+
+

नेपाली पढ्न-लेख्‍न नजान्ने अनुयाको लोभलाग्दो नेपाली संगीत मोह  

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २ गते १६:२०

काठमाडौं । ‘भ्वाइस किड्स’मा प्रतिस्पर्धा गर्नकै लागि ११ वर्षीया अनुया तामाङ काठमाडौं आएकी थिइन् । देवनागरी लिपि चिन्दिनन् तर नेपाली भाषा र संगीतप्रति उनको मोह लोभलाग्दो छ ।

अमेरिकामा जन्मे-हुर्केकी अनुया टेलिभिजन रियालिटी शो भ्वाइस किड्सको उपाधि जित्ने पहिलो बालिका बनेकी छन् । शनिबार राति उनले यो उपाधि जितेर एउटा सपना पूरा गरिन् ।

हालै पेन्सिलभेनिया राज्यको एक स्कुलबाट ५ कक्षा उत्तीर्ण गरेकी उनी नेपाली संगीतको नयाँ पालुवा हुन् । भ्वाइस किड्सको उपाधि जितेको भोलिपल्ट आइतबार उनी बुवा ओमराजलाई लिएर स्टुडियोमा गीत रेकर्ड गराउन पुगेकी थिइन् ।

यो उनको दोस्रो रेकर्डिङ हो । दुई साताअघि डिक्सन लिम्बूसँग मिलेर उनले ‘देउराली ढुंगा’ गीत रेकर्ड गराएकी थिइन् । अध्ययनलाई निरन्तरता दिन आगामी साता अमेरिका फर्कन लागेकी अनुया नेपाली संगीतलाई निरन्तरता दिन चाहन्छिन् र यही क्षेत्रमा भविष्य बुन्न चाहन्छिन् ।

यसका लागि उनले तीन वर्षदेखि इन्ट्रा फाउण्डेसनबाट सञ्चालित संगीत कक्षा लिइरहेकी छन् । साथै, संगीतको अनलाइन क्लास पनि लिएकी छन् । ‘पढाइ सँगसँगै उसको इच्छालाई पनि अघि बढाउन मद्दत गर्छौं,’ छोरीबारे ओमराजले अनलाइनखबरसँग भने, ‘संगीतमै सानैदेखि उसको इच्छा । मौका पाए गीत रेकर्ड गराउने र उसलाई संगीतको क्लासमा जोड्छौं ।’

ओमराजका तीन छोरी छन्, जसमध्ये अनुया माइली हुन् । सन् २००९ मा उनको परिवार तेस्रो पुनर्वासको लागि नेपालबाट अमेरिका पुगेको थियो । उनको परिवार अमेरिकाको पेन्सिलभेनिया राज्यको सानो सहर कार्लालमा बसोबास गर्छ । अनुया पनि त्यहीं हुर्किइन् ।

यतिबेला ओमराज छोरीलाई नेपाली कखरा सिकाइरहेकी छन् । भ्वाइस किड्सको शनिबारको फिनालेमा पनि अनुयाले कखरा वाचन गर्ने प्रयास गरिन् । उनको प्रस्तुतिले स्ट्यान्डिङ ओभेसन पनि प्राप्त गर्‍यो ।

भ्वाइस किड्समा कोच प्रमोद खरेलले अनुयालाई संगीतको सीप सिकाए । ‘पहिलोपटक फिमेल ट्यालेन्टले जितेकोमा म अझै बढी खुसी छु । यो जित सबै कोच र ट्यालेन्टको जित हो । मेरो भागमा जित पर्‍यो, धन्यवाद भन्छु,’ कोच प्रमोदले भने ।

छोरीको जितमा बुवा ओमराजले पनि खुसी व्यक्त गरे । ‘मैले उनलाई भोट माग्न एक डलर पनि खर्च गरिनँ । सबै उसका सपोर्टरले खर्च गर्नुभयो,’ उनले भने ।

जितपछिको मिडिया कुराकानीमा अनुयाले नेपाली संगीतलाई विश्वभर चिनाउने धोको रहेको प्रतिक्रिया दिएकी थिइन् ।

शनिबार बेलुका सम्पन्न भ्वाइस किड्सको तेस्रो सिजन कुल ८ जना फाइनलिस्ट थिए । फिनाले समारोह कोच र प्रतियोगीको सांगीतिक प्रस्तुतिले यादगार पनि बन्यो । ‘भ्वाइस किड्स’ हिमालय टिभीमा प्रसारण हुन्छ ।

भ्वाइस किड्स सिजन ३ फिनालेका अन्य तस्वीरहरु

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?