+
+
शिव शिखर सहकारी ठगी प्रकरण :

केदार शर्मा दम्पतीको नाममा १०० ठाउँमा जग्गा, ११६ वटा गाडी

२२ अर्बभन्दा बढीको सम्पत्ति शुद्धीकरण मुद्दा

सम्पत्ति शुद्धीकरण विभागले गरेको अनुसन्धानमा केदार शर्माको थप बदमासी खुलेको छ । अनुसन्धानका क्रममा शर्मा दम्पतीले १०० ठाउँमा जग्गा खरिद गर्नुका साथै ११६ वटा गाडी किनेको पाइएको छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८१ भदौ ३ गते १८:४२

३ भदौ, काठमाडौं । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका केदारनाथ शर्मा विरुद्ध २२ अर्बभन्दा बढीको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ ।

शर्माले शिव शिखर सहकारी र तुलसी सहकारीमा सर्वसाधारणले बचत गरेको रकम अपचलन गरेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानका आधारमा सहकारीको रकम अपचलन गरेर निजी कम्पनीहरुमा लगाएका शर्माविरुद्ध ६ अर्ब ३ करोड ९ लाख ८७ हजार ३८५ रुपैयाँ बराबरको बिगो माग दाबी गर्दै मुद्दा दायर भएको थियो ।

त्यसपछि सम्पत्ति शुद्धीकरण विभागले गरेको अनुसन्धानमा उनको थप बदमासी खुलेको छ । अनुसन्धानका क्रममा शर्मा दम्पत्तिले १०० ठाउँमा जग्गा जग्गा खरिद गर्नुका साथै ११६ वटा गाडी किनेको पाइएको छ ।

शर्मासहित ९ जनाविरुद्ध भक्तपुर जिल्ला अदालतमा ३२ साउनमा मुद्दा दायर भएको छ । शर्माकी श्रीमती तथा शिखर अर्गनाइजेसनकी निर्देशक गीता शर्मा, शिखर अर्गनाइजेसनका म्यानेजर पुस्कर मल्ल, शिव शिखरको भक्तपुरका सञ्चालक समिति अध्यक्ष सुशील बानियाँ, व्यवस्थापक लीलानाथ गौतम,सचिव तेजबहादुर तामाङ, मन्दीप खवास, सबिना न्यौपाने र शिव शिखरका ऋण अधिकृत मुकुन्द कपालीलाई प्रतिवादी बनाइएको छ ।

प्रतिवादीमध्ये केदार, उनकी श्रीमती गीता, पुस्कर, मन्दीप र सबिना  सहकारीको मुद्दामा पुर्पक्षका लागि थुनामा छन् । बाँकी चार जना भने फरार छन् । फरारमध्ये कपालीलाई सम्पत्ति जफत प्रयोजनका लागि मात्रै प्रतिवादी बनाइएको छ । उनीहरुले सञ्चालन गरेका २२ वटा संस्था तथा कम्पनीको सम्पत्ति जफत गर्न माग गरिएको छ ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ३ को उपदफा (१) को (क), (ख) र (ग) अन्तर्गतको कसुर गरेको ठहर गर्दै शर्माविरुद्ध २२ अर्ब, ८८ करोड ९५ लाख ७० हजार ४१५ रुपैयाँ बिगो मागदाबी गरिएको न्यायाधिवक्ता दाहालले बताए ।

शर्माकी श्रीमती गीताविरुद्ध ५२ करोड, ३३ लाख ३२ हजार २१४, लिनाथविरुद्ध ५ अर्ब ४८ करोड ४५ लाख ९४ हजार ८०२ रुपैयाँ बिगो मागदाबी गरिएको छ । तेजबहादुरविरुद्ध ७१ करोड ९ लाख १८ हजार ७९५ रुपैयाँ, सुशीलविरुद्ध ५ अर्ब ४८ करोड ४५ लाख ९४ हजार ८०२ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

