+
+

प्रश्नमा प्रचण्ड

सारै नजिक भएर छुरा हान्ने र टाढा भएर कुरा काट्ने यी दुवै प्रवृत्ति एक सिक्काका दुई पाटा हुन् । अहिले नै प्रचण्ड जित्ने हतारोले हामीलाई दुर्घटनामा लैजान्छ ।

शैलेन्द्र घिमिरे शैलेन्द्र घिमिरे
२०८१ भदौ ३ गते ९:३६

कम्युनिस्ट पार्टीमा अन्तरविरोध हुन्छ, यही अन्तरविरोध नै कम्युनिस्ट आन्दोलनको चालक शक्ति हो । तर अन्तरविरोध कुन स्तरमा र कुन मनसायमा छ, मुख्य कुरा यसैले निर्धारण गर्दछ । माओवादी पार्टीभित्र अन्तरविरोधको इतिहास हेर्ने हो भने प्रायः अन्तरविरोध ध्वंस उन्मुख र विभाजन प्रेरित देखिन्छन् । तर रोचक कुरा के छ भने जतिबेला पार्टीमा अन्तरविरोध बढेको छ, त्यतिबेला नै पार्टीले नयाँ मोड र नयाँ पहलकदमी लिएको छ ।

जनयुद्धमा जाने फैसला गर्दा पार्टी विभाजित भयो तर ‘महान् जनयुद्धको बाटोमा अगाडि बढौं’ भन्ने नाराले देशभरि तरंग ल्यायो । अर्काे अन्तरविरोध डा. बाबुराम भट्टराईसँग २०६१ सालमा देखियो, १३ बुँदे र ४ बुँदे बाबुरामका प्रस्तावहरू आए । बीबीसी नेपाली सेवाले माओवादी फुटको सँघारमा पुगेको घोषणा गर्‍यो ।

यो पटक माओवादी विभाजित भएन बरु चुनवाङ बैठकमा पुगेर अन्तरविरोध सकिएको मात्र होइन, व्यक्ति विलयको काल्पनिक घोषणा समेत भयो । यही बैठकले तय गरेको कार्यनीति र कार्यदिशाले राजनैतिक तथा फौजी पहलकदमी मार्फत पूरै देशलाई १२ बुँदे सहमतिको जगमा आन्दोलित बनायो ।

२०६३ सालमा बालाजु विस्तारित बैठकमा क. मोहन वैद्यसँग अन्तरविरोध बन्यो । जसले ‘मुखमा निर्वाचन दिमागमा विद्रोह’ सहितको पार्टीलाई निर्वाचनमा ओराल्यो । निर्वाचनमा पार्टीले सोचेभन्दा बढी सिट जितेको भए पनि अन्तरविरोध किनारा लागेन । प्रचण्ड सरकारको नेतृत्वमै रहेको बेला खरिपाटी बैठक चल्यो अन्तरविरोध झन् संस्थागत भयो ।

२०६९ सालमा धोबीघाट भेला मार्फत प्रचण्डलाई विस्थापित गर्ने प्रयत्न भयो । आफूलाई प्रधानमन्त्री बनाउन प्रचण्ड तयार भएपछि बाबुराम धोबीघाटबाट बाहिर निस्किए । मोहन वैद्यले यो अन्तरविरोध पार्टी विभाजनसम्म पुर्‍याए, जसको मूलकारण सेना समायोजन र जनसेनाको ब्यारेकमा नेपाली सेना पस्नु भनियो ।

२०७० सालमा निर्वाचनमा मोहन वैद्यले चुनाव बहिष्कार गरे । माओवादी पार्टीले व्यहोरेको पराजय सँगसँगै बाबुरामसँग मतभेद बढ्दै गयो र अन्ततः उनले पनि पार्टी विभाजन गरी नयाँ शक्ति बनाए । माओवादी पार्टीभित्र चलेका अन्तरविरोध हेर्दा कस्तो देखिन्छ भने प्रायः अन्तरविरोधहरू विभाजनमा गएर टुंगिएका छन् भलै ती विभाजन फेरि एकता प्रक्रियामा समावेश भएका किन नहोउन् ।

माओवादी पार्टीको पछिल्लो अन्तरविरोधको कुरा गर्दा यो सारतः राजनैतिक कार्यदिशाप्रति असहमत भएको देखिंदैन । यसकारण यसलाई अन्तरविरोध हो भन्नु भन्दा पनि विधि पद्धतिको बहस हो भन्न सकिन्छ । तर जे–जस्ता विषयहरूको उठान भएको छ, ती मूलतः गुनासो र सुझावका रूपमा छन् भने त्योभन्दा बढी प्रचण्ड पछि को ? भन्ने आशयले प्रेरित छन् ।

स्थायी समितिले उठेका प्रश्नलाई केन्द्रीय समितिसम्म लैजाने निर्णय गरेको छ । तर कुरा के हो भने यसरी उठाइएका प्रश्नहरू प्रचण्डको तेजोबध गरियो भन्ने कांग्रेस–एमालेको निष्कर्ष मितिका आसपास आउनुले धेरैलाई विषय गम्भीर त होइन भन्ने आशंका गर्ने ठाउँ भने प्रशस्त दिएको छ ।

माओवादी पार्टी संस्थागत हुन सकेन । यो कुरा सही हो तर आज दोस्रो पुस्ताका जस–जसले संस्थागत भएन भनेका छन् वा मौन बसेका छन् उनीहरू पनि संस्थागत हुन सकेनन् । अवसरहरू पाउँदा घर प्यारो, भाइ, भतिज, साला, साली प्यारा । भाइभतिज र परिवारका निम्ति तिनले दर्शाएको मोह वा निष्ठाले तिनीहरू हिजो सर्वस्व त्यागेकाहरू थिए/हुन् भन्न कठिन छ ।

त्यति मात्र होइन केही नेताहरू जो नेकपा विभाजनका बेला एमाले भए, तिनलाई कुन चुरो कुराले एमालेमा जान बाध्य तुल्याएको रहेछ यसको बेलीविस्तार लगाउनु परेन । अहिले नेकपा एमालेका अध्यक्ष केपी ओली प्रचण्डलाई विस्थापित गरेर प्रधानमन्त्री बनेका छन् । कांग्रेसको सहमतिमा प्रधानमन्त्री भएका चतुर खेलाडी केपी ओलीले यो दुई वर्षमा आफूलाई संसद्को सबैभन्दा ठूलो दल बनाउने र बाँकी कार्यकाल धारा ७६ को ३ अनुसार प्रधानमन्त्री बन्ने मनसुवा कतैबाट लुकेको छैन ।

आगोको झिल्का सानो होस् तर त्यसमा खरानी बनाउने तागत हुन्छ । खरानीबाट उठेर इतिहास बनाउन र त्यो इतिहासको सही रक्षा र समीक्षा सहित अगाडि बढ्ने दायित्व नै अहिलेको मुख्य चुनौती हो । प्रश्नबाट नभागौं र उत्तर नभएको प्रश्न नसोधौं

यसका निम्ति उनले समाजवादी गठबन्धनका पार्टीहरूबाट व्यक्ति चोर्ने वा मोर्चा आबद्ध दललाई एमालेमा विलय गराउने प्रस्टै छ । अझ एमाले विभाजनको रिस माओवादीमा विग्रह रोपेर जवाफ दिने कुरा पनि निश्चित छ । कतै त्यो योजनामा माओवादीभित्रका कोही परेका छन् भने त्यो गम्भीर धोखा हो । माओवादी आज जुन–जुन शक्तिसँग ज्ञात–अज्ञात लडिरहेको छ, उनीहरू प्रचण्ड सकिएको हेर्न चाहन्छन् । त्यो लडाईं विभिन्न मोर्चाहरूमा प्रतिक्रियावाद लडेकै छ । दुब्लो माओवादी, एक्लो प्रचण्ड तिनीहरूको उद्देश्य हो । त्यो देखादेख आफ्नै कमाण्डरप्रति अविश्वास जनाउने कार्य किमार्थ पार्टीको हितमा हुन सक्दैन ।

त्यसो त प्रचण्डले थुप्रै द्रोहहरू सहेका छन् । संगठनको क्षेत्रमा उनी यति धेरै उदार छन् कि उनको नेतृत्वमा आफ्नै नेता विरुद्ध बोल्न, संगठन बनाउन, पुत्ला दहन गर्न र मुर्दावादका नारा लगाउन पाउने गरी छुट दिएको इतिहास छ । यस्तो नेतृत्व कसरी एकांगी भयो वा असहिष्णु भयो यो प्रश्नको जवाफ कतै छैन । त्यसकारण यसो भन्न सकिन्छ, यो आफूलाई माओवादी भित्र कति पानीमा छु भनेर नाप्नका लागि चलाइएको बहस हो भने त्यो गलत छ । यस्तो विधि र नियोजित ठट्टाले एकताबद्ध हुने संकल्पलाई खण्डित गर्दछ ।

माओवादीमा आन्तरिक विवाद प्रायः एकताको पूर्व चरणमा देखा पर्ने गरेको छ । एकता केन्द्रसँगको एकताको पूर्व सन्ध्यामा पनि सोही स्तरको बहस र विवाद थियो तर सो एकता ठिक थियो भन्ने इतिहासले प्रमाणित गरिसकेको छ । अहिले फेरि समाजवादी मोर्चा आबद्ध दलसँग प्रचण्ड एकताका लागि इच्छुक छन् र त्यसका लागि मिहिनेत गरिरहेका छन् । यस्तो बेलामा अहिले सिर्जना भएको मत यो एकतालाई खलल पार्ने गरी अरूकै योजनामा सिर्जना भएको त होइन अर्काे प्रश्न पनि यति बेला जरुर उत्तरित हुनुपर्नेछ ।

लिन पियाओ धेरै कम्युनिस्टले चिनेको नाम हो । चिनियाँ नेता माओलाई ट्रेनको यात्रामा बम पड्काएर उडाउने परियोजना नं. ५७१ को खुलासापछि उनी चीन छाडेर भागेका थिए । उनका बारेमा चिनियाँ कम्युनिस्ट पार्टीको १०औं महाधिवेशनमा पारित एक प्रस्तावमा भनिएको छ-‘लिन पियाओ, जो माओको उद्धरणमा लेखिएको कागज नलिई कहिल्यै प्रस्तुत भएनन् र माओ जिन्दावाद नभनी कहिल्यै मुख खोलेनन् ।’

कतै हामी पनि गीतका नाममा, मीतका नाममा त्यसो त गरिरहेका छैनौं ? यो गम्भीर प्रश्न हो । सारै नजिक भएर छुरा हान्ने र टाढा भएर कुरा काट्ने यी दुवै एक सिक्काका दुई पाटा हुन् । यो प्रश्नको उत्तर नदिई हामी अबको पार्टी बनाउन सक्दैनौं । अहिले नै प्रचण्ड जित्ने हतारोले हामीलाई दुर्घटनामा लैजान्छ ।

२०६७ सालमा खन्ना गार्मेन्ट ललितपुरमा भएको बैठकमा क. मोहन वैद्यको प्रश्नको जवाफ दिंदै प्रचण्डले भनेका थिए, ‘कम्युनिस्ट हुने कुरा महान् कुरा हो । तर म यति लामो समय कम्युनिस्ट भएँ, सानो गल्ती भएको हो । मेरो सेवा अवधि हेरेर माफ गर भन्न मिल्दैन । कम्युनिस्टले गल्ती गर्‍यो भने त्योभन्दा ठूलो अपराध केही हुँदैन । परीक्षा, परीक्षा र पुनः परीक्षा । फेल हुने छुट कसैलाई छैन, पास नभई क्रान्तिकारी भइँदैन ।’

विसर्जनवाद र प्रतिक्रियावादका शब्दहरू क्रान्तिकारिता भन्दा उज्याला र मिठा हुन्छन् । हामी विधि, पद्धति र नेतृत्व शृंखलाको बहस गर्दागर्दै भयंकर दलदलमा नफसौं र दलाल नाफाखोर नवयुवराज उत्पादन गर्ने सिलसिलाको संस्करण नबनौं ।

आगोको झिल्का सानो होस् तर त्यसमा खरानी बनाउने तागत हुन्छ । खरानीबाट उठेर इतिहास बनाउन र त्यो इतिहासको सही रक्षा र समीक्षा सहित अगाडि बढ्ने दायित्व नै अहिलेको मुख्य चुनौती हो । प्रश्नबाट नभागौं र उत्तर नभएको प्रश्न नसोधौं ।

(लेखक नेकपा माओवादी केन्द्र, स्याङ्जाका इञ्चार्ज हुन् ।)

लेखकको बारेमा
शैलेन्द्र घिमिरे

लेखक नेकपा माओवादी केन्द्र, स्याङ्जाका इञ्चार्ज हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?