+

प्रिन्सको ओलम्पिक अनुभव : हाम्रो स्तर नै पुगेको छैन

२०८१ भदौ  १ गते १९:५० २०८१ भदौ १ गते १९:५०

‘हाम्रो दुई महिना तयारीले पदक आउँदैन । त्यसको लागि दीर्घकालीन सोच्नुपर्छ । खेलाडीहरुलाई ठूला ठूला प्रतियोगिता खेलाउदै अनुभव दिलाउनुपर्छ । सरकार र निजी क्षेत्र दुबैले साथ दिनुपर्छ ।’

प्रिन्सको ओलम्पिक अनुभव : हाम्रो स्तर नै पुगेको छैन

१ भदौ, काठमाडौं । विश्वकप नहुने खेलका खेलाडीको सबैभन्दा ठूलो सपना ओलम्पिक खेल्ने नै हुन्छ । नेपालजस्ता देशका लागि ओलम्पिक झनै ठूलो सपना हुने गरेको छ ।

त्यसको मुख्य कारण त्यहाँसम्म पुग्ने बाटो धेरै कठिन हुनु हो । ओलम्पिकमा सहभागिता जनाउन थालेको ६ दशकको अवधिमा सन् २००४ मा तेक्वान्दोकी संगीना वैद्य, सन् २००८ मा तेक्वान्दोकै दीपक विष्ट र यसवर्ष टेबल टेनिसका स्यान्टु श्रेष्ठ मात्र छनोट चरण पार गरेर पुगेका छन् ।

अन्य ८९ खेलाडी युनिभर्सालिटी कोटाबाट सहभागिता जनाएका छन् । कमजोर राष्ट्रका खेलाडीले पनि ओलम्पिक खेलुन् भनेर यो कोटा दिने गरिन्छ ।

यसै साता फ्रान्सको पेरिसमा सकिएको गृष्मकालीन ओलम्पिक २०२४ मा ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल युनिभर्सालिटी कोटाबाट ओलम्पिकमा सहभागी भए । ब्याडमिन्टनमा नेपालबाट ओलम्पिक खेल्ने पहिलो खेलाडी प्रिन्सले ओलम्पिक खेल्ने टुंगो ३० वैशाखमा मात्र लागेको थियो ।

‘म त्यो समय पोखरामा थिएँ । अर्जेन्टिनी भाषाको एक समाचारमा ब्याडमिन्टनबाट ओलम्पिकमा छनोट भएका खेलाडीको नाम थियो । ट्रान्सलेट गरेर हेरेपछि म छनोट भएको थाहा पाएको थिएँ’ प्रिन्सले भने, ‘ओलम्पिक खेल्छु र कुनै मेडल जित्छु भन्ने मेरो ठूलो सपना थियो । त्यसैले उक्त खुसी म वर्णन गर्न सक्दिन ।’

छनोट भएको १/२ दिन मै उनी काठमाडौं आए । बसुन्धारामा गौतम कठायतको प्रशिक्षणमा अभ्यासलाई निरन्तरता दिए ।

ओलम्पिकमा उनी छनोट हुनुको एउटा आधार गत चैतमा चीनमा भएको एसिया ब्याडमिन्टन च्याम्पियनसिपमा बहराइनका अदनान इब्राहिमलाई २–१ को सेटमा हराउनु थियो ।

यी दुई खेलाडीमध्ये एकले युनिभर्सालिटी कोटा पाउने सम्भावना धेरै थियो । प्रिन्ससँगै पुरुषतर्फ सुरिनामका सोरेन ओप्ति र महिलातर्फ माल्दिभ्सकी अब्दुल रजाक फथिमाथले ब्याडमिन्टनको यस कोटाबाट खेल्न पाएका थिए ।

जेठ चौथो साता प्रिन्स श्रीलंकाको राजधानी कोलम्बोस्थित राइजिङ स्टार्स ब्याडमिन्टन एकेडेमीमा प्रशिक्षण गर्न गए । उनलाई इन्डोनेसियाका टोनी वाहयुदी र राखेप ब्याडमिन्टनका प्रशिक्षक सुदीप योञ्जनले श्रीलंकामा प्रशिक्षण दिएका थिए । प्रिन्सले राष्ट्रिय खेलकुद परिषद्(राखेप) र नेपाल ओलम्पिक संघको सहयोगमा ४० दिन श्रीलंकामा अभ्यास गरे ।

