+
+

विद्याभूषण : सरकारले पैसा नदिए प्रमाणपत्र मात्रै !

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २ गते १९:४३

२ भदौ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्याभूषण, नेपाल छात्रा विद्यापदक तथा नेपाल प्रविधि विद्याभूषणका लागि आवेदन माग गरेको छ । मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै विद्याभूषण क, ख र ग, नेपाल छात्रा विद्यापदक क र ख तथा नेपाल प्रविधि विद्याभूषणका लागि आवेदन माग गरेको हो ।

नेपालभित्रका विश्वविद्यालय वा अध्ययन प्रतिष्ठान मात्र होइन, विदेशी विश्वविद्यालयबाट अध्ययन गरेका नेपालीहरुले पदका लागि आवदेन दिन सक्ने छन् । नेपालभित्रका मान्यताप्राप्त शिक्षण संस्थामा अध्ययन पूरा गरेका विदेशी नागरिकहरुले आवेदन दिन सक्ने जनाएको छ । आवेदन १६ भदौभित्र दिइसक्नुपर्ने छ ।

पैसा नभए प्रमाणपत्र मात्र

विद्याभूषण विद्यार्थीले सरकारबाट पाउने सबैभन्दा प्रतिष्ठित पदक हो । तत्कालीन राजा महेन्द्रको पालामा ७ फागुनमा ‘महेन्द्र विद्याभूषण’ पदक दिन थालिएको थियो ।

२०३२ सालदेखि १२ फागुनमा राष्ट्रिय शिक्षा दिवस मनाउन थालियो, पदक पनि त्यही दिन दिइन्थ्यो । दोस्रो जनआन्दोलनसँगै १२ फागुनमा राष्ट्रिय शिक्षा दिवस मनाउन छाडियो र अन्तराष्ट्रिय साक्षरता दिवस (२३ भदौ)मै राष्ट्रिय शिक्षा दिवस मनाउन थालियो । अन्तराष्ट्रिय साक्षरता दिवसमा राष्ट्रिय शिक्षा दिवस मनाउन नहुने मत आएपछि २०७६ देखि ०७९ सम्म मनाइएन ।

पछिल्लो समय अनिर्वाय तथा निःशुल्क शिक्षा ऐन जारी भएको मिति २ असोजलाई शिक्षा दिवसका रुपमा मनाउन थालिएको छ । गत वर्ष विद्याभूषण प्राप्त गर्ने विद्यार्थीको सूची सार्वजनिक गरेपनि मन्त्रालयले पदक वितरण गरेन ।

विद्याभूषण प्राप्त गर्नेसूचीमा परेकी मिना बोहरा प्रदान गर्दै आएको प्रतिष्ठित पदकमध्ये एक पाउने सूचीमा पर्दा खुशी लागेपनि अहिलेसम्म नपाएको बताउँछिन् । कहिले पाउने भन्ने स्पष्ट हुँदा व्यत्तिगत विवरणमा राख्ने नराख्ने दोधारमा परेको बताउँछिन् ।

‘विद्यार्थीले सरकारबाट पाउने सबैभन्दा प्रतिष्ठित पदक हो । यो पाउने सबै विद्यार्थीको चाह हुन्छ, त्यसैगरी मिहेनत पनि गरिएको हुन्छ । मैले पनि गरें र पाउने लिस्टमा पनि परें’, उनले भनिन्, ‘तर अहिलेसम्म पाएको छैन । अब आफ्नो सीभीमा राख्ने नराख्ने अलमलमा छु ।’

शिक्षा मन्त्रालयका अधिकारीहरुले आर्थिक अभावकै कारण विद्याभूषण पदक दिन नसकेको बताउँछन् । २०७६ मा घोषणा भएका विद्याभूषण पनि आर्थिक अभावको कारण दिन नसकेको मन्त्रालयले यो वर्ष आवश्यक बजेट नपाए निर्देशिका संशोधन प्रमाण पत्र मात्रै दिने गरी प्रक्रिया अगाडि बढाएको छ ।

मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालका अनुसार २०७६, ८० र ८१ को लागि करिब ६ करोड रकम आवश्यक पर्छ, तर मन्त्रालयसँग जम्मा ६० लाख मात्रै रकम छ ।

थप रकम सरकारले नदिए प्रमाणपत्र मात्रै दिने गरी ‘नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रापदक र राष्ट्रिय शिक्षा पुरस्कार सम्बन्धी निर्देशिका, २०७७’ संशोधन प्रकृया अगाडी बढेको छ । मन्त्रालयले मन्त्रिपरिषदमा पठाएको संशोधन प्रस्तावमा भनिएको छ, ‘…नेपाल विद्याभूषण, नेपाली प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक वा प्रमाणपत्र वा दुबै प्रदान गरिनेछ ।’

शिक्षाविद्हरु पनि पदक दिन नसके प्रमाणपत्र मात्र भएपनि दिनुपर्ने बताउँछन् । शिक्षाविद् प्रा.डा. सुशन आचार्य आर्थिक अभावकाबीच यस्ता पदकहरु दिन जरुरी नरहेको बताउँछिन् । ‘राज्यले दिँदा राम्रो हो, तर बजेट नभइनभइ पदक दिइराख्नु जरुरी छैन’, उनले अनलाइनखबरसँग भनिन्, ‘बरु विश्वविद्यालयले सम्मान र राज्यले सम्बन्धित क्षेत्रमा सेवाका लागि विशेष प्राथमिकता दिनु जरुरी छ ।’ राज्यले गर्ने वास्तविक सम्मान त्यहि हुने उनको तर्क छ ।

शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइराला सरकारले आर्थिक हैसियत बिना रहर गर्दा यस्तो समस्या आएको बताउँछन् । बजेट अभाव भए प्रमाणपत्र वा सुनको साटो अरु धातु प्रयोग गरेर दिन सकिने उनी सुझाउँछन् । ‘यो राज्यले दिने एउटा सम्मान हो, त्यसका लागि सुनको पदक नै दिनुपर्छ भन्ने छैन’ उनले भने, ‘प्रमाण पत्र मात्र वा चाँदीका पदक दिए हुन्छ ।’

ऋण खोजेर सुन दिन खोज्नु भन्दा भएको बजेटले प्रमाण पत्र मात्रै दिनु राम्रो हुने उनको राय छ ।

क–कसले पाउँछन् पदक ?

सरकारले राष्ट्रिय शिक्षा दिवसको दिन नेपाल विद्याभूषण (उत्कृष्ट विद्यार्थीलाई दिइने पदक) क, ख, ग, नेपाल छात्रा विद्या पदक क, ख का साथै गत वर्षदेखि नेपाल प्रविधि विद्याभूषण पदकको समेत घोषणा गरेको थियो ।

दिवसको अवसरमा नेपाल विद्याभूषण ‘क’ बाट विद्यावारिधी गर्ने विद्यार्थी (विदेशी शैक्षिक संस्थाबाट गरेर आएकालाई समेत)लाई सम्मान गर्ने, नेपाल विद्याभूषण ‘ख’ स्नातकोत्तर तहका विधागत सर्वोत्कृष्ट विद्यार्थीलाई र नेपाल विद्याभूषण ‘ग’ स्नातक तह तथा कक्षा ११, १२ का सर्वोत्कृष्टलाई दिने चलन छ ।

गतवर्षदेखि सरकारले विज्ञान प्रविधिमा उत्कृष्ट हुने विद्यार्थीलाई नेपाल प्रविधि विद्याभूषण प्रदान गर्ने घोषणा गरेको छ । विद्यार्थीको हकमा विश्वविद्यालयको सम्बन्धित डीन कार्यालयले र विद्यालय तहको राष्ट्रिय परीक्षा बोर्डले उत्कृष्ट ठहर गरेको विद्यार्थीलाई सम्मानित हुनेछन् ।

विद्यालयको हकमा राष्ट्रिय पुरस्कारमा देशभरबाट छनोट भएको सर्वोत्कृष्ट तीनलाई क्रमशः तीन लाख, दुई लाख र एक लाख राशीबाट पुरस्कृत गर्ने घोषणा गरेको थियो । सर्वोत्कृष्ट विद्यालय छनोट गर्न भर्ना विद्यार्थी संख्या, एसईईको पछिल्लो तीन वर्षको नतिजा लगायतलाई आधार मान्ने गरिएको छ । त्यस्तै समाज कल्याण शिक्षा पुरस्कार (व्यक्ति वा संस्था) लाई पुरस्कृत गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?