+
+

‘ओराली लागेको’देखि ‘जलनसम्म’, एकल साँझमा रामकृष्ण ढकालले बनाए मन्त्रमुग्ध (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २ गते १२:१२

काठमाडौं । घडीको सुईले बेलुकाको सवा ७ बजेको जनाउ दिंदै थियो । उद्घोषकले केही औपचारिकता पूरा गरेपछि सात जना ब्यान्ड सदस्यले मीठो धुन बजाए, चिरपरिचित राष्ट्रिय गीतको । अनि मञ्चको बायाँ साइडबाट ‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्’ गाउँदै मञ्चमा उक्लिए- नेपाली संगीतमा शिखरको यात्रा गरेका सर्वप्रिय गायक रामकृष्ण ढकाल ।

शुक्रबार साँझ काठमाडौंको गैह्रीधारास्थित एलिस रिसेप्सनको हलमा भरिभराउ दर्शकमाझ रामकृष्ण आफ्नो उही ‘सिग्नेचर’ शैलीमा प्रस्तुत हुँदा दर्शकले गडहडाहट तालीले स्वागत गरे । सबैलाई अभिभादन गरेर उनले गीतलाई पूर्णता दिए राष्ट्रिय भावना जगाउँदै ।

आठ वर्षपछि उनी एकल सांगीतिक साँझमा गाउँदै थिए । नेपाल जर्मन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको आयोजनामा ‘मेलोडियस अफ द सोल : एन इभेन्ट विथ रामकृष्ण ढकाल’ नाम दिइएको लाइभ कन्सर्टमा रामकृष्णले १७ वटा गीत गाएर दर्शकलाई मन्त्रमुग्ध बनाए, नचाए पनि ।

कालीप्रसाद रिजालको शब्द र आलोकश्रीको संगीत रहेको ‘बिहान उठ्नेबित्तिकै’ गाइसकेपछि रामकृष्णले सबैलाई स्वागत गर्दै भने- निकै वर्षपछि फेरि यसरी एकल साँझमा प्रस्तुत हुन पाउँदा निकै खुसी लागेको छ । यहाँहरु जस्तो लभ्ली अडियन्सको साथले अबको दुई घण्टा पूर्ण सांगीतिक र मनोरञ्जनात्मक बन्नेछ भन्ने विश्वास लिएको छु ।’ यसो भन्दै गर्दा उनले आफ्ना ‘गडफादर’ गोपाल कर्माचार्यलाई पनि सम्झिए ।

रामकृष्ण  रामकृष्ण ढकालको एकल साँझ भन्ने बित्तिकै त्यसमा हार्मोनियम बजाउँदै गाएको दृश्य आइहाल्छ । अनि त्यसपछि पलेंटी मारेर बसी हार्मोनियम बजाउँदै आफ्नो सात जनाको बाद्यवादक टोलीको साथमा एकपछि अर्को कालजयी, लोकप्रिय र मनछुने गीतहरु गाएर मन्त्रमुग्ध पारे ।

दोस्रो गीत स्वरुप उनले ‘मन पराउने हजार भेटिन्छन्’ गाए । गीत गाइरहँदा उनी संगीतकार शम्भुजीत बास्कोटा र गीतकार कालीप्रसाद रिजाललाई सम्झिरहेका थिए । त्यसपछि क्रमैसँग दैव तेरो, चरीले छाडेर गइहाली गाए । दुवै गीतमा दर्शकले भरपुर साथ दिए ।

अनि पाँचौं प्रस्तुति स्वरुप रामकृष्णले आफ्नो सिग्नेचर सङ ‘ओराली लागेको’ गाउँदा तालीको पारो अरु चढ्यो । किनकि यो गीतले नै उनलाई कुना-कुनाका श्रोताहरुसम्म पुर्‍याएको । २६ वर्षअघि सार्वजनिक ‘आशा’ एल्बममा समावेश यो गीत रामकृष्णको खास चिनारी बनेर आएको थियो । गाउँदै गर्दा उनी भन्दैथिए- ‘मलाई पहिले पहिले नदेख्नेहरुले पनि हरिणको चाल भो गाउने गायक भनेर चिन्नुहुन्थ्यो । हरिण कता पुग्यो तर यही शब्द भएको यो गीतलाई यहाँहरुले सधैं सँगालेर राखदिनुभएको छ।’

त्यसलगत्तै उनले आफ्नै जीवनीमा आधारित भएर बनेको फिल्म ‘आशीर्वाद’मा समावेश ‘मलाई यो जिन्दगीले कहाँ पुर्‍यायो’ गाए । त्यसपछि ‘वचन तोडे’ सुनाए । गीत गाइरहँदा उनी आफ्नो बाद्यवादक टोलीलाई प्रशंसा र धन्यवादको धाप मारिरहेका थिए ।

रामकृष्णको कन्सर्टमा नारायणगोपालको गीत सधैं अपेक्षित नै हुन्छ । आखिर रामकृष्णलाई जुनियर नारायणगोपाल भनेरै पनि पुकारिन्छ । एकल साँझमा रामकृष्णले गाए नारायणगोपालको ‘कहाँ दुख्छ घाउ’ । यसमा पनि दर्शक मन्त्रमुग्ध भएर झुमे ।

त्यसपछि पछिल्लो समय लोकप्रिय गीत ‘ममा पनि जलन छ’ गाएका उनले पछिल्लो पुस्ताका दर्शकको पनि मनछुने कोसिस गरे । ‘जलन’पछि उनको युगल गीत प्रस्तुति सुरु भयो, अनि साथ दिन आइन् लोकप्रिय गायिका टीका प्रसाईं ।

टीकाले रामकृष्णले भारतीय लेजेन्ड लता मंगेसकरसँग गाएको ‘बाँचुन्जेलीलाई’मा साथ दिइन् । टीकाको गायकीबाट पनि दर्शक थप आनन्दित बने । त्यसपछि रामकृष्णलाई टीकाले ‘माया गर्नेको चोखो माया’मा साथ दिइन् ।

यससँगै पहिलो चरणको प्रस्तुति सकिएको रामकृष्णले घोषणा गरे । अनि उनले केहीबेर ब्रेक लिए । त्यसपछि टीकाले आफ्ना चर्चित गीत ‘नाइँ मलाई थाहा छैन’ र ‘माया लुकी लुकी’बाट दर्शक नचाइन् ।

केहीबेरपछि रामकृष्ण फेरि मञ्चमा उक्ले, पहिरन परिवर्तन गरेर । दोस्रो चरणमा केही रोमान्टिक गीतहरु प्रस्तुत गरे टीकाको साथमा उनले ।

दोस्रो चरणको सुरुवातमा फिल्म ‘चिनो’को नारायणगोपाल र आशा भोस्लेको स्वरमा रहेको ‘तिम्रो मायामा लुकेको कुरा’ गाए । दर्शक नाच्न थालिहाले । त्यसपछि नारायणगोपाल र ज्ञानु राणाको स्वरमा रहेको ‘मान्छेको माया यहाँ’ गाए ।

त्यसपछि रामकृष्णले गाए पछिल्लो समय सर्वाधिक रुचाइएको फिल्म ‘हिजोआजका कुरा’मा समावेश उनको गीत ‘माया जदौ’ । यो गीतमा पनि उनलाई टीकाले भरपुर साथ दिइन्, दर्शकहरु मञ्च अगाडि नै आएर नाच्न थाले । ‘छिटको गुन्यु’, ‘नजिक आउनुमा’ गाएपछि कार्यक्रमको बिट मार्नेबेला गाए- ‘मोहनी लाग्ला है’ । फिल्म ‘चिनो’को यो गीत सकिएपछि गिटारिस्ट देवाशिष तामाङको गिटारको ‘अद्वितीय’ कलासँगै राति साढे १० बजे रामकृष्णको ‘एकल सांगीतिक साँझ’को समापन भयो ।

रामकृष्णलाई ड्रममा रुपेश सिंह, ढोलकमा कुन्दन शाहशंकर, तबलामा जगन्नाथ धौगोडा, बाँसुरीमा किरण बराल, बेस गितारमा कृष्ण लिम्बू, लिड तथा रिदम गितारमा देवाशिष तामाङ र किबोर्डमा राहुल भुजेलले साथ दिएका थिए । कार्यक्रमलाई साधना कला केन्द्रले व्यवस्थापन गरेको थियो ।

अन्य तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?