प्रशिक्षकको नाम दर्ता ढिलाइ हुँदा ओलम्पिकमा नेपालबाट उनको कोही पनि प्रशिक्षक जान पाएनन् । श्रीलंकाबाट नेपाल फर्केको एक हप्तामै उनी प्रशिक्षकबिना नै पेरिस गएका थिए । ओलम्पिक आयोजक कमिटीलाई नेपाल ब्याडमिन्टन संघले आग्रह गरेपछि एल साल्भाडोरका प्रशिक्षकले प्रिन्सलाई ओलम्पिक समयमा प्रशिक्षण दिएका थिए ।

समूह पी मा परेका प्रिन्सको पहिलो खेल डेनमार्कका विश्व ब्याडमिन्टन वरीयताका शीर्ष दुईभित्रका खेलाडी भिक्टर एक्सेल्सेनसँग थियो ।

भिक्टर प्रिन्सले आफ्नो करिअरमा सामना गरेको सबैभन्दा शीर्ष खेलाडी थिए । भिक्टर २०१६ ओलम्पिकको रजत र २०२० का स्वर्णधारी थिए । विश्व च्याम्पियनसिप ब्याडमिन्टनमा २०१७ र २०२२ मा स्वर्ण जितेका थिए । युरोपको प्रतिस्पर्धामा १७ भन्दा बढी स्वर्ण जितेका खेलाडीसँग नेपाली खेलाडीले भिड्नु आफैंमा ठूलो उपलब्धी थियो ।

प्रिन्सलाई भिक्टरबारे थाहा थियो । खेलतालिका आउनेवित्तिकै उनले थप अध्ययन गरे ।

भिक्टरसँग खेल्नु अघिल्लो रात (११ साउन) मा प्रिन्सले आफ्नो शतप्रतिशत दिदै कन्ट्रोलका साथ खेल्ने सोच बनाए । अभ्यासमा गरेको कुरा कोर्टमा देखाउने योजना बनाए ।

भिक्टरसँग उनी २–० को सोझो सेट (२१–८ र २१–६) ले पराजित भए । भिक्टरले फाइनलमा सिंगापुरका लोह केआन येवलाई सोझो सेटमा २१–९ र २१–१७ ले हराउँदै स्वर्ण जिते । यो उनको ओलम्पिकमा दोस्रो स्वर्ण थियो ।

भिक्टरविरुद्ध आफ्नो प्रदर्शनमा उनी खुसी छन् । भिक्टर जस्तो अनुभवी र च्याम्पियन खेलाडीसँग खेल्न पाउनु नै प्रिन्स ओलम्पिकमा आफ्नो उपलब्धी मान्छन् ।

प्यासन लेभल, ब्याडमिन्टन खेलाडीमा हुनुपर्ने गुण, क्षमता र ठूला प्रतियोगिताका लागि गर्नुपर्ने तयारीजस्ता कुराहरु आफूले सिकेको उनी बताउँछन् ।

ओलम्पिकमा स्वर्ण विजेता भिक्टर र नेपालकोबीचको फरक भने व्यवस्थापन र प्रशिक्षण नै हो । उनीसँग देशभित्र प्रशिक्षण र अभ्यासको राम्रो अवसर, व्यक्तिगत प्रशिक्षक, फिजियोलगायत विभिन्न सुविधा थियो । तर नेपालसँग प्रशिक्षक समेत थिएनन् । अरु सेवा सुविधा त टाढाको कुरा ।

आफ्नो प्रशिक्षणबिना ओलम्पिक खेल्न प्रिन्सलाई सहज थिएन । कोच बिना नै उनले अन्तर्राष्ट्रिय प्रतियोगिता पहिलो पटक खेलेको भने होइन । धेरै पटक यसरी खेल्नुपरेको छ । कोर्टभित्र र बाहिर उनी आफैंले आफूलाई सम्हाले ।

प्रिन्स ओलम्पिकमा राम्रो खेल्न आफ्नो स्तर अझै नपुगेको अनुभूति गर्छन् ।

प्रिन्स दोस्रो खेलमा साउन १४ मा आयरल्यान्डका न्हात गुयेनसँग २१–७ र २१–५ ले पराजित भएका थिए । साउन १६ मा इजरायलका मिसा जिल्बेरम्यानसँग २१–१२ र २१–१० ले पराजित हुन पुगेका थिए ।

नेपाली खेलाडीले सन् १९६४ को टोकियो ओलम्पिकबाट सहभागिता जनाउन थालेपनि सहभागितामा मात्रै सीमित छ ।

दीर्घकालीन सोच र लगानीका साथ अघि बढ्न सके नेपाली खेलाडीले ओलम्पिकमा पदक जित्न सक्ने प्रिन्स बताउँछन् ।

नेपाली खेलाडीले पनि ओलम्पिकमा पदक जित्न सक्छन् । तर त्यसको लागि त्यही अनुसारको सेवा सुविधा र योजना हुनुपर्छ ।

प्रतियोगिता सुरु हुन भन्दा एक–दुई महिना अगाडिको तयारीले पदक जित्न पर्याप्त पुग्दैन । ‘मान्छेहरु चार पाँच वर्षदेखि ओलम्पिक जित्न लागिपरेका हुन्छन्, उनी भन्छन्, ‘हाम्रो दुई महिना तयारीले पदक आउँदैन । त्यसको लागि दीर्घकालीन सोच्नुपर्छ । खेलाडीहरुलाई ठूला ठूला प्रतियोगिता खेलाउदै अनुभव दिनुपर्छ । सरकार र निजी क्षेत्र दुबैले साथ दिनुपर्छ ।’

खेलाडीका लागि पोषणयुक्त खाना, नियमित अभ्यास, राम्रो सेवा सुविधा भयो भने ब्याडमिन्टन मात्रै नभएर सबै खेलमा नेपालले राम्रो गर्ने उनले बताए ।

अझ ब्यक्तिगत खेलमा नेपालले झनै राम्रो गर्न सक्छ । ब्यक्तिगतमा एक जनाले राम्रो गर्दा हुन्छ । तर समूहका खेलमा एकले मात्रै राम्रो गरेर पुग्दैन ।

नेपालमा ब्याडमिन्टनको तत्कालै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल छैन । त्यसैले प्रिन्स एक महिनापछि अष्ट्रेलिया जादैछन् । त्यहाँ उनले मेलबर्न र सिड्नीमा प्रतियोगिता खेल्नेछन् । त्यहाँबाट हुने अनुभवले आगामी दिनमा फाइदा हुने प्रिन्स बताउँछन् ।

क्रिकेट र फुटबललाई छाड्ने हो भने नेपालमा तलब पाउने खेल निकै कम छन् । ब्याडमिन्टन खेलाडीले तलब पाउँदैनन् । भत्ता पाउन ठूला प्रतियोगिता खेल्नुपर्छ । उनको अहिलेको आम्दानीको स्रोत भनेको नेपाल एपीएफ क्लबको जागिर र स्पोन्सर (प्रायोजक) हुन् ।

धेरै खेलाडीले भविष्य सुरक्षित गर्ने भन्दै देश छाडेका छन् । ‘नामले मात्रै खान दिदैन । नेपालमा राम्रो भइदिए खेलाडी विदेश किन जान्थे, राम्रो भयो भने म नेपालमै बस्छु’, प्रिन्स भन्छन् ।

प्रिन्सको आगामी लक्ष्य अर्को ओलम्पिक खेल्ने हो । ओलम्पिकमा पुन कोटा पाउने वा नपाउने भन्ने चार वर्षपछि नै थाहा हुनेछ । आफूले खेल्ने सबै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन र उपाधिको लक्ष्य राखेका छन् ।

त्यति मात्रै होइन सरकार, ब्याडमिन्टन संघ, स्पोन्सर सबैको राम्रो साथ र ट्रेनिङ पाएमा ओलम्पिकमा पदक जित्ने विश्वास पनि उनमा छ ।

ओलम्पिक खेलकुद प्रिन्स दाहाल ब्याडमिन्टन
लेखक
भुपेन्द्र जि.सी.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय