+

नेपाली क्रिकेटको उडान अब कता ?

२०८१ भदौ  ३ गते २०:१३ २०८१ भदौ ३ गते २०:१३
नेपाली क्रिकेटको उडान अब कता ?

३ भदौ, काठमाडौं । लिग-२ का अविश्वसनीय प्रदर्शन, एसिया कपमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा, अनि टी-२० विश्वकपमा विश्वकै ध्यान तान्ने खेल । मोन्टी देशाईको मुख्य प्रशिक्षण र रोहितकुमार पौडेलको कप्तानीमा नेपाली राष्ट्रिय टोलीको पछिल्लो डेढ वर्ष साँच्चै लोभलाग्दो रह्यो ।

नेपाल क्रिकेट संघले कात्तिक २०७९ मा कात्तिकमा २० वर्षका रोहितलाई कप्तान बनाएको थियो भने माघमा देशाईलाई मुख्य प्रशिक्षकका रुपमा भित्र्यायो ।

असम्भव जस्तै बनेको ओडीआई मान्यता जोगाउने क्रममा नेपालले आईसीसी विश्वकप लिग-२ मा १२ मध्ये ११ खेल जित्यो । घरेलु मैदानमा एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा भारत र पाकिस्तानसँग पहिलो पटक खेल्ने अवसर पायो । त्यसमा पनि विश्व क्रिकेटको पावर हाउस भारतविरुद्ध सर्ट बल र बाउन्सरको राम्रो सामना गर्दै २३० रनको योगफल बनायो ।

जेठ-असारमा भएको टी-२० विश्वकपमा एउटा पनि खेल जितेन । तर बलियो दक्षिण अफ्रिकालाई ११५ रनमा रोकेको नेपाल अन्तिम दुई बलमा दुई रन बनाउन नसकेर पराजित भएको थियो ।

‘विश्वकपसम्म हाम्रो यात्रा पूरा भयो’ क्रिकेट संघका सचिव समेत रहेका पूर्व कप्तान पारस खड्का भन्छन्, ‘नयाँ भिजन, नयाँ योजना र नयाँ सोचका साथ फेरि शून्यबाट सुरुवात गर्नुपर्छ ।’

शून्यबाट हुने नयाँ यात्राको गन्तव्य नम्वर वान एसोसिएट टिम, अनि टेष्ट नेशनको मान्यता पाउनु हुनेछ ।

त्यसक्रममा महत्वपूर्ण दुई प्रतियोगिता आउनेछ, २०२६ को टी-२० विश्वकप र २०२७ को एकदिवसीय विश्वकप ।

२०२६ को टी-२० विश्वकप खेल्न नेपालले सम्भव त एसिया क्षेत्र अन्तिम चरणको शीर्ष तीनमा स्थान बनाउनुपर्छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को नयाँ निर्णय अनुसार एसिया प्यासिफिकको अन्तिम चरण एसियामा गाभिएको छ । एसिया छनोटको अन्तिम चरणबाट तीन टोली विश्वकपमा पुग्नेछन् ।

तर कुन मोडलमा खेलाउने आईसीसीले तय गरेको छैन । यसअघि एसिया छनोट हुँदा फाइनलमा पुग्नु पर्थ्यो । एसियाबाट नेपाल, यूएई, ओमान, हङकङ, पपुवा न्युगिनी प्रमुख दाबेदार टोली हुन् ।

त्यसको अर्को वर्ष २०२७ मा एकदिवसीय विश्वकप हुनेछ । नेपालले अहिलेसम्म एकदिवसीय विश्वकप खेल्न सकेको छैन । यो पटक पनि एकदिवसीय विश्वकपको यात्रा सहज छैन ।

नेपालले अहिले लिग टु खेलिरहेको छ । २०२७ सम्म चल्ने प्रतियोगितामा नेपालसहित ८ देश छन् र हरेक टोलीले ३६ खेल खेल्नेछन् । यसमा शीर्ष चारमा रहन सफल भए नेपालले सिधै विश्वकप छनोट खेल्न पाउनेछ ।

