+
+

आउँदो महिना सार्वजनिक हुनेछ आइफोन १६, यस्ता छन् विशेषता

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २ गते ८:१८

काठमाडौं । एप्पलले आफ्नो आइफोनको नयाँ संस्करण आइफोन १६ सिरिज सार्वजनिक गर्न अब करीब १ महिना मात्रै बाँकी छ । यद्यपि उसले ठ्याक्कै तिथिमिति भने सार्वजनिक गरिसकेको छैन ।

तथापि सार्वजनिक भएको एक समाचार अनुसार आगामी सेप्टेम्बर १० मा आइफोन १६ सिरिज सार्वजनिक गर्नका लागि एप्पलले विशेष समारोह आयोजना गर्नेछ ।

एप्पलले हरेक वर्ष सेप्टेम्बरमै आफ्नो नयाँ आइफोन लञ्च गर्ने गर्दछ । कम्पनीले आफ्ना आइफोनका अधिकांश पछिल्ला मोडेलहरुको घोषणा सेप्टेम्बरको दोश्रो वा तेश्रो हप्तामै गर्ने गरेको छ ।

यसैबीच एप्पलको आगामी नयाँ आइफोन संस्करण एप्पल १६ सिरिजमा हुने विभिन्न फिचर्सका बारेमा केही समाचारहरु चुहिसकेका छन् ।

डिजाइनमा कस्तो हुनेछ परिवर्तन ?

गत वर्ष एप्पलले आइफोन १५ मा पन्चहोल डिजाइन पेश गरेको थियो भने प्रो मोडेलमा एक्सन बटन जोडेको थियो । यो वर्ष कम्पनीले फोटोग्राफी अनुभवलाई उत्कृष्ट बनाउनका लागि एउटा क्याप्चर बटन पनि थप्न सक्नेछ । यसले जुमिङ फङ्सन वा क्विक क्यामेरा शटरको रुपमा काम गर्नमा सहयोग गर्ने बताइएको छ ।

आइफोन १६ को लिक भएको तस्वीरबाट पत्ता लाग्दछ कि एप्पलले ब्याक क्यामेरा सेन्सरको स्थान पनि बदलेको छ । साथै डुअल क्यामेरा सेटअपलाई भर्टिकल क्यामेरा लेआउटमा देखिएको छ ।

एप्पलले आफ्नो नयाँ मोडेलको आइफोनमा एउटा थप गुलाबी रंगको पनि घोषणा गर्न सक्ने र पहेँलो रंगको आइफोन मोडेल नल्याउने सम्भावना छ ।

सार्वजनिक भएको समाचार अनुसार आइफोन १६ तथा आइफोन १६ प्लस चाहिँ कालो, हरियो, गुलाबी र सेतो गरी चारवटा रंगमा उपलब्ध हुनेछ ।

कस्तो हुनेछ डिस्प्ले ?

एप्पलका केही आइफोन मोडेलको डिस्प्लेको आकारमा पनि वृद्धि गर्ने योजना बनाइरहेको छ । समाचार अनुसार आइफोन १६ प्रो मोडेलको स्क्रिनको आकार ६.३ इन्चको हुनेछ । प्रो म्याक्स मोडेलको स्क्रिनको आकार ६.७ बाट बढेर ६.९ इन्चको हुनेछ ।

नयाँ चिपसेट र अन्य फिचर्स

आइफोन १६ सिरिजमा नयाँ ए १८ चिपसेट हुने बताइएको छ । यो सिरिजका सबै मोडेलमा ८ जिबीको र्याम हुनेछ, जसले नयाँ एप्पल इन्टेलिजेन्स फिचर्सलाई सपोर्ट गर्नेछ ।

एप्पलले आइफोन १६ सिरिजका लागि ग्राफीन थर्मल सिस्टममा काम गरिरहेको बताइएको छ । जसमा प्रो मोडेलमा मेटल ब्याट्री हुनेछ ताकि अधिक तात्ने समस्या नहोस् ।

आइफोन १६मा ३५६१ मिलिएम्पियर आवर क्षमताको ब्याट्री हुनेछ । त्यस्तै आइफोन १६ प्लसमा ४००६ मिलिएम्पियर आवरको ब्याट्री हुने बताइएको छ ।

त्यसैगरी आइफोन १६ प्रोमा ३५७७ मिलिएम्पियर आवर र प्रो म्याक्स मोडेलमा ४६७६ मिलिएम्पियर आवर क्षमताको ब्याट्री रहने छ । आइफोन १६ सिरिजमा ४० वाटको तारयुक्त चार्जिङ र २० वाटको म्यागसेफ चार्जिङ फिचर हुनेछ ।

कस्तो हुनेछ क्यामेरा ?

एप्पलले आफ्नो नयाँ आइफोनको क्यामेराका लागि एन्टी रिफ्लेक्टिभ अप्टिकल कोटिङ प्रविधिको परीक्षण गरिरहेको छ । यसले लेन्स फ्लेयर तथा घोस्टिङ जस्ता अवरोधलाई कम गरेर फोटोको गुणस्तरमा सुधार गर्नेछ ।

आइफोन १६ प्रो मोडेलमा ४८ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा लेन्स हुनेछ । जसबाट कम प्रकाशमा पनि उच्च गुणस्तरीय तस्वीर खिच्न सकिनेछ ।

त्यस्तै ४८ मेगापिक्सेलको एचय Pro RAW वाइड लेन्स रहने छ । आइफोन १६ प्रो म्याक्समा सुपर टेलिफोटो पेरिस्कोप क्यामरा पनि हुनसक्ने बताइएको छ ।

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?