+
+

‘देवी’ ट्रेलर : यौन हिंसाविरुद्ध खोज पत्रकारले लडेको लडाइँको कथा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २ गते २०:००
आइतबार आयोजित पत्रकार सम्मेलनमा बायाँबाट अभिनेता नाजिर हुसेन, अभिनेत्री शिल्पा मास्के र निर्देशक संजोग राई ।

काठमाडौं । हिन्दू महिलाको मुख्य पर्व हरितालिका तीजको अवसरमा प्रदर्शन हुन लागेको फिल्म ‘देवी’को ट्रेलर सार्वजनिक भएको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरले समाजमा हुने बलात्कारजस्ता जघन्य अपराधका घटनाको रोकथाम र दोषीलाई कानूनको दायरामा ल्याउन विद्यमान कानुनले पार्ने प्रभावको कथा पेश गर्छ ।

निर्देशक संजोग राईले आफू व्यवसायिक फोटोग्राफर भएपनि फिल्म निर्देशन आफ्नो सानैदेखिको सपना रहेको बताए । कोरोना महामारी अघिदेखि सुरु गरिएको फिल्मको निर्माणको क्रममा आफूले धेरै उतारचढाव खेपेको उनले अनुभव बाँडे ।

धेरैले व्यवसायिक उद्देश्यले फिल्म बनाउन सुझाएपनि सामाजिक न्यायका लागि यस्ता कथा भनिनुपर्छ भन्ने लागेकाले देवी बनाएको राईले बताए । फिल्मको प्रदर्शनमा सघाएको बाँसुरी फिल्मस्का सञ्चालक रामबाबु गुरुङलाई उनले धन्यवाद दिए ।

राईलाई यो फिल्म निर्माणमा मुख्य पात्र शिल्पा मास्केले पनि सघाएकी छन् । उनी यसमा सह-निर्माताको रुपमा छिन् । कथा राम्रो लागेकाले अभिनयसँगै निर्माणमा पनि टिमलाई सघाएको अभिनेत्री मास्केले बताइन् । समाजलाई सचेत बनाउने र सन्देश प्रवाह गर्ने फिल्मको हिस्सा बन्न पाउँदा खुशी लागेको उनको भनाइ छ ।

फिल्ममा शिल्पाले खोज पत्रकारको भूमिका निर्वाह गरेकी छन् । क्राइम-थ्रिलर जनरामा निर्माण भएको फिल्मको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका हुन् । एक्जिबिट स्टुडियोको प्रस्तुतिमा फिल्म निर्माण भएको हो ।

यो फिल्म उक्त मितिमा नेपालसहित विदेशमा पनि रिलिज हुने जनाइएको छ । फिल्ममा मास्केसहित गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुव कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवनजंग खड्का र विकास पन्तको अभिनय छ ।

रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको फिल्मका कार्यकारी निर्माता जावेद खान र सह-निर्मातामा शिल्पा मास्के, उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् । फिल्मलाई मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?