शीर्ष चारमा पर्न सकेन भने पुछारका चार टोलीले च्यालेन्ज लिगबाट आएका चारसँग प्लेअफ खेल्ने अवसर पाउनेछ । प्लेअफ प्रतियोगिताको शीर्ष चार टोली विश्वकप छनोटमा पुग्नेछन् ।

अनि, विश्वकप छनोटमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

२०२७ को एकदिवसीय विश्वकपमा आयोजक जिम्बावे र दक्षिण अफ्रिकाबाहेक आईसीसी र्‍याङकिङको शीर्ष ८ टोलीले सिधै विश्वकपमा स्थान बनाउनेछन् । बाँकी चार टिम छनोटबाट आउनेछन् ।

पछिल्लो विश्वकपमा छनोट चरणबाट दुई टोलीले मात्र अवसर पाएका थिए, तर २०२७ देखि एकदिवसीय विश्वकप खेल्ने देशको संख्या १० बाट १४ पुर्‍याइने भएकाले थप दुई टोलीलाई बाटो खुल्यो । यो चार स्थानका लागि सिधै छनोट हुन नसकेको दुई टेस्ट टोलीसँगै स्कटल्यान्ड, नेदरल्यान्ड्स, नेपाल, यूएई, अमेरिका र ओमान त्यसका दाबेदार मान्न सकिन्छ ।

टेष्ट मान्यताका लागि शर्तैशर्त

त्यसपछि टेष्ट नेशनको मान्यता पाउने नेपालको लक्ष्य छ । यो असम्भव होइन, तर सहज पनि छैन । यसका लागि घरेलु संरचना बलियो बनाउनुपर्छ, पुरुष मात्र होइन, महिला र यू-१९ टोलीको पनि उत्तिकै विकास भएको हुनुपर्छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को शर्त त्यही छ ।

आईसीसीको परिमार्जित नियमअनुसार टेस्ट मान्यता पाउन पछिल्लो ८ वर्षमा टी-२० वा एकदिवसीयमा गरी तीन विश्वकप खेलेको हुनु पर्छ । विश्वकप वा छनोटमा आईसीसी र्‍याङकिङको शीर्ष १० टोलीमध्ये कुनै एकलाई हराएको हुनुपर्छ, ८ वर्षमा चार फरक टेस्ट टोलीलाई हराउनुपर्छ, सिरिजमा शीर्ष १० मा रहेका देशलाई दुई पटक हराएको हुनुपर्ने लगायतका नियम छन् ।

महिला टोली ओडीआई वरियतामा समावेश हुनुपर्छ । पछिल्लो चार वर्षमा टी-२० विश्वकप कम्तिमा एक पटक खेलेको हुनुपर्छ, अनि पछिल्लो ८ वर्षमा २ पटक यु-१९ विश्वकप खेलेको जस्ता योग्यता चाहिन्छ ।

घरेलु संरचनाका लागि पनि आईसीसीका आफ्नै शर्त छन् । ५० ओभरको राष्ट्रिय प्रतियोगिता, तीन लिष्ट ए टोली, टी-२० राष्ट्रिय प्रतियोगिता र तीन टी-२० एस मान्यता भएको टोली हुनुपर्छ ।

जुनियर, यु-१९ पुरुष र महिला टोली हुनुपर्छ । सुविधा सम्पन्न क्रिकेट मैदानहरु तयार भएको हुनुपर्छ । पछिल्लो ८ वर्षमा घरेलु क्रिकेटमा उल्लेखनीय सुधार हुनुपर्छ । अनि क्रिकेट संघको आर्थिक पारदर्शिता, प्रशिक्षण तथा विकास कार्यक्रम पनि त्यति नै महत्वपूर्ण हुन्छ ।

नेपालका पूर्वस्पिनर शक्ति गौचन भन्छन्, ‘अबको हाम्रो लक्ष्य टेष्ट नै हो । तर भनेर मात्रै हुँदैन, घरेलु मैदान, प्रतियोेगिता र संरचना बढाउनुपर्छ ।’ उनका अनुसार पछिल्लो समय सिनियर खेलाडीलाई क्यानले एकदमै राम्रो गरेको छ । अब जुनियर, यु-१९ का साथै ग्रास रुट क्रिकेटमा फोकस गर्न सकियो भने १०-१५ वर्षमा टेस्ट मान्यता पाउन सकिने उनको विश्लेषण छ ।

घरेलु संरचना नै चुनौती

नेपालको घरेलु प्रतियोगितामा अहिले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता हुँदै आएको छ । तीन विभागीय र सात प्रदेशका टोलीमा १५/१५ जना गरी कुल १५० खेलाडी सहभागी हुन्छन् ।

२०१६ देखि २०२२ सम्म एभरेष्ट, पोखरा प्रिमियर, धनगढी प्रिमियर लिग गरी तीन टी-२० फ्रेन्चाइज लिग भएका थिए ।

६ टोली भएका यस्ता प्रतियोगिताले एक हदसम्म घरेलु खेलाडीहरुलाई इन्गेज गरेको थियो । तर २०२३ जनवरीमा नेपाल टी-२० लिग विवादै विवादमा फसेपछि फ्रेन्चाइज लिग भएका छैनन् ।

तर नियमित प्रतियोगिता नभएका कारण राष्ट्रिय टिममा नपरेका खेलाडीहरुको अवस्था भयावह छ ।

क्रिकेट संघका अनुसार सेन्ट्रल कन्ट्र्याकमा पुरुषतर्फ २४ जना खेलाडी छन् भने महिलातर्फ ११ खेलाडी छन् । उनीहरुले २० हजारदेखि १ लाखसम्म मासिक तलब पाउँछन् । प्रतियोगिताहरु भएको बेला म्याच फि समेत आउने भएकाले सेन्ट्रल कन्ट्र्याकमा परेका खेलाडीहरुको खाइजिविका चलेको छ । तर बाँकी खेलाडीहरुको अवस्था भयावह छ । क्षमता र सम्भावना हुँदाहुँदै पनि क्रिकेटमा टिक्न सक्ने अवस्था छैन ।

राष्ट्रिय टिमका कप्तान पौडेल पनि घरेलु प्रतियोगिताहरु खेलेर पनि बाँच्ने आधार हुनुपर्ने बताउँछन् । ‘पछिल्लो दुई वर्षदेखि १५/२० जनाले मात्रै खेलेका छौं । उहाँहरुलाई हटाउने हो भने ब्याकअप बेन्च स्ट्रेन्थ त्यति बलियो छैन । यसमा ध्यान दिन एकदमै आवश्यक छ,’ उनले अनलाइनखबरसँग भने ।

टेस्टका लागि चाहिने रातो बल र सेतो जर्सीको क्रिकेट खेल्नै सुरु गरेको छैन । अर्थात डे क्रिकेट नै नेपालमा छैन । नेपालले पछिल्लो पटक डे क्रिकेट मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) सँग २०१९ मा एक मात्रै प्रथम श्रेणी खेल खेलेको थियो । त्यसले पनि निरन्तरता पाएन ।

यू-१६ को राष्ट्रिय प्रतियोगिता नभएको दशक भन्दा बढी भयो । क्यान निलम्बनमा रहँदा २०१९ मा मनमोहन मेमोरियलले यू-१६ लिग गरेको थियो, जसले गत वर्ष पनि निरन्तरता पाएको छ । यू-१९ टोलीका लागि जिल्ला र प्रदेशमा ट्यालेन्ट हन्ट गर्ने गरिएको छ । स्कुल क्रिकेट छैन भने एकेडेमी क्रिकेट पनि फस्टाउन सकेको छैन ।

खेलाडी मात्र होइन, भौतिक पूर्वाधारमा पनि ठूलो लगानी गर्नुपर्नेछ । नेपालमा दुई ओडीआई मैदान छन् । त्रिवि क्रिकेट मैदानले सन् २०२० र मूलपानीले सन् २०२३ मा ओडीआई मान्यता पाएका थिए । दुबै मैदान कामचलाउ मात्रै हुन् ।

कीर्तिपुर क्रिकेट मैदानमा खेलाडी बस्ने राम्रो पेभेलिएन, डग आउट, मिडिया बक्स, भिआईपी एरिया, समर्थकका लागि शौचालय, फुड स्टल जस्ता ठाउँ छैन । खेलाडीहरुको अभ्यासका लागि नेट, इन्डोर, जिम, बलिङ मेसिनहरुमा पनि पर्याप्त लगानी चाहिएको छ । फ्लडलाइट जडानको काम प्रक्रियामा छ । डिजिटल स्कोर बोर्डको भवन निर्माण बल्ल सकिएको छ ।

मूलपानीको त झनै भद्रगोल छ । खेलाडी बस्ने पेभेलिएन र डग आउट स्थानीय लिगको जस्तो छ । खेलपछि अभ्यास गर्ने नेट र इन्डोर छैन । अभ्यास पनि मैदानमा गर्नुपर्ने हुन्छ । भीआइपी कक्ष छैन, मिडिया बक्स छैन, सार्वजनिक शौचालय छैन । तल्लो मूलपानी क्रिकेट मैदान निर्माणाधीन छ ।

चितवनको भरतपुरमा गौतमबुद्ध, रुपन्देहीमा सिद्धार्थ, कास्कीको पोखरा, दाङ देउखुरीको लमही, धनगढीमा फाप्ला, वीरगञ्जको नारायणी, बाँकेको कोहलपुर, मोरङको बैजनाथपुर, कञ्चनपुरको महेन्द्रनगरमा क्रिकेट मैदान छन् । अरु पनि बन्ने क्रममा छन्, तर कुनै पनि मैदान राष्ट्रिय प्रतियोगिता आयोजना गर्न योग्य छैनन् । सिद्धार्थ काठमाडौं बाहिरको सबैभन्दा राम्रो मैदान मानिन्छ, तर गत वर्ष प्रधानमन्त्री कप क्रिकेटका केही खेलहरु हुँदा प्रश्नैप्रश्न उठेका थिए ।

त्यसैले अब नेपाली क्रिकेटले आफ्नो अबको बाटो कोर्ने र त्यसअनुसार लगानी गर्ने बेला भयो ।

प्राथमिकतामा टी-२० कि एकदिवसीय ?

पछिल्लो समय नेपालले टी-२० क्रिकेटलाई प्राथमिकता दियो । एकदवसीय विश्वकपमा छनोट हुन नसकेको र १० वर्षपछि टी-२० क्रिकेट खेल्न लागेकाले त्यो स्वभाविक पनि थियो ।

अब नेपालसामू २०२६ को टी-२० विश्वकप र २०२७ को एकदिवसीय दुबैमा पुग्ने सम्भावना छ ।

तर कसलाई प्राथमिकता दिने भन्ने प्रश्न छ ? नेपाल क्रिकेट संघले आगामी नोभेम्बर-डिसेम्बरमा नेपाल प्रिमियर लिग आयोजना गर्दैछ । आज सोमबार साँझ टी-२० फ्रेन्चाइज लिगको लोगो अनावरण कार्यक्रमका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथिका रुपमा बोलाइएको छ । यसले नेपाल प्रिमियर लिगलाई क्यानले कति प्राथमिकता दिएको भन्ने प्रष्ट हुन्छ ।

टी-२० लाई प्राथमिकता दिँदा नेपाल फेरि विश्वकप पुग्नसक्छ, तर टेष्टको लक्ष्य भेट्टाउन सकिन्न । ‘टी-२० भनेको विश्वकपमा पुग्ने छोटो बाटो हो, टेष्ट नेशन हुने हो भने एकदिवसीयलाई प्राथमिकतामा राख्नुपर्छ । त्यसअनुसार महिला टिममा पनि लगानी गर्नुपर्छ,’ पूर्व कप्तान ज्ञानेन्द्र मल्ल भन्छन्, ‘हाम्रो प्राथमिकताबारे हामी प्रष्ट हुन ढिला गर्न हुन्न ।’

नेपाली क्रिकेट
लेखक
भुपेन्द्र जि.सी.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय