+
+

बजार पूँजीकरण गणना विवादित, जीडीपीसँग तुलना किन ?

वास्तविक भन्दा ठूलो पूँजीकरण देखिँदा यसले भोलिका दिनमा नीति निर्माण क्रममा समेत प्रभाव पार्न सक्ने र त्यो बजारमा प्रत्युत्पादक हुन सक्ने चिन्ता लगानीकर्तामा छ ।

कमल नेपाल कमल नेपाल
२०८१ भदौ २ गते ९:०४

२ भदौ, काठमाडौं । बजारमा सूचीकृत सम्पूर्ण सेयरको पछिल्लो कुल मूल्य नै पूँजीकरण हो । बिहीबार बजार बन्द हुँदा यस्तो पूँजीकरण रकम ४७ खर्ब ६५ अर्ब पुगेको छ । यो पूँजीकरण रकम हालसम्मकै उच्च हो ।

पूँजीकरण रकम नै बजारको आकार हो । यही पूँजीकरणका आधारमा विश्वकै ठूलो स्टक मार्केट अमेरिकाको न्युयोर्क स्टक एक्सचेन्ज हो । जसको पूँजीकरण २ सय ९० खर्ब डलर बराबर छ ।

यहाँको बजारमा पूँजीकरण गणना विधिलाई लिएर अहिले ठूला लगानीकर्ताले असन्तुष्टि जनाएका छन् । उनीहरूले हालको पूँजीकरण गणना विधि त्रुटिपूर्ण भन्दै आएका छन् । हालको गणना विधिका कारण बजारको आकार वास्तविक भन्दा धेरै ठूलो देखिएको छ ।

वास्तविक भन्दा ठूलो पूँजीकरण देखिँदा यसले भोलिका दिनमा नीति निर्माण क्रममा समेत प्रभाव पार्न सक्ने र त्यो बजारमा प्रत्युत्पादक हुन सक्ने चिन्ता लगानीकर्तामा छ ।

‘एकातिर पूँँजीकरण रकम वास्तविक भन्दा धेरै ठूलो र गलत छ, अर्कातिर भोलि यो पूँँजीकरण रकम कुल गार्हस्थ उत्पादन (जीडीपी) भन्दा ठूलो हुन थालेपछि बजार विरुद्ध नै स्वर घन्किन थाल्छ,’ नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष समेत रहेका लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले भने, ‘अनि, नीति निर्माण पक्षले बजार विरुद्ध कसिला नीति लिन सक्छन् । त्यसले बजारको स्वतन्त्र चलायमानलाई असर पार्छ । त्यही भएर बजारको पूँजीकरण गणना विधि तत्कालै सच्याउनुपर्छ ।’

लगानीकर्ताको नजरमा कसरी त्रुटिपूर्ण छ बजारको पूँजीकरण ?

नेपालको सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको सेयर दुई किसिममा वर्गीकरण गरिएको छ– एउटा संस्थापक समूह र अर्को सर्वसाधारण समूह । दुई समूहको सेयर मूल्य पनि दुई थरी नै छ । सधैं दुई थरी मूल्य हुने सेयरको पूँजीकरण गणना भने जबर्जस्ती एउटै मूल्यमा गरिएको छ ।

यसलाई उदाहरणबाट बुझौं । वाणिज्य बैंकमा सबैभन्दा ठूलो पूँजीकरण भएको नबिल बैंकको सूचीकृत सेयर संख्या २७ करोड ५ लाख ६९ हजार ९ सय ८४ हो । जसमा सर्वसाधारण समूहको सेयर संख्या ११ करोड २४ लाख ४८ हजार ८ सय ८५ कित्ता अर्थात् ४१.५६ प्रतिशत हो भने बाँकी १५ करोड ८१ लाख २१ हजार ९९ कित्ता अर्थात् ५८.४४ प्रतिशत संस्थापक सेयर हो । नबिलको सर्वसाधारण सेयरको पछिल्लो कारोबार मूल्य ६ सय ६० र संस्थापकको ३ सय ७ रुपैयाँ छ ।

नेप्सेले हाल पूँजीकरण गणना गर्दा सबै सेयरको मूल्यलाई ६ सय ६० मानेर गर्ने गरेको छ । जसले गर्दा नबिलको पूँजीकरण १ खर्ब ७८ अर्ब हुन आयो । तर, लगानीकर्ताको भनाइ अनुसार गणना हुने हो भने नबिलको पूँजीकरण रकम १ खर्ब २२ अर्ब मात्रै हुन आउँछ । हिसाब : (१५,८१,२१०९९ × ३०७) + (११,२४,४८,८८५ × ६६०) ।

