँ । तेरो ठाउँमा कोही अर्काे पन्चे हुन्थ्यो भने पचाउँथ्यो मलाई अनेक अनेक दोष थोपरेर !’ मरिचमानको बाध्यता उनको अनुहारमा प्रष्ट थियो । मैले उनको बाध्यता पढ्दै भनें ।

‘अहिलेको अवस्थामा सूर्यबहादुर थापा जस्तोले पनि रूपचन्द्रको पक्षमा बोल्यो । तपाईंले राजनीति बहुदलीय व्यवस्था निर्दलीयका पक्षमा बोल्नुभयो । सबैले चाहने मान्छे हो । त्यसकारण तपाईं यहाँ चाहिन्छ भनेर जोड दिएको हुँ’, बोल्दाबोल्दै मरिचमानले पानी पियो ।

रूपचन्द्र विष्ट थाहा, जनमुखी अभियान

‘खानेकुरा मगाइस् । तयार हुँदै होला । भोक लाग्यो, खान दे । उड्दाउड्दैको चराको पखेटा काटिदिए जस्तो भएँ’, कुराकानी खानेकुरातिर मोडें ।

‘केही भएको छैन । तपाईं पहिलाको जस्तै स्वतन्त्र हुनुहुन्छ । झन् बलियो भएको मान्छु’, मरिचमानले जवाफ दियो । जवाफ दिनुअघि मेरो इच्छा पूरा गर्न कामदार मार्फत खानेकुरा मगायो ।

‘यो शरीरको ढ्याकले बलियै देखिन्छु । अझै पनि कुस्ती प्रतियोगितामा भाग लिएर जित्न सक्छु । कुस्ती जितेर मुलुक मुस्कुराउने होइन रहेछ ! मुलुकको हित हुने होइन रहेछ ! जित्नुपर्ने हो, सामन्ती विरुद्धको लडाइँ ।’ बोल्दैबोल्दै ल्याएको खानेकुरा खान थालें । मरिचमानले पनि साथ दियो ।

‘राजा वीरेन्द्र्र ठिक छन् है, उनमा आफ्नोभन्दा बढी मुलुकको उन्नतिको चिन्ता छ । मेरो कुरा सुने भनेर पक्ष लिएको होइन’ वीरेन्द्र्रका बारेमा मात्रै कुरा निकालिनँ । धेरै व्यक्तिले प्रवेश पाए कुराकानीमा ।

‘म तपाईंको बाटो पछ्याउने वाचा गर्छु’, मरिचमानले छोटो वाक्य बोल्यो ।

‘जेलमा राजैराजा बस्दा रहेछन् । केही समय त लाग्यो त्यहीं बस्ने भातेहरूले पो देश हाँकेका हुन् कि ! साना कोही भेटिनँ । सबै ठूला मात्रै !’ यति भनेर केहीबेर जेलभित्र घटेका घटना बताएँ ।

मध्यरातसम्म मुलुकको हित र छाप्रेको उन्नतिले हाम्रो कुराकानीमा प्रवेश पाइरह्यो । कुराकानी तब रोकियो जब निदाएँ ।

मरिचमानलाई भेटेर निस्किंदा सशङ्कित भएँ । सुराकीले पिछा गरिरहेको जस्तो लाग्यो । थाहा नदिई हत्या गर्ने हुन् कि जस्तो ! पुरनमान र उसका लठैतहरू सबैभन्दा खतरनाक भए ।

सधैं चढ्ने स्कुटर छाप्रोमै छाडेर सार्वजनिक गाडी चढें । बस्ने र खाने पहिलाका ठाउँमा पस्न छाडें । जेलबाट छुटेर कसैलाई खबर नगरी एकाएक दामनपालुङमा झुल्किएँ । आफूले जिताएर पठाएका जनप्रतिनिधि र आफ्नो भलो चाहने जनमुखीलाई देखेर मजदुर, किसान र छाप्रेमा उत्साह छायो । सारा मकवानपुर उज्यालो भयो । थाहा पाएका जनमुखी भेट्न आए ।

जनमुखी साथमा लागेर हेटौंडा पुगें । केही जनमुखीलाई थुनेका रहेछन् । उनीहरूको खोजी गर्न जनमुखीकै टोली बन्यो । म भने कतै गइनँ ।

‘सामन्तीसँग विवेक हुँदैन । विवेक हुँदो हो त यो व्यवस्था परिवर्तन भइसक्थ्यो’, यो उद्घोष हो शम्भुरामको ।

कहाँ बस्छु ? कहाँ जान्छु ? स्वयम् सँगै हिंडेका जनमुखीले समेत थाहा पाउन छोडे । हिंड्ने बाटो बदलें ।

जर्मन जाने विषयमा राजासँग भएको कुराकानी सुनायो मरिचमानले । मैले इच्छा देखाउँदा मरिचमान निकै हर्षित भयो । नवराज सुवेदी लगायत केही पन्चेको टोलीमा म पनि जर्मनी गएँ ।

जर्मनीमा मार्क्स जन्माउने चेलीहरूको स्वतन्त्रता देखेर चकित परें । हाम्रा चेलीहरूको हविगत सम्झें ।

सिन्को

आफ्नै छाप्रोमा बसेको थिएँ । काठमाडौंमा मेरो व्यस्तता बढ्यो । निर्मल लामा, शम्भुराम श्रेष्ठ, स्वनाम साथी आए । जर्मनीबाट ल्याएका मार्क्सका किताब र मार्क्सको फोटो अङ्कित सामानमा ध्यान लगाए ।

‘ओहो मार्क्स आज हाम्रो छाप्रोमा आइपुगे ! यी छाप्रोका मार्क्स हरेक छाप्रोमा पुग्न सक्लान् ?’ स्वनाम साथीले गहिरो कुरो बोल्यो ।

‘हरेक छाप्रेकहाँ मार्क्स पुगेको दिन, हरेक छाप्रेले मार्क्सबारे थाहा पाएको दिन, हरेक छाप्रेले राजनीति बुझेको दिन, स्वर्णिम हुनेछ’ उसको भनाइमा मैले प्रतिक्रिया दिएँ ।

अरू गए । शम्भुराम र म दुवै जना कुरा गर्दै विष्णुमती किनारतिर लाग्यौं ।

विष्णुमती किनारमा धुलोसँग खेलिरहेका केटाकेटीसँग खेल्न थालें । केटाकेटीसँग खेलेको र कुरा गरेको रुचि लिएर हेरे शम्भुरामले ।
‘मेरो राजनीति यहींबाट सुरु भएको थियो । बच्चा हुँदा यहींका बच्चासँग खेल्न आउँथें । त्यतिबेला पनि यहाँका बच्चाहरू पढ्न जाँदैनथे । अहिले पनि यी स्कुल जाँदैनन् । यत्रो ५० वर्षमा के फरक भयो ? छाप्रेहरू किनारको किनारमै छन् । टाठाबाठा र सामन्तीहरू माथितिर बढेको बढेकै छन् । त्यतिबेला पुरनमानहरू मजदुरलाई खाल्डामा पुर्थे । अहिले तिनै सामन्तीका अग्ला अग्ला घर देखिन थाले । सन्तानलाई युरोप अमेरिका पठाउन थाले । सामन्तीकै अहिलेसम्म सत्तामा हालीमुहाली छ । यी छाप्रे किनारको किनारमै छन्’, बच्चाले जसरी नै खेलमा सामेल हुँदै भनें ।

हामी बालुवा भित्रभित्रै लुकाएको मसिनो सिन्को बाहिरबाटै थाहा पाउनुपर्ने खेल खेल्न थाल्यौं । एउटा बच्चोले दुब्लो हातमा सिन्को लियो । उसले मसिनो सिन्को लुकाउन बालुवाको लामो थुप्रोभित्र हात घुसार्‍यो । उसले कहाँसम्म हात पुर्‍याउँछ भनेर मैले हेरिरहें । सिन्को कहाँ छोड्छ त्यही अन्दाजमा बालुवाभित्रको सिन्को पत्ता लगाउनुपर्थ्यो ।

‘ल थाहा पाउनू सिन्को कहाँ छ ?’ बच्चाले बालुवाभित्र सिन्को लुकाइसकेपछि भन्यो मलाई । मैले निकै अन्दाज लगाएँ । एक ठाउँमा सिन्को होला भनेर हात राखें । त्यसपछि बच्चाले बालुवाको थुप्रो भत्काउँदै गयो । मैले हात राखेको ठाउँमा खोतलें सिन्को थिएन । सिन्को अन्तै रहेछ । बच्चाहरू रमाए, ‘थाहा पाउनुभएन । तपाईंले सिन्को थाहा पाउन सक्नुभएन ।’

‘थाहा पाउन सजिलो छैन । चाहेर पनि सजिलो छैन’, खेल हेरिरहेको शम्भुरामले भने ।

खेलपछि शम्भुराम नजिकै उभिएर पानीको बहावलाई नियाल्न थाल्यो । खोलाको बगरमा सबैतिर खाल्डाखुल्डी थियो । बालुवा निकालेका ती खाल्डाखुल्डीले गर्दा पानी सहजसँग बग्न सकेको थिएन ।

‘यिनीहरूको जीवन सहजै बग्न नसकेको यही पानी जस्तै भइदियो’ शम्भुरामले जवाफ दिनलाई विष्णुमतीमा बग्न नमानेको पानीको सहारा लिए ।

‘सामन्तीसँग विवेक हुँदैन । विवेक हुँदो हो त यो व्यवस्था परिवर्तन भइसक्थ्यो’, यो उद्घोष हो शम्भुरामको ।

कुराकानी गर्दै हामी केही पर पुग्यौं ।

खोला किनारामा केही छाप्रा थपिएछन् ! केही पुराना भत्किए । मजदुरहरू काम गरिरहेका थिए । कुनै कुनै खाल्डामा बच्चाहरू माछाका भुरा समात्न प्रयत्न गरिरहेका थिए । कतै बच्चाहरू पौडिरहेका थिए । एक ठाउँमा निकै अगाडिदेखि नीलोे बाक्लो प्लास्टिक थुप्रिएको देखें । होसियारीपूर्वक प्लास्टिक निकालें । पोको पारेर छाप्रोमा ल्याएँ ।

सफा गरी प्लास्टिकलाई शौचालयको ढोकामा ठोकें । केही खान हामी छाप्रे होटल पुग्यौं । शम्भुराम केही दिन मसँगै बसे ।

(रूपचन्द्र विष्टको जीवनीमा आधारित चौलागाईंको प्रकाशोन्मुख उपन्यास ‘रुदाने’ को एक सम्पादित अंश)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?