+

लिङ्ग क्यान्सरको कारण र उपचार

२०८१ भदौ  ३ गते १८:०० २०८१ भदौ ३ गते १८:००
लिङ्ग क्यान्सरको कारण र उपचार

पुरुषको यौनाङ्गमा देखिने जटिल रोगमध्ये लिङ्ग क्यान्सर पनि एक हो । लिङ्ग क्यान्सर दुर्लभ छ । यो क्यान्सर एक लाख जनसंख्यामा एक वा दुई जनामा हुनसक्छ । लिङ्ग क्यान्सर लेटिन अमेरिका, भारत र अफ्रिका महादेशका दक्षिणी मुलुकहरूमा बढी देखिन्छ ।

क्यान्सर दुर्लभ भए पनि पछिल्लो समयमा लिङ्ग क्यान्सर हुनेको संख्या र मृत्युदर धेरै देशमा बढ्दै गएको देखिन्छ ।

के हो लिङ्ग क्यान्सर ?

यो क्यान्सर लिङ्गको छालामा मिलिगेन्ट कोषहरू अनियन्त्रित भएर हुनसक्छ । जसले लिङ्ग वरपरको छाला, मांसपेशीमा प्रभाव पार्छ । यो क्यान्सर लिङ्गको जुनसुकै भागमा देखिन सक्छ ।

लिङ्गको टाउको वा अघिल्लो भागलाई ‘ग्लान्स पेनिस’ भनिन्छ । यसलाई छालाले वा प्रिप्युसले अर्थात् टोपीले ढाकेको हुन्छ । यस भागमा धेरैजसो ग्रन्थीहरू हुन्छन्, जसले सेतो पदार्थ बनाउँछ । यो सेतो पदार्थ (विकार) त्यहाँ जम्मा हुन्छ । यसले क्यान्सर गराउने सम्भावना हुन्छ ।

लिङ्ग क्यान्सरका धेरै प्रकारका हुन्छन् । जसमध्ये स्क्वामस सेल कार्सिनो (छालाको तन्तुमा हुने क्यान्सर) ९५ प्रतिशत र बाँकी ५ देखि १० प्रतिशत लिङ्ग क्यान्सर बेसल सेल कार्सिनोमा मेलोनामा र सार्कोमा लगायत क्यान्सर देखिन्छ ।

कारण

– लिङ्ग र वरपरको भागको सरसफाइमा ध्यान नदिनु र सरसफाइ नगर्नु

– ह्युमन पापीलोमा भाइरस (एचपीभी)को संक्रमण

– फाइमोसिस (लिङ्गको बाहिरी छालामुनि सेतो पदार्थ जम्ने, सो पदार्थ छालामा टाँसिने र पिसाब आउने प्वाल साँघुरिने अवस्थामा

– लिङ्गको छाला तथा मांसपेशीमा संक्रमण (यो समस्यालाई चिकित्सकीय भाषामा बालानाइटिस भनिन्छ)

– लिङ्गको छाला नकाटिएका पुरुषहरूमा

– दुई वा सोभन्दा बढी व्यक्तिसँग असुरक्षित र अप्राकृतिक रुपमा सम्भोग गर्नेहरुमा

– चुरोट तथा मदिराजन्य पदार्थ अत्यधिक सेवन गर्ने बानी भएकाहरुमा

ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) सम्बन्धित लिङ्गको क्यान्सर

एचपीभीका विभिन्न प्रजाति  हुन्छन् । यी मध्ये एचपीभीमा १६ र १८ औं प्रजाति क्यान्सरजनक हुन्छन् । एचपीभीको संक्रमणले लिङ्गको क्यान्सर मात्र नभएर पाठेघरको मुख क्यान्सर, मलद्वारको क्यान्सर र घाँटी मुखको क्यान्सर बढी गराउँछ ।

श्रीमानमा एचपीभी भएमा श्रीमतीलाई पनि हुनसक्छ । यो भाइरसले पुरुषमा लिंग क्यान्सर र महिलामा पाठेघरको क्यान्सरको जोखिम बढाउँछ।

तसर्थ, क्यान्सरको अवस्थासम्म पुग्न नदिन दम्पतीले संक्रमण भएमा तुरुन्त उपचार गर्नुपर्छ ।

लक्षण

सुरुवातमा नदुख्ने गाँठो वा सानो घाउ देखा पर्नु, पोल्नु, पानी भरिनु, चिलाउनु, घाउको आकार परिवर्तन आउनु, सो क्षेत्र सुनिन्नु र सोही घाउ बिस्तारै डल्लो पर्दै आउनु यो क्यान्सरको सुरुवाती लक्षण हुन् । सो घाउको रंग निलो, खैरो, कालो हुनु र लिङ्गको छाला मोटो हुँदै जानु यसका लक्षण हुन् ।

