+
+

देशभर वर्षा, नदी किनारका क्षेत्रमा सतर्कता अपनाउन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २ गते ७:२१

२ भदौ, काठमाडौं । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मध्यमदेखि भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षा भएसँगै खोला तथा नदीहरुमा पनि बहाव बढेको छ ।

आज बिहान कपिलवस्तुको भगवानपुर, दाङको लालमटिया, रोल्पाको लिवाङ, बाँकेको नेपालगञ्ज एयरपोर्ट र खजुरा, बर्दियाका रम्भापुर र रानीजरुवा, दैलेखको कट्टी र कैलालीको टीकापुरमा मध्यमदेखि भारी वर्षा भएको छ ।

६ घण्टाको अवधिमा गोरखाको आरुघाट र पर्साको मुडलीमा पनि भारी वर्षा मापन भएको छ ।

विगत १२ घण्टाको अवधिमा देशका अधिकांश स्थानमा वर्षा भएको छ । १२ घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा रुपन्देहीको भैरहवामा मापन भएको छ । त्यहाँ १७८ मिलिमिटर वर्षा मापन भएको छ ।

अहिले वर्षा बागमती र लुम्बिनी प्रदेशमा बढी भइरहेकाले खोला तथा नदीहरुमा बाढीको जोखिम बढेको छ ।

काठमाडौं उपत्यकास्थित वाग्मती नदीको खोकना जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास पुगेको छ । जलसतह बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रहरूमा रहने र यात्रा गर्नेहरुलाई बिहान १० सम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

यसैगरी कपिलवस्तु जिल्लाको भगवानपुर, दाङ जिल्लाको लालमटिया र बागासोती, प्युठान जिल्लाको हन्सपुर, माडी नदी र बिजुवार, रोल्पाको सुलिचौर र लिबाङ गाउँ तथा ती स्थानका आसपासमा सामान्यदेखि मध्यम वर्षा भएकाले बाढीको जोखिम छ ।

प्युठान जिल्लास्थित लुंग्री नदीको खुंग्री जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।

दैलेख जिल्लास्थित कट्टी वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको छ । ६ घण्टाको अवधिमा त्यहाँ ११६.२ मिलिमिटर वर्षा भएको छ ।

त्यसैले बेस्तडा खोला र अन्य स-साना खोलामा बहाव केही बढ्ने भएकाले नदी तटीय क्षेत्र र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले भनेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुन न्यून चापीय रेखा सरदर स्थानकै आसपासमा छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि परामर्श जारी गर्दै सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन सुझाव समेत दिएको छ ।

महाशाखाको बुलेटिनमा उल्लेख भएअनुसार आज दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । आज राति मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

सोमबार दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु तथा कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

सोमबार राति भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?