+
+

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिंदै

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ४ गते ८:५७

४ भदौ, बुटवल । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिंदै छन् ।

नेपाली कांग्रेससंगको  गठबन्धनबाट र आचार्य साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

मुख्यमन्त्री नियुक्त हुँदा एमाले संसदीय दलको उपनेता रहेका आचार्य तीन दिनअघि मात्रै दलको नेता चयन भएका छन् । दल नेता चयन भएपछि उनले विश्वासको मत लिन लागेका हुन् ।

प्रदेश सभाको चौथो अधिवेशनको २५औं बैठकमा मंगलबार दिउँसो १ बजे मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था अनुसार आचार्यले विश्वासको मत लिन थालेका हुन् ।

कांग्रेसका २७ र एमालेका २९ गरी ५६ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले विश्वासको मत पाउने निश्चित छ ।

आचार्यलाई विश्वासको मत दिन सत्तारुढ दल कांग्रेस, एमालेले ह्वीप जारी गरेका छन् । मुख्यमन्त्री आचार्यलाई प्रदेश सभामा सहभागी ११ वटा राजनीतिक दलमध्ये सरकारमा जान चाहेका जसपाका २,  जसपा नेपालका एकजना र नागरिक उन्मुक्ति पार्टीका ४ सांसदले समर्थन गरेका छन् ।

लुम्बिनी प्रदेशसभामा माओवादीका १०, राप्रपाका ४, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका उक/एक जना गरी १७ सांसद प्रतिपक्षमा रहेका छन् ।

८७ सांसद रहेको लुम्बिनी प्रदेशभामा आवश्यक बहुमतको लागि ४४ सांसद संख्या चाहिन्छ । सत्तारुढ दुई दलकै स्पष्ट वहुमत रहेको र साना दल समेत सत्ता पक्षमा रहेकाले विश्वासको मत पाउने निश्चित रहेको सरकारका प्रवक्ता मन्त्री दिनेश पन्थीले बताए ।

शंकर पोखरेल मुख्यमन्त्री भएका बेला पहिलोपटक मन्त्री बनेका आचार्यले आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हालेका थिए ।

करिब एक महिना मात्र मन्त्री बनेका आचार्य दोस्रो पटक लीला गिरीको नेतृत्वमा खानेपानी तथा सहरी विका मन्त्री बनेका थिए ।

दोस्रो कार्यकाल पनि लामो समय मन्त्री बन्न नपाएका आचार्य गत चैत्र २५ गते जोखबहादुर महराको नेतृत्वमा आन्तरिक मामिला तथा योजना मन्त्री थिए ।

संसदीय दलको नेता र पार्टी पोर्टफोलियोमा समेत सिनियर लिला गिरीलाई पन्छाएर महासचिव शंकर पोखरेल पक्षका आचार्यलाई मुख्यमन्त्री बनाइएपछि गिरी र उनी पक्षका नेता कार्यकर्ता रुष्ट भएका छन् ।

गिरी पार्टी उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् । आचार्य दल नेता चयन भएपछि यसअघि सचेतक रहेकी दाङकी रेखाकुमारी शर्मालाई हटाएर रोल्पाकी यमुना गुरुङ तामाङलाई सचेतक नियुक्त गरेका छन् । यसले समेत एमालेभित्र असन्तुष्टि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?