नबिल बैंकको मात्रै पूँजीकरण रकम वास्तविक भन्दा ५६ अर्ब बढी देखिएको छ । यस अनुसार हरेक बैंक तथा वित्तीय संस्थाको पूँजीकरण रकम वास्तविक भन्दा बढी गणना हुँदै आएको छ । हरेक बैंक तथा वित्तीय संस्थाको साधारण भन्दा संस्थापक सेयर संख्या बढी हुन्छ, तर गणना गर्दा सबै सेयरलाई साधारणकै मूल्यमा गर्ने गरिएको छ ।

‘जब संस्थापक र सर्वसाधारणको मूल्य नै फरक हुन्छ, सोही विधि अनुसार नै पूँजीकरण गणना गरे पो वास्तविकता देखिने हो,’ पौडेलले भने ।

त्यस्तै बजारमा कयौँ कम्पनीको अस्तित्व नै सकिएको छ । ती अस्तित्व सकिएका दर्जन बढी कम्पनीको पूँजीकरण पनि नेप्सेमा गणना हुँदै आएको छ ।

सूचीकृत भएका तर वर्षौंदेखि कारोबार नभएका अरुण वनस्पति उद्योग, विराट सुज, बुटवल धागो कारखाना, हिमालयन फ्लोर, गोरखकाली रबर उद्योग, हरिसिद्धि इँटा उद्योग, ज्योति स्पिनिङ मिल, नेपाल वनस्पति घि उद्योग, रघुपति जुट मिल, भृकुटी कागज कारखाना, श्रीराम सुगर मिल, क्यापिटल मर्चेन्ट फाइनान्स, क्रिस्टल फाइनान्स, हिमालयन फाइनान्स, सम्झना फाइनान्स, नेपाल सेयर मार्केट्स, याक एन्ड यती होटलको पनि पूँजीकरण रकम भने जोडिँदै आएको छ ।

यी १९ कम्पनीको कुल पूँजीकरण रकम साढे ५ अर्ब दैनिक जोडिँदै आएको छ । यसले पनि सेयर बजारको आकारलाई वास्तविक भन्दा ठूलो देखाएको छ ।

के भन्छ नेप्से ?

नेप्सेले भने हालको गणना विधि नै विश्वव्यापी विधि रहेको भन्दै यसलाई परिमार्जन गर्ने कुनै तयारी गरेको छैन । ‘सर्वसाधारण समूहको मात्रै कुल पूँजीकरण हेर्ने हो भने लगानीकर्ताले फ्लोट मार्केट पूँजीकरण हेरे हुन्छ,’ नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने, ‘संसारभरि बजारको पूँजीकरण भनेकै सूचीकृत सबै सेयरको कुल मूल्य हो र गणना विधि उही हो ।’

विश्वका अन्य बजारमा सर्वसाधारण र संस्थापक भनी छुट्टाछुट्टै मूल्यमा कारोबार हुँदैन, सबैको मूल्य एउटै हुन्छ । जसले गर्दा पूँजीकरणमा एकरूपता कायम छ । तर, नेपालमा भने बैंक तथा वित्तीय संस्थाका हकमा सर्वसाधारण र संस्थापकको फरक–फरक मूल्यमा कारोबार हुने गर्छ ।

संस्थापक र सर्वसाधारण भनी फरक–फरक मूल्यमा कारोबार हुने गरेका कारण अहिले पूँजीकरण गणना विधिमा प्रश्न उठेको छ । समस्या गणना विधिमा नभई एउटै कम्पनीको सेयरमा संस्थापक र सर्वसाधारण भनेर मूल्य छुट्याउनुमा रहेको नेप्सेका अधिकारीहरू दाबी गर्छन् ।

पूँजीबजारका जानकार तथा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक गोपाल भट्ट पूँजीकरणको विषयमा विवाद गर्नै नपर्ने बताउँछन् । ‘संस्थापक सेयर कारोबार नहुने तर साधारण सेयर कारोबार भइरहने भएकाले नेप्सेले बजारमा भएको कुल सेयरलाई साधारण मूल्य नै मानेर पूँजीकरण गणना गरेको छ । नेप्सेको यो एउटा गणना विधि हो,’ उनले भने, ‘कारोबार भइरहने साधारण सेयरको पूँजीकरण हेर्नलाई छुट्टै विधि छँदैछ ।’

सर्वसाधारण सेयरको मात्रै पूँजीकरण जनाउने सूचक फ्लोट मार्केट पूँजीकरण हो, जुन नेप्सेले छुट्याएर वेबसाइटमै देखाएको छ । ‘लगानीकर्ताको यही गुनासो आउन सक्छ भनेर हामीले पहिले नै सर्वसाधारणको सेयर कारोबारलाई सेन्सिटिभ फ्लोट इन्डेक्स र त्यसको पूँजीकरण छुट्याएर देखाउने गरेका हौं,’ नेप्से प्रवक्ता पराजुलीले भने ।

फ्लोट मार्केट पूँजीकरण र कुल पूँजीकरणको अन्तरमा भारी भिन्नता देखिन्छ । फ्लोट मार्केट पूँजीकरण हाल १६ खर्ब ८० अर्ब रुपैयाँ बराबर छ । कुल पूँजीकरण भने ४७ खर्ब ६५ अर्ब छ । जसले गर्दा कुल पूँजीकरणको आकारले निकै ठूलो देखिएको छ । पूँजीकरणको आकारबाट कोही पनि डराउनु नपर्ने नेप्सेको भनाइ छ ।

बजार पूँजीकरणमा भएको परिवर्तन अनुसार नै नेप्से परिसूचक पनि घटबढ हुने हो । ३० माघ २०५० देखि सबै कम्पनीको पूँजीकृत रकमलाई १ सय आधार मानेर नेप्से गणना सुरु भएको थियो ।

मानौं, त्यस दिन १० अर्ब पूँजीकृत रकम थियो र भोलिपल्ट पूँजीकृत रकम १० अर्ब २० करोड पुग्यो भने नेप्से पनि २ प्रतिशत बढेर १ सय २ अंक पुग्यो । विश्वका अन्य देशमा पनि पूँजीकरणकै आधारमा परिसूचक घटबढ हुने गरेको छ ।

यदि बजारको पूँजीकरणलाई नयाँ विधिबाट गणना गर्ने हो भने नेप्से सूचकमा पनि अझ वास्तविकता हुने लगानीकर्ताको भनाइ छ ।

पूँजीकरणलाई जीडीपीसँग तुलना गरेर आत्तिए लगानीकर्ता

विश्व सेयर बजारका चर्चित लगानीकर्ता वारेन बफेटले जीडीपीभन्दा माथि गएको बजार पूँजीकरणलाई ‘ओभरभ्यालुड’ भनी अथ्र्याएका थिए । लगानी गर्नुअघि जीडीपीसँग पूँजीकरणलाई तुलना गर्नेगरी उनले छुट्टै इन्डेक्सन नै खडा गरेका थिए । यस्तो बेलामा लगानीकर्ताले सचेत भएर लगानी गर्नुपर्ने उनको मान्यता थियो ।

तर पछि विभिन्न विकसित मुलुकहरूको पूँजीकरण कहिलै पनि जीडीपीभन्दा तल नझर्ने निश्चित भइसकेपछि बफेट आफैले पूँजीकरणलाई जीडीपीसँग तुलना गर्नु जरुरत नरहने भनी अर्थ्याए ।

अहिले नेपालमा कतिपय लगानीकर्ताले बजारको पूँजीकरण र जीडीपी तुलना गरेर रणनीति बनाउन थालेका छन् । हालको बजार पूँजीकरण ४७ खर्ब ६५ अर्ब पुगिसकेको छ । त्यस्तै हालको जीडीपी ५७ खर्ब ४ अर्ब रुपैयाँ छ । यस हिसाबले अन्य नयाँ सेयर नथपिएको अवस्थामा अब बजार २० प्रतिशत मात्रै बढ्दा पनि जीडीपीसँग भेट हुन्छ ।

यही कारण कतिपय लगानीकर्तामा बजार जीडीपीभन्दा माथि जान नपाउने वा कसिलो नीति बनाएर जान नदिइने त होइन भन्ने शंका उब्जिएको छ ।

यसमा डराउनु नै नपर्ने बताउँछन् राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भट्ट । अहिले पनि विश्वका विकसित देशको बजार पूँजीकरण जीडीपीभन्दा ठूलो अकारमा रहेकाले बजार पूँजीकरणलाई जीडीपीसँग तुलना गरेर आत्तिनु नपर्ने उनको भनाइ छ ।

छिमेकी भारतकै बजार पूँजीकरण जीडीपीको १ सय २२ प्रतिशत अर्थात् जीडीपीभन्दा २२ प्रतिशत ठूलो छ । अमेरिकाको बजार पूँजीकरण पनि जीडीपीको १ सय ९० प्रतिशत छ । त्यस्तै जापानको बजार पूँजीकरण जीडीपीको १ सय ५३ प्रतिशत छ ।

यीबाहेक अस्ट्रेलिया, क्यानडा, साउदी अरब, दक्षिण कोरिया, नेदरल्यान्ड, स्विजरल्यान्ड, दक्षिण अफ्रिका, इरान स्विडेन, यूएई लगायत कयौँ देशको बजार पूँजीकरण  जीडीपीभन्दा धेरै छ । यसकारण बजार पूँजीकरणलाई जीडीपीसँग तुलना गरेर डराउनु नपर्ने जानकार बताउँछन् । तर भोलिका दिनमा नेपालमा जीडीपीभन्दा बजार पूँजीकरण माथि पुग्दा त्यसकै आधारमा बजारसँग सम्बन्धित नीतिमा कडाइ गर्न थालियो भने प्रतित्युत्पादक हुन सक्नेछ ।

लेखकको बारेमा
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?