+
+

बैंकहरूले उठाउन सकेनन् सवा खर्ब ब्याज, एक वर्षमै बढ्यो २० प्रतिशत

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक वर्ष २०८०/८१ को तथ्यांक अनुसार २०८१ असार मसान्तमा पाकेर उठाउन नसकेको ब्याज १ खर्ब १९ अर्ब ५९ करोड रुपैयाँ बराबर पुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३ गते १९:१४

५ भदौ, काठमाडौं । बैंकहरूको उठ्न नसकेको ब्याज दुई वर्षमै करिब शतप्रतिशत बढेको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक वर्ष २०८०/८१ को तथ्यांक अनुसार २०८१ असार मसान्तमा पाकेर उठाउन नसकेको ब्याज १ खर्ब १९ अर्ब ५९ करोड रुपैयाँ बराबर पुगेको छ ।

असार २०७९ मा यस्तो रकम करिब ६१ अर्ब ३५ करोड मात्रै रहेकोमा पछिल्लो दुई वर्षमै करिब शतप्रतिशत बढेको हो ।

नेपाल फाइनान्सियल एकाउन्टिङ स्ट्यान्डर्ड अनुसार ‘एक्रुअल’ आधारमा वित्तीय विवरण तयार गर्नुपर्ने हुन्छ । बैंकहरूले पाकेको ब्याजलाई आम्दानी मानेर नाफा नोक्सानको स्थिति आकलन गर्छन् ।

तर, ब्याज उठेको छैन भने राष्ट्र बैंकको व्यवस्था अनुसार त्यस्तो रकमबाट बैंकहरूले आयकर तिर्ने र कर्मचारी बोनसका लागि छुट्याए बाँकी रकम नियामकीय जगेडा कोषमा छुट्याउनुपर्ने हुन्छ ।

बैंकहरूले एक्रुअल आधारमा वित्तीय विवरण तयार गर्दा नउठेको ब्याजलाई पनि आम्दानी जनाउनुपर्ने हुन्छ । त्यस्तो ब्याज गत असारसम्म १ खर्ब १९ अर्ब ५९ करोड पुगेको छ ।

असार २०८० मा ९९ अर्ब रहेको यस्तो ब्याज एक वर्षमा करिब २० अर्ब अर्थात् १९.८ प्रतिशत बढेको हो । असार २०७९ को तुलनामा असार २०८० मा ६२.७ प्रतिशतले बढेको थियो । २० अर्ब उठ्न नसकेको ब्याजमा वृद्धि र गैरबैंकिङ सम्पत्ति समेत सोही हाराहारीमा बुक गरेका बैंकहरूले नाफाबाट २० प्रतिशत अनिवार्य जगेडा कोषमा छुट्याउनुपर्दा ७० अर्बभन्दा धेरै नाफा आर्जन गर्दा पनि लाभांश बाँड्ने क्षमता भने कमजोर देखिएको छ ।

बैंकहरूले उठ्न नसकेको ब्याजबाट कर र कर्मचारी बोनसका लागि रकम छुट्याएपछि करिब ६३ प्रतिशत रकम नियामकीय जडेगा कोषमा छुट्याउनुपर्ने हुन्छ ।

यस्तै गैरबैंकिङ सम्पत्ति बुक गर्दा पनि उठ्न बाँकी ब्याज नदेखिए आयकर र कर्मचारी बोनस छुट्याएर बाँकी करिब ६३ प्रतिशत नै नियामकीय जगेडामा छुट्याउनुपर्छ ।

उठ्न बाँकी ब्याज उठे पनि सेयरधनीलाई लाभांश बाँड्न पाइन्छ भने गैरबैंकिङ सम्पत्ति बुक गर्दा त्यसलाई बिक्री गरेपछि त्यसबाट लाभांश बाँड्ने गरी नियामकीय जगेडा कोषबाट सञ्चित नाफामा सार्न सकिन्छ ।

बैंकहरूले ब्याज उठाउन नसक्दा खुद कर्जा विस्तार न्यून भए पनि बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रमाथिको दाबी ५१ खर्ब ९३ अर्ब ५६ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

२०८० असार मसान्तमा ४८ खर्ब ९६ अर्ब ८२ करोड रहेको बैंक तथा वित्तीय क्षेत्रको निजी क्षेत्रमाथिको दाबी गत आवमा ६.१ प्रतिशतले बढेको हो ।

उठ्न नसकेको ब्याजका कारण ६.१ प्रतिशतले निजी क्षेत्रमाथिको दाबी वृद्धि देखिए पनि कर्जाको साँवा वृद्धि भने २ खर्ब ७७ अर्ब अर्थात् ५.८ प्रतिशतले मात्रै बढेको छ ।

असार २०८० मा ४७ खर्ब ९७ अर्ब ३ करोड रहेकोमा गत असारमा आउँदा ५० खर्ब ७३ अर्ब ९७ करोड पुगेको हो । राष्ट्र बैंकले गत आवको मौद्रिक नीतिमा निजी क्षेत्रको कर्जा ११.५ प्रतिशतले विस्तार गर्ने लक्ष्य लिएको थियो ।

निजी क्षेत्रको ५० खर्ब ७३ अर्ब ९७ करोड कर्जामध्ये गैरबैंकिङ संस्थागत ऋणीलाई ३२ खर्ब १० अर्ब ६० करोड र व्यक्तिगत ऋणीलाई १८ खर्ब ६३ अर्ब ३७ करोड कर्जा लगानी रहेको छ ।

गत आव संस्थागत ऋणीतर्फको कर्जा ६.७ प्रतिशतले वृद्धि हुँदा व्यक्तिगततर्फ ऋणीको कर्जा ४.२ प्रतिशतले मात्रै बढेको छ ।

गत असार मसान्तमा बैंकहरूले उठाउन नसकेको ब्याजमध्ये वाणिज्य बैंकको मात्रै १ खर्ब ८ करोड पुगेको छ । ४४ खर्ब ९४ अर्ब १६ करोड साँवा र उठ्न नसेकेको ब्याजसमेत वाणिज्य बैंकहरूको निजी क्षेत्रमाथिको दाबी ४५ खर्ब ९६ अर्ब २५ करोड पुगेको छ ।

यस्तै विकास बैंकहरूको उठ्न नसेकेको ब्याज ७ अर्ब ९९ करोड सहित निजी क्षेत्रमाथिको दाबी करिब ४ खर्ब ९० अर्ब पुगेको छ ।

त्यसैगरी फाइनान्स कम्पनीको उठ्न नसकेको ब्याज ११ अर्ब ५२ करोड पुग्दा निजी क्षेत्रमाथिको कुल दाबी १ खर्ब ७ अर्ब ५१ करोड पुगेको छ ।

बैंकहरूले उठाउन नसकेको ब्याज

  • असार २०७९ : ६१ अर्ब ३४ करोड
  • असार २०८० : ९९ अर्ब ७९ करोड
  • असार २०८१ : १ खर्ब १९ अर्ब ५९ करोड

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?