जटिल हुँदा देखिने लक्षण

समयमा उपचार भएन भने लिङ्गमा देखा परेका घाउमा पिप जमिरहेको हुन्छ । मांसपेशी सड्न थाल्छ । घाउ क्षतविक्षत् भएर गन्हाउने र पिसाब फेर्न कठिन हुनसक्छ । यो क्यान्सर वरपरको अन्य भागमा फैलिन थाल्छ । कालान्तरमा यसले बिरामीलाई गम्भीर अवस्थामा पुर्‍याउन सक्छ ।

रोगको फैलावट र जीवन

कतिपयलाई क्यान्सर हुनेबित्तिकै मृत्यु हुने भयले सताउँछ । तर यस्तो पक्कै होइन । लिङ्गको क्यान्सरका एकदेखि चार चरण हुन्छन् । यसमा लिङ्ग क्यान्सरको वृत्त, आकार, स्थान परिधि र त्यस स्थानमा आएका गाँठोहरुबाट कस्तो अवस्था छ भनेर निर्णय गर्न सकिन्छ ।

यदि सुरुवातको अवस्था छ भने यो रोग निको हुन्छ । तर उपचार भएन भने जटिलता बढ्दै जान्छ ।  लिङ्ग क्यान्सर जति वृद्धि हुन्छ । अर्थात्, धेरै हिप र कम्मर वरपर भित्रका गाँठोहरुमा छोएको वा फैलिएको हुन्छ, त्यति आयु कम हुन्छ ।

पहिचान

– यौनाङ्ग र पेटको एमआरआई गर्ने

– लिङ्ग र सो वरपर देखिएको घाउ तथा मांसपेशीको नमुना लिई बायोप्सी गर्ने

– गाँठागुठी भए त्यसको एफएनएसी गर्ने (गाँठोबाट सियोले मासुको टुक्रा झिकेर जाँच्नुपर्छ)

उपचार विधि

शल्यक्रिया : यदि बाहिरी छालामा क्यान्सर छ भने सो छालाको शल्यक्रिया गरिन्छ । यो प्रक्रियालाई ‘सरकुमसिंजन’ भन्ने गरिन्छ ।

त्यस्तै, क्यान्सरको घाउले धेरै भाग ओगटेको भए शल्यक्रिया पनि ठूलो गर्नुपर्छ । मांसपेशीका महत्त्वपूर्ण भागहरू फाल्नुपर्ने हुनसक्छ ।

पेनेक्टोमी : क्यान्सर छाला तथा मांसपेशीमा भए सो भाग काटेर फाल्नुपर्ने अवस्था हुनसक्छ । यो अवस्थामा लिङ्गको लम्बाइ घट्ने वा पूरै काटेर फाल्नुपर्ने हुनसक्छ ।

किमो औषधि : क्यान्सरले गराएको घाउ माथि किमो औषधि लगाइन्छ । जुन क्यान्सर रोग विशेषज्ञको परामर्श र सल्लाहअनुसार मात्र प्रयोग गर्नुपर्छ । यो औषधि जथाभावी प्रयोग गरे हानिकारक हुनसक्ने हुँदा कसैले दिएमा वा फार्मेसी गएर किनेर आफैं लगाउन हुँदैन ।

रेडिएसन तथा केमोथेरापी : रेडिएसन (विकिरण/सेकाई र किमोथेरापीको औषधिले  उपचार गरिन्छ । यसले  क्यान्सरलाई बढ्न र फैलनबाट रोक्न मद्दत गर्छ ।

इम्युनो थेरापी : क्यान्सरका कोषिकाहरुलाई शरीरका रोग प्रतिरोधक कोषिकाहरूबाट सखाप पार्न आक्रामक र बलियो पार्ने विशेष औषधिको प्रयोग हुन्छ । जसलाई इम्युनो थेरापी भनिन्छ ।

टारगेटेड थेरापी : क्यान्सरका कोषिकाहरुको संरचना प्रणालीमा आक्रमण गरेर क्यान्सरको कोषलाई मार्ने थेरापी पनि प्रयोग हुनसक्छ ।

लिङ्ग क्यान्सरको रोकथाम

-क्यान्सर रोगबारे सचेत रहनुपर्छ ।

– सुरक्षित यौन सम्पर्क कायम राख्ने र एकजना मात्र यौन साथी बनाउने ।

– अप्राकृतिक यौन सम्पर्क नगर्ने ।

– सरसफाइमा ध्यान दिने, चुरोट, मदिरा सेवन दिने ।

– यौनाङ्गमा समस्या भए छिटो पहिचान र उपचार गर्ने ।

– पोषणयुक्त खानेकुरा खाने ।

 

डा. समिम अख्तर लिङ्ग क्यान्सर स्वास्थ्य
डा. समिम अख्तर
लेखक
डा. समिम अख्तर
कन्सल्टेन्ट मेडिकल अन्कोलोजिस्ट

डा. अख्तर हाल विराटनगरस्थित नोबेल मेडिकल कलेजमा चिकित्सक तथा अध्यापकको रुपमा कार्यरत छन् । क्यान्सर रोगमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ८४५३ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?