पुस्करविरुद्ध १० करोड ६३ लाख २२ हजार ९०३, सबिनाविरुद्ध १ करोड २४ लाख र मन्दिपविरुद्ध २० लाख बिगो मागदाबी गर्दै मुद्दा दायर गरिएको हो । उनीहरुले शिव शिखर र तुलसी बहुमुखी सहकारी संस्थाको पदाधिकारी तथा कर्मचारी भएका बेला सम्पत्ति शुद्धीकरणको कसुर गरेको अभियोगपत्रमा उल्लेख छ ।

बिना धितो कृत्रिम ऋण खडा गरेर अर्ब घोटाला

विना धितो कृतिम ऋण खडा गरेर केदारनाथले सहकारीको २२ अर्बभन्दा बढी घोटाला गरेको दाबी गरिएको छ । विभिन्न कम्पनीको नाममा मात्रै ९ अर्बभन्दा बढी रकम लगेर लगानी गरेको अनुसन्धानबाट खुलेको न्यायाधिवक्ता दाहालले बताए । ‘विना धितो कृतिम ऋण खडा गरेर रकम अपचलन गर्नेदेखि विभिन्न कम्पनीमा लगेर सहकारीको रकम अपलचन गरेको भेटिएको छ’ दाहालले अनलाइनखबरसँग भने ।

केदारनाथले तेजबहादुर समेतको नाममा कम्पनी खडा गरी ७० करोड ५९ लाख १८ हजार ७९५ रुपैयाँ अपचलन गरेको भेटिएको छ । व्यतिगत नाममा कर्जा लिएर २ करोड ३३ लाख ३७ हजार २४ रुपैयाँ अपचलन गरेको पनि अभियोजनपत्रमा उल्लेख छ । आफ्नो प्रत्यक्ष हित नियन्त्रणमा रहेको कम्पनीमा नाम खडा गरी कृत्रिम ऋण लेखांकन गरेर ५ अर्ब ४८ करोड ४५ लाख ९४ हजार ८०२ रुपैयाँ अपचलन गरेको दाबी गरिएको छ ।

विना धितो कृतिम ऋण खडा गरेर केदारनाथले सहकारीको २२ अर्बभन्दा बढी घोटाला गरेको दाबी गरिएको छ । विभिन्न कम्पनीको नाममा मात्रै ९ अर्बभन्दा बढी रकम लगेर लगानी गरेको अनुसन्धानबाट खुलेको छ ।

रोयल भोग इन्टरप्राइजेज र गोर्खा टोबाकोको नाममा कृत्रिम ऋण सजृना गरेर ३४ करोड ८८ लाख ३३ हजार ३२८ रुपैयाँ ठगी गरेको दाबी गरिएको छ ।

यस्ता ४० वटा कम्पनी खडा गरेर शेयर पूँजी वापत १ अर्ब ३० करोड ३० लाख, सञ्चालक सापटी भनेर विभिन्न ११ वटा कम्पनीमा १ अर्ब ४० करोड ६८ लाख ४३ हजार ३३१, अग्रिम शेयर रकम भनेर ८ वटा कम्पनीमा ८९ करोड ५० लाख अपचलन गरेको पाइएको छ । यस्तै तुलसी सहकारीबाट विना धितो १ अर्ब १६ करोड ११ लाख ८० हजार ९४७ ऋण लिनुका साथै वित्तीय विवरण नदेखाई १६ करोड, ९७ लाख, ४२ हजार ५४० अपचलन गरेका छन् ।

१०० ठाउँ जग्गा, ११६ गाडी

सहकारीको रकम अपचालन गरेका शर्मा दम्पत्तिले १०० ठाउँमा जग्गा जमिन जोडेको पाइएको छ । केदारनाथको नाममा मोरङ, झापा, उदयपुर, म्याग्दी, सुनसरी जिल्लाका ६९ ठाउँमा जग्गा भेटिएको छ । ६९ ठाउँका जग्गाको कुल क्षेत्रफल ३२ हजार २०८ वर्गमिटर छ ।

उनकी श्रीमती गीताको नाममा ३१ वटा जग्गा भेटिएको छ । काठमाडौंको डिल्लीबजार, दहचोकमा ४ वटा घडेरी, कलंकीमा २ वटा घडेरी लगायत बाँके, धादिङ, चितवनमा गरेर ३१ ठाउँमा जग्गा रहेको अनुसन्धानका क्रममा खुलेको छ ।

यो जग्गा सहकारीका बचतकर्ताको रकमबाट किनिएकाले जफत गर्नुपर्ने मागदाबी गरिएको छ । उनले जग्गा धितो राखेर लिएको कर्जा नतिरेपछि नेपाल एसबीआई बैंकले १ अर्ब २५ करोड कर्जा असुल गरेको समते पाइएको छ ।

सहकारीको रकम अपचालन गरेका शर्मा दम्पतीले १०० ठाउँमा जग्गा जमिन जोडेको पाइएको छ । केदारनाथको नाममा मोरङ, झापा, उदयपुर, म्याग्दी, सुनसरी जिल्लाका ६९ ठाउँमा जग्गा भेटिएको छ । ६९ ठाउँका जग्गाको कुल क्षेत्रफल ३२ हजार २०८ वर्गमिटर छ ।

केदारनाथले तुलसी माहुरी फार्म, तुलसी कफी उद्योग, तुलसी काउ फार्म एण्ड डेरी, उपकार एक्सपोर्ट इम्पोर्ट प्रालि, शिव शिखर एग्रो प्रालि, शिखर दिप फुड इण्डष्ट्रिज प्रालि, शिखर दिप एग्रो, नटराज फुड, गोरखा टि एण्ड कफी, शिखर मेसिनरी एण्ड अटोमोबाइल्स, उपकार गार्मेन्टलगायत ४० वटा कम्पनी खोलेको पाइएको छ ।

गीताको नाममा शिव शिखर अर्गनाइजेशन, होटल पोप लाइफ, शिव शिखर खाद्य उद्योग, त्रिदेवी फ्लोर ऐण्ड आयल इन्डिष्ट्रज, टेक्नो डोन प्रालि, डिजिटिल शिखर प्रालि, उपकार सोलुसन, त्रिदेवी फुड इण्डष्ट्रिज र काइन्डी केयर इन्डष्ट्रिज गरी ९ वटा कम्पनी छ ।

यस्तै सहकारीको रकम लगेर निजी कम्पनीको नाममा किनिएका ११६ वटा गाडी जफत गर्न मागदाबी गरिएको छ ।

शिव शिखर एग्रो प्रालिका विभिन्न शाखाका नाममा दर्जनौं गाडी भेटिएको छ । शिव शिखर एग्रोको धनगढी र पोखरा शाखाको नाममा १२/१२, भक्तपुर, कोहलपुरमा ९, चितवन, तनहुँ र सुर्खेतमा ७/७, बाग्लुङ शाखाको नाममा ६, दाङ र हेटौंडा शाखाको नाममा ४/४, डडेल्धुरा र बोनियाँ शाखाको नाममा ३/३, महेन्द्रनगर र धादिङ शाखाको नाममा २/२, विराटनगर, हेटौंडा र लमही शाखाको नाममा १/१ वटा गाडी भेटिएको छ ।

गोर्खा टी एण्ड कफीको नाममा २३ वटा, गोर्खा वेभरेज इन्डष्ट्रिजको नाममा ११ र शिखर मिनिरल्सको नाममा २ वटा गाडी भेटिएको छ । सबै गाडी सहकारीको रकमबाट किनेकाले जफत गर्न माग गरिएको न्यायाधिवक्ता दाहालले बताए ।

सहकारी संकट
लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?