+

साफ यु-२० च्याम्पियनसिप : नेपाल र भारतको नजर उपाधिमा, अन्य टोलीको लक्ष्य फाइनल पुग्ने

२०८१ भदौ  १ गते १४:३५ २०८१ भदौ १ गते १४:३५
साफ यु-२० च्याम्पियनसिप : नेपाल र भारतको नजर उपाधिमा, अन्य टोलीको लक्ष्य फाइनल पुग्ने

१ भदौ, काठमाडौं । आइतबार काठमाडौंमा सुरु हुने साफ यु-२० च्याम्पियनसिपका लागि सहभागी ६ वटै टोलीले तयार रहेको बताएका छन् ।

शनिबार एन्फा मुख्यालयमा भएको पत्रकार सम्मेलनमा नेपालसहित ६ टोलीका कप्तान र प्रशिक्षकले प्रतियोगिताका लागि तयार रहेको बताएका हुन् ।

प्रतियोगितामा पाकिस्तानबाहेक दक्षिण एसियाली सहयोग संगठन सार्कमा आवद्ध ६ देश सहभागी छन् ।

यसअघि प्रतियोगिताका सबै खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तय थियो । तर एएफसी च्यालेन्ज कप प्लेअफ अन्तर्गत नेपालको चर्च ब्वाइज र भुटानको पारो एफसीबीच भएको खेलपछि दशरथ रंगशालामा खेल खेलाउन लायक नभएको भन्दै उद्घाटनसहित समूह चरणको खेलहरु एन्फा कम्प्लेक्समा गर्न लागिएको छ ।

उद्घाटन खेलमा घरेलु टोली नेपालले आइतबार श्रीलंकासँग खेल्नेछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ ।

घरेलु टोली नेपाल, साविक विजेता भारत र साविक उपविजेता बंगलादेश प्रतियोगिताको उपाधि जित्न मुख्य दाबेदारको रुपमा छन् ।

भुटानले पनि पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आएको छ । यस्तै माल्दिभ्स र श्रीलंका पनि प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने लक्ष्यमा छ ।

घरेलु टोली नेपालका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले यस पटक  राम्रो तयारी भएकोले उपाधि जित्ने लक्ष्य रहेको बताए ।

‘हामीले ४०-४५ दिन एन्फा कम्प्लेक्समै तयारी गर्‍यौं । खेल पनि यहीँ हुँदैछ । त्यो हाम्रो लागि फाइदा हुनेछ’, श्रेष्ठले भने, ‘हामीले चर्च ब्वाइजसँग तीन अभ्यास खेल खेल्यौं । त्यसले पनि फाइदा पुग्नेछ ।’

यो पटक नेपाली टिममा ए डिभिजन लिग र नेपाल सुपर लिगबाट खेलिसकेका खेलाडीहरु भएकाले उनीहरु अनुभवी रहेका श्रेष्ठले बताए ।

नेपाली टिममा गत वर्ष घरेलु मैदानमै साफ यु-१९ खेलेका अधिकांश खेलाडी छन् ।

गत वर्ष सेमिफाइनलमा भारतसँग पराजित भएपछि उपाधि जित्न नसकेको नेपालले यसपटक त्यो गल्तीलाई सच्याएर राम्रो प्रदर्शन गर्ने लक्ष्यमा छ ।

यस्तै नेपालका कप्तान कुशल देउबाले पनि टिम पूर्ण रुपमा तयार रहेको र लक्ष्य उपाधि रहेको बताए । ‘तयारी राम्रो भएको छ । टिमको मेन्टालिटी राम्रो छ । टिम युनिटी राम्रो छ । गत वर्ष अलि एक्सपोजर कमी थियो । यसपटक खेलाडीहरुले राम्रो एक्सपोजर पाएका छन् । हाम्रो लक्ष्य च्याम्पियनसिपको उपाधि जित्नु हो ‘

यस्तै साविक विजेता भारतका प्रशिक्षक रन्जन चौधरीले पनि उपाधि जित्ने लक्ष्य रहेको बताए ।

बंगलादेशका प्रशिक्षक एकेएम मारुफुल हकले गत वर्ष फाइनल पुगेकोले यस पटक पनि फाइनल पुग्नका लागि दबाब रहेको बताए । उनले यसपटक टिममा अनुभवी खेलाडीहरु पनि रहेकोले फाइनल खेल्ने लक्ष्य रहेको बताए ।

बंगलादेशका कप्तान मृहदी हसन स्राबोनले पनि बंगलादेशको लक्ष्य फाइनल पुग्ने रहेको बताए ।

यस्तै माल्दिभ्स र श्रीलंकाका प्रशिक्षक र कप्तानले पनि फाइनल पुग्ने लक्ष्य रहेको बताए ।

भुटानका कप्तान पेमा जाङ्गपोले यस पटक भुटानको टिम सहभागिता जनाउन मात्र नआएको भन्दै इतिहास बनाउन चाहेको बताए ।

फोटो : साफ

खेलकुद फुटबल यु-२० साफ च्याम्पियनसिप
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय