
काठमाडौं । कृत्रिम बौद्धिकता (एआई)बाट सिजित हुने नक्कली (डीपफेक) भिडियोले यतिबेला सेलिब्रेटीदेखि इन्फ्लुएन्सर हैरान छन् । बलिउडमा त हप्तैपिच्छे यो समस्या कलाकारलाई टाउको दुखाइको विषय बनेको छ ।
बलिउड कलाकार आलिया भट्ट, रश्मिका मन्दाना, अभिषेक बच्चनदेखि हलिउड कलाकारसम्म यसबाट पीडित छन् । हालै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगोलले डीपफेक भिडियोले हैरानी खेप्नुपर्यो । उनीहरुले साइबर ब्युरोमा उजुरी पनि दिए ।
नेपालमा पनि पछिल्लो समय टिकटकरदेखि रिल्स बनाउने इन्फ्लुएन्सरदेखि सर्वसाधारण यसबाट पीडित छन् । कलाकारसँग मिल्दोजुल्दो हुलिया र आवाजमा डीपफेक भिडियो बनाउँदा यसले कलाकारमा मानसिकदेखि सामाजिक समस्या खडा गरेको छ ।
चर्चित अनुहारको आवाज र हुलिया प्रयोग गरी भिडियो र अडियो बनाउँदा सर्वसाधारण समेत झुक्किने गरेका छन् । यस्तोमा नेपाल प्रहरीको साइबर ब्युरोले विज्ञप्ति जारी गर्दै यस्ता भ्रामक र कपोलकल्पित भिडियोबाट सचेत रहन आग्रह गरेको छ ।
साइबर ब्युरोका प्रवक्ता तथा सूचना अधिकारी दीपकराज अवस्थीद्वारा सूचनामा कपोलकल्पित र भ्रामक विषयमा श्रव्यदृश्य सामग्री तयार तथा प्रसारण गरी–गराई सामाजिक, पारिवारिक तथा राजनीतिक चरित्र हत्या गर्ने, गराउने घटनाक्रम बढ्दै गएकाले यसप्रकारका गतिविधि नगर्न र नगराउन अनुरोध गरिएको छ ।
प्रतिक्